वर्षाले क्षति गरेको कर्णाली राजमार्ग पुनः स्थापना गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । गएको असोज महिनाको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पु¥याएको कर्णाली राजमार्ग पुनः स्थापना गरिने भएको छ । अवरुद्ध कर्णाली राजमार्ग स्तरवृद्धि नहुँदा यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप पुनः स्थापना गर्नका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई अर्बको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ । सो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे, अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुुख श्रेष्ठको भनाइ छ ।

यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्नेछ । मुगुले निर्णय गरेर पठाइसकेको छ । जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा रहेको छ । सेरिगाडमा एक हप्ताअघि ठूलो सुक्खा पहिरो खसेपछि जाली तथा ग्याबिन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

अवरुद्ध राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि अहिले काम तीव्रगतिमा भइरहेको छ । पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएको ठाउँमा सुधार गर्न लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ ।

हवाईमार्गबाट जान नसक्ने सर्वसाधारणका लागि यातायातको एकमात्र विकल्प कर्णाली राजमार्ग भएको यहाँका स्थानीयवासी बताउँछन् । राजमार्ग स्तरवृद्धि हुन अति आवश्यक रहेको छ । जुम्लाको तिला गाउँपालिका-१ का स्थानीयवासी जयलाल बुढाले भन्नुभयो, ‘हाम्रा लागि राजमार्ग सबैभन्दा सहज पहुँच हो । अहिले राजमार्ग नराम्रोसँग बिग्रेको छ । सुधारका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि यहाँका सांसददेखि राजनीतिक दलले महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीयवासी बुढाको भनाइ छ ।

राजमार्गको स्तरोन्नति हुन नसक्दा यात्रुलाई निकै गाह्रो हुने गरेको स्थानीयवासी उपराज रावतले बताउनुभयो । बाढीपहिरोले कालिकोटको नाग्मदेखि मुगु गमगडी सडकलाई समेत क्षति गरेको छ । सुधारका लागि काम भइरहेको छ । जुम्ला, कालिकोट र मुगु जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर हेर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?