थप सुविधासहित टेलिकमको विन्टर अफर

Read Time = 5 mins

काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर २०७९ ल्याएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराउँदै आएको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिएको छ । जसमा प्रिपेड मोबाइलका ग्राहकलाई एक सय ९९ देखि छ सय ९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।

अफरअन्तर्गत जम्मा छ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी र दैनिक सयवटा सन्देश पठाउन सकिने सुविधा रहेको छ । चार सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल १९ हजार छ सय एमबी डाटा (दैनिक सात सय एमबी), दैनिक ७० मिनेट भ्वाइस प्याक र ७० सन्देश पठाउन सकिने सुविधा रहेको छ भने तीन सय ३४९ मा उपलब्ध अर्को प्याकमा २८ दिनका लागि कुल १४ जिबी डाटा (दैनिक पाँच सय एमबी), दैनिक ५० मिनेटको कुराकानी र ५० सन्देश पठाउन सकिने सुविधा रहेको छ ।
त्यस्तै, एक सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल ४२ सय एमबी डाटा (दैनिक एक सय ५० एमबी), दैनिक १५ मिनेट कुराकानी र १५ सन्देश पठाउन सकिनेछ । अफरअन्तर्गतका एक सय ९९ देखि छ सय ९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याक सबै नेटवर्कका लागि उपलब्ध छन् ।

स्टे कनेक्टेडअन्तर्गत एक सय ३० रुपैयाँमा पाँच दिनका लागि दुई जिबी सबै नेटवर्कमा र चार जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्ने गरी जम्मा छ जिबी डाटा र एक सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ । एक सय र दुई सयका स्टे कनेक्टेड अफर निरन्तर प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी एफटिटिएच सेवामा वार्षिक ४० र ८० एमबिपिएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक पनि रहेको छ । अब ४० र ८० एमबिपिएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार छ सय ८२ रुपैयाँ ६४ पैसामा र २१ हजार पाँच सय ४१ रुपैयाँ ५४ पैसामात्र लाग्छ । पोस्टपेड कम्बोअन्तर्गत तीन सय ७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अननेट आठ सय मिनेटको भ्वाइस प्याक र तीन सय ७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने चार जिबी डाटा प्याकमा रेन्टल सुविधा रहेको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याकअन्तर्गत पाँच सय ९९, सात सय ९९, नौ सय ९९ र १४ सय ९९ का असीमित सुविधा प्रयोग गर्न सकिने प्याक पनि रहेका छन् । जसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा दुई सय ५० मिनेट कुराकानी गर्न वा दैनिक एक जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको पाँच सय ९९ को प्याक उपलब्ध छ । सात सय ९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित र अन्यमा पाँच सय मिनेट कुराकानी गर्न सकिने, अल नेट दुई सय सन्देश पठाउन सकिने र प्रतिदिन एक जिबी डाटा ३० दिनसम्म चलाउन सकिने सुविधा रहेका छन् । नौ सय ९९ र १४ सय ९९ का ३० दिनको प्याकमार्फत् कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनुका साथै क्रमशः प्रतिदिन दुई जिबी र चार जिबी डाटा तथा चार सय र हजारवटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?