नाचघरमा विविध सांस्कृतिक कार्यक्रमसहित एकता दिवस

Read Time = 4 mins

काठमाडौं । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले विविध सांस्कृतिक कार्यक्रम गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । ३०१औं पृथ्बी जयन्तीको अबसरमा संस्थानमा बुधबार आयोजित शुभकामना तथा सांस्कृतिक कार्यक्रममा संस्थानका कलाकारले विभिन्न नृत्य तथा गीतसंगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्वसंस्कृति मन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताउनुभयो । आजको नेपालको अस्तित्वमा पृथ्वीनारायण शाहकै देन रहेकाले जिकिर गर्दै उहाँको जन्म जयन्तीलाई एकता दिवसको रूपमा मनाउँदै आएको उहाँले प्रकाश पार्नुभयो ।

संस्थानका निवर्तमान अध्यक्ष प्रेमकुमार अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोककुमार राईले मुलुकको पर्यटन विकाशमा ‘नेचर र एडभान्चरसँगै कल्चर’को पनि त्यत्तिकै योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा शहरी विकाश मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्यसचिव जगतप्रसाद उपाध्यायलगायतले नेपालको एकीकरणमा पृथ्वी नारायणको योगदानको चर्चा गर्दै संस्कृति प्रबद्र्धनमा संस्कृतिक संस्थानको योगदानबारे आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा संस्थानका गायक विपिन घिमिरेले राष्ट्रिय भावको गीत प्रस्तुत गर्नुएको थियो भने संस्थानकै कलाकारहरू तीर्थराज पोखरेल, शिला विष्ट, दीपेन्द्र बज्राचार्य, दुर्गा परियारलगायतले ‘जहाँ सुनका बाला’, ‘यही हो नेपाल’, ‘डर छैन देशका लागि’ जस्ता विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थानका कलाकारले प्रस्तुत गरेको सोरठी, साकेला, धिमे, झाँगड, सखिया, ट्याकुरी, छलिया जस्ता मौलिक नृत्यले सांस्कृतिक एकतामा विविधताको सन्देश दिएको थियो । कलाकारहरू मनोज जोशी, मदन थापा, सनम खड्गी, नवीन गुरुङ, मनिष कार्की, सिद्धार्थ सिलवाल, अक्कलबहादुर पाख्रिन, रेखा श्रेष्ठ, सवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, विना विक, सुरभी मगर, सुमिना मगर, बाबु सेञ्चुरी, केशरबहादुर पुर्जालगायतले यी विविध लोकनृत्य प्रस्तुत गर्नुभएको थियो ।

यी नृत्यको संयोजन सारदा सिलवाल र केशवराज राईले गर्नुभएको थियो । बाद्यवादनतर्फका कलाकारहरू नरसिंहलाल श्रेष्ठ, अनुप दास, तेजु श्रेष्ठ, नरेश प्रजापति र सीता मैया राजचलले प्रत्यक्ष बाद्यवादनमा साथ दिँदै विविध धुन पस्केर कार्यक्रमलाई संगीतमय तुल्याउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?