दैलेख महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

नविन शर्मा दैलेख, संवाददाता
Read Time = 2 mins

दैलेख । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको ७५ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्ह करिब १२ बजेको समयमा अध्यक्ष गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बिहीबार मुटु दुःख्न थालेपछि जिल्ला सदरमुकाममा ल्याइएको थियो । स्थानीय मेडिकलले अवस्था सामान्य भनेपछि बिहीबार राति नै गुरुङलाई घरमा लगिएको थियो । शुक्रबार बिहान पुनः मुटु दुःखेपछि गुरुङलाई सदरमुकाम ल्याइएको थियो । उहाँलाई अस्पताल पुर्‍याउन लाग्दा हृदयाघात भएको थियो ।

शुक्रबार बिहान ११ बजेर ३६ मिनेट जाँदा अस्पतालले गुरुङलाई मृत घोषणा गरेको थियो । ७५ वर्षीय गुरुङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये ज्येष्ठ सदस्यसमेत हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार अध्यक्ष गुरुङ पहिलादेखि नै ब्लडप्रेसरका बिरामी हुनुहुन्थ्यो । गत वैशाखको स्थानीय चुनावमा गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?