‘विश्व अर्थतन्त्रका समस्यामा सामूहिक पहल आवश्यक’

Read Time = 5 mins

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ । भ्वाइस अफ साउथ समिटअन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोरोना महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनुभएको हो । मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने भन्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको एजेण्डा अघि बढाउन केन्द्रित छौँ ।’

आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक पाँच खर्ब ८५ अर्ब वित्तीय अभाव भएको उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादन(जिडिपी)को १२.८ प्रतिशत हुन्छ । यो कोरोना महामारीपूर्वको अनुमान भएकाले हाल यो वित्तीय अभाव बढ्न सक्छ, वित्तीय अभाव सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको समिश्रण गर्नुपर्छ ।’

नेपालले द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै उहाँले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयनमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको भन्दै अर्थमन्त्री पौडेलले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो । नेपाल सरकारले वित्तीय सेवामा पहुँच फराकिलो बनाउने काम गरिरहेको जानकारी गराउँदै उहाँले विद्युतीय वित्तीय सेवा प्रयोगमा उत्प्रेरित गर्न कार्यक्रमहरू लागू गरेको जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको उल्लेख गदै उहाँँले वित्तीय समावेशीकरण तथा डिजिटलाइजेशनमा भारतले ठूलो सफलता हासिल गरेको र भारतको सफलताको कथाबाट सिक्न र नेपालका सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको बताउनुभयो । समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बियालगायत १५ देशका अर्थमन्त्रीको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

पूर्वका व्यवसायीद्वारा अर्थमन्त्रीको पुनः ध्यानाकर्षण
विराटनगरका उद्योगी व्यवसायीले उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा अर्थमन्त्री पौडेलसँग भेट गरी मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ का प्रतिनिधिले यस्तो आग्रह गरेका हुन् ।

संघका अध्यक्ष नवीन रिजाल, परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेलगायतले अर्थमन्त्रीसँगको भेटमा चर्को बैंक ब्याजदर, प्रतिकूल बैंकिङ नीति, लोडसेडिङ, आयात तथा भन्सार जटिलतालगायत समस्या समाधानका लागि आग्रह गरेका छन् । भारतले नेपाललाई ५० हजार मेट्रिकटन गहुँको कोटा निर्धारण गरे पनि नेपाल सरकारले नेपाली उद्योगीलाई कोटा बाँडफाँट गर्न नसकेको भन्दै संघका अध्यक्ष रिजालले गहुँमा आश्रित नेपाली उद्योग बन्द हुने अवस्थामा रहेको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?