जुम्लामा रैथाने कागुनोको माग बढ्दै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न थालेको तिला गाउँपालिकाका किसान विमला नेपालीको भनाइ छ ।

कागुनोको उत्पादन कम भए पनि माग बढेको जुम्ला सदरमुकाम खलंगामा रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताउनुभयो । किसानले ल्याएको कागुनोको चामल अत्यधिकरूपमा बिक्री हुने गरेको छ । कागुनोको चामलको माग पूरा गर्न नसकिएको यहाँका अर्गानिक पसलका सञ्चालक बताउँछन् । गत वर्ष पनि माग हुने गरेको थियो । यो वर्ष किसानका घरमै पुगेर खरिद गरेर कागुनोको चामल पसलमा ल्याएर आन्तरिक पर्यटकलाई बिक्री गरेको सञ्चालक बुढाको भनाइ छ ।

कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिने गरेको चन्दननाथ अर्गानिक पसलका कर्मचारी लक्ष्मी कुमाईले बताउनुभयो । विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेका छन् । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले भन्नुभयो, ‘कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानलाई समस्या हुने गरेको छ । बाहिरी जिल्लाबाट आन्तरिक पर्यटकको प्रमुख रोजाइ कागुनोको चामल रहेको छ ।’ कागुनोको भात, यसलाई पिसेर पिठो बनाई रोटी तथा ढिँडो बनाई खान मिल्ने चन्दनाथ सहकारीका प्रबन्धक पाण्डेले जानकारी दिनुभयो । विज्ञहरूका अनुसार कागुनो समुद्री सहतदेखि दुई हजार मिटरमाथिको उचाइसम्म उत्पादन हुने गरेको छ । उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरू संकलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्न हो ।

जुम्लामा १५ हेक्टरमा कागुनो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका स्थानीय तहले पनि कागुनो खेतीलाई संरक्षण गर्नका लागि कुनै कार्यक्रम लागू नगरेको यहाँका किसान बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?