पर्वत । चलचित्र ‘बलिदान’का केही कलाकारहरूका लागि अडिशनको आहृवान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आहृवान गर्नुभएको हो । प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकाले अडिशनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताउनुभयो । सेनले महिला पात्रका लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको जनाउनुभयो । त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको उहाँले बताउनुभयो ।
अडिशनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सीप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्ने जनाइएको छ । पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने सनेको भनाइ छ । आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ ।
अडिशनमा सहभागी हुन आसुसेन फिल्मस्को आधिकारिक इमेल ठेगानामा सन्देशमार्फत सम्पर्क गर्न सकिने बताइएको छ । ‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दै हुनुहुन्छ । यस चलचित्रमा यसअघि नै अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भइसक्नुभएको छ । सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायांकन अगावै रिलिज भइसकेको छ ।
यसै वर्ष सिनेमाघरमा ल्याउने तयारीमा रहेको चलचित्र ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । शनिवार सेट तयार गरिने विभिन्न स्थानमा भूमि पूजा गरिएको थियो । चलचित्रको छायांकन करिब ६० प्रतिशत स्टुडियोमै छायांकन हुँदैछ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिन्छ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले जनाउनुभयो । आसुसेन फिल्मस् प्रा.लि.तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड विष्ट तथा सहनिर्मातामा प्रेम पुरी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच