राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौँ स्मृति दिवसमा सम्मान गरेको छ । राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेबापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।

प्रतिष्ठानले भलिबल खेलाडी रेश्मालाई नगद १५ हजार एक रुपैयाँ र प्रशंसापत्र प्रदान गरी सम्मान गर्‍यो । नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा रजत जित्दा तथा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमा नेपालले स्वर्ण जित्दा रेश्मा टोलीकी सदस्य हुनुहुन्थ्यो ।

प्रतिष्ठानले भलिबल खेलाडी भण्डारीसँगै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान गर्नेक्रममा पत्रकारितातर्फ द राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई सम्मान गर्‍यो । दुवैलाई जनही १५ हजार एक रुपैयाँ, प्रशंसापत्र प्रदान गरियो । त्यस्तै, ज्येष्ठ नागरिकतर्फ चन्द्रागिरि नगरपालिकाकी जनमाया महर्जन र पम्फादेवी कटुवाललाई प्रतिष्ठानले नगद १५ हजार एक रुपैयाँ र प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्‍यो ।

संस्थातर्फ रेनुका दुलाल स्मरण प्रतिष्ठानका अध्यक्ष चन्द्र दुलाल सम्मानित हुनुभएको थियो । प्रतिष्ठानले दुलाललाई सामाजिक क्षेत्रमा पुर्‍याएको विशेष योगदानका लागि नगद एक लाख एक रुपैयाँ र प्रशंसापत्रसहित सम्मान गरेको हो । उहाँहरूलाई माइती नेपालकी अध्यक्ष सिएनएन हिरो अनुराधा कोइराला, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, प्रदेश सांसद रामकृष्ण चित्रकार, प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीलगायतले नगद, प्रशंसापत्र प्रदान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?