त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनतिसपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेशलाई तीन-एकको सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलको पहिलो सेट आर्मीले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट गण्डकीले २५-२१ ले जित्यो । त्यसपछिका दुई सेट जित्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो । तेस्रो सेट आर्मीले २५-१० र चौथो सेट २६-२४ ले जितेको थियो । आर्मीका सेटर हरि हजुर थापा प्लेयर दि म्याच घोषित हुनुभयो ।

यता, नेपाल एपीएफ क्लबमाथि तीन-दुईको जित निकाल्दा महिलातर्फ आर्मीको टोलीले पनि सेमिफाइनलमा स्थान बनाउको छ । आर्मीले एपीएफमाथि तीन-दुईको रोमाञ्चक जित निकाल्दै समूह ‘बी’ को विजेतासमेत बन्यो । हारका बाबजुत एपीएफ समूह उपविजेता बनेको छ । खेलको पहिलो सेट २५–२० ले जितेको आर्मीले दोस्रो र तेस्रो सेट १९-२५ र १३-२५ ले गुमायो । आर्मीले चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५-२२ को जित निकाल्यो । पाँचौं सेटमा आर्मीले १५-५ को नतिजासहित जित हात पारेको हो । आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच चुनिनुभयो ।

यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समीकण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साविक विजेता होंगान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबसँग तथा उपविजेता एपीएफले समूह ‘ए’ को विजेता पुलिससँग खेल्नेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ । यता पहिलो जित निकाल्दै गण्डकी प्रदेशको महिला भलिबल टोलीले एनभिए क्लब लिगमा स्थान बनाएको छ । गण्डकीले कृष्ण सेकेण्डरी एकेडेमी काभ्रेलाई तीन–शून्यको सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ मा पहिलो जित निकालेको हो ।

गण्डकीले कृष्णमाथि २५-८, २५-१० र २५-५ को सहज जित निकालेको थियो । गण्डकीकी शस्मी पुन प्लेयर अफ दि म्याच घोषित हुनुभयो । यस जितसँगै गण्डकीले आगामी वैशाखमा हुने क्लब लिगमा स्थान बनाएको छ । गण्डकीले समूह ‘बी’ मा तीन खेलबाट तीन अंक जोड्यो । कृष्ण सेकेण्डरी एकेडेमी अंकविहीन हुँदै बाहिरिएको छ ।

त्यसअघि टिप टप हेल्प पुरुषतर्फ समूह विजेता बन्यो । समूह ‘डी’ मा रहेको हेल्प नेपालले तीनै खेलमा जित निकाल्दै नौ अंक जोड्यो । हेल्प नेपालले मधेस प्रदेशलाई २५-१८, २५-२२ र २५-८ ले पराजित गर्‍यो । यस्तै, यही समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र क्वार्टरफाइनल प्रवेश गरेको छ । तीन खेलमा दुई जित र एक हार व्यहोरेको केशवलाल स्मृतिको ६ अंक रहेको छ । शुक्रबार भएको खेलमा केशवलाल स्मृतिले बूढानीलकण्ठ भलिबल क्लबलाई २७-२५, २५-१८ र २५-१६ ले पराजित गरेको हो ।
समूह ‘सी’तर्फ गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । गण्डकीले तीन खेलमा दुई खेल जित्दै ६ अंकका साथ क्वार्टरफाइनल यात्र तय गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?