पुस २८ गतेदेखि जेम एण्ड ज्वेलरी एक्स्पो

Read Time = 4 mins

काठमाडौं । आभूषण व्यवसायलगायत समग्र आर्थिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यका साथ चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभूषण संघ (नेग्जा) ले नेपाली ज्वेलरीलाई निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ पुस २८ देखि चार दिनसम्म काठमाडौंको होटल याक एण्ड यतिमा मेला आयोजना गर्ने भएको हो ।

सोही अवसरमा फेसन शोसमेत आयोजना हुने बताइएको छ । भारतीय सिने अभिनेत्री एवं सञ्चारकर्मी मलैका अरोराले नेपाली पोशाक र आभूषणमा ¥याम्पमा प्रस्तुति दिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आरबी डाइमण्ड ज्वेलर्स प्रालि, गणपति नेपाल ज्वेलर्स प्रालि, सयपत्री (मेरीगोल्ड) ज्वेलर्स, क्विन्स ज्वेलर्स प्रालि, धनश्री ज्वेलर्स प्रालि, डाइमण्ड प्रालिलगायतका ज्वेलर्स कम्पनीले फेशन शो गर्नेछन् भने कार्यक्रमले नेपाली गहनाप्रतिको आकर्षणका साथै मौलिकता, क्षमता र सम्भावनाबारे थप उजागर हुने आयोजकको अपेक्षा छ ।

व्यवसायीको अर्बौंको प्रत्यक्ष लगानी भइसकेको आभूषण व्यवसायका लागि आवश्यक नीति ऐनसहित समग्ररूपमा व्यवसायमैत्री वातावरण सिर्जना गरिएमा राष्ट्रिय अर्थतन्त्रमा थप उल्लेखनीय योगदान गर्न सक्ने नेग्जाका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले बताउनुभयो । कुल ३८ कम्पनीको सहभागिता रहने मेला सञ्चालनमा सरकारका साथै नेपाल उद्योग वाणिज्य महासंघलगायतले पनि सहकार्य गरेका छन् । मेला अवलोकन गर्न भारतको जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोसन काउन्सिलको उच्चस्तरीय प्रतिनिधिमण्डलसमेत आउने आयोजकले जनाएको छ ।

कोरोनाले शिथिल बनेको आभूषण व्यवसायमा नयाँ उत्साह र ऊर्जा पैदा गराउने, नेपाली बहुमूल्य आभूषण व्यवसायको विद्यमान अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने, आमउपभोक्तालाई एउटै छानामुनि आफ्नो रोजाइ र चाहनाअनुसारको डिजाइनका नेपाली बहुमूल्य आभूषणबारे जानकारी लिने र खरिद गर्न अवसर प्रदान गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ ।

त्यस्तै, आभूषण व्यवसायीलाई आमउपभोक्ताको रुचिबारे अद्यावधिक र थप जानकारी प्राप्त गर्ने अवसर उपलब्ध गराउने, व्यवसायीलाई नयाँ प्रविधि र व्यापारिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने, व्यवसायसँग सम्बन्धित कालीगढलगायत अन्य जनशक्तिलाई आमउपभोक्ताको चाहना र बजारको अवस्थाबारे प्रत्यक्षरूपमा जानकारी लिने अवसर प्रदान गर्ने, स्वदेशी रत्न पत्थरको उत्खनन्, प्रशोधन, उपयोग तथा निर्यातको आवश्यकता र सम्भावना उजागर गर्नेलगायत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?