मैले परिवारबाट स्वतन्त्रता चाहेको होः जी-बब

Read Time = 4 mins

काठमाडौं । पछिल्लो समय युवापुस्तामाझ चर्चित बनेका र्‍यापर जी-बब (सुदीप भण्डारी)ले आफू आफ्नो परिवारसँग बस्न नचाहेको बताउनुभएको छ । उहाँले आफूले आमाबुबाबाट मानहानी भएको र स्वतन्त्रा चाहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको जानकारी दिनुभयो ।

हाल एएनटीएफसँग काम गरिरहनुभएका जी–बब र उनका आमाबुवाले पनि जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै निवेदन दिनुभयो । आइतबार एएनटीएफले आयोजना गरेको पत्रकार सम्मलेनमा जी-बबले आफूले आफ्नो जिन्दगी स्वतन्त्र जिउन पाउनुपर्ने भन्दै परिवारबाट मुक्ति पाउनुपर्ने चाहना राख्नुभयो ।

‘मलाई एएनटीएफले बन्धक बनाएर राखेको होइन । एएनटीएफ मेरो परिवार हो । मेरो लागि मेरो ममी डेडी र एएनटीएफ बराबर हो । आज एएनटीफ हुन्थेन भने जी–बब हुँदैन्थ्यो । एएनटीफ सोच्ने भनेको निमसाङ शेर्पा हो । जी-बब सोचेको सुदीप भण्डारीले हो । मलाई एएनटीएफ एकदम चाहिन्छ । हामी मिलेर काम गर्छौ’, उहाँले भन्नुभयो । घरबाट सम्पर्कविहीन भएपछि आफूलाई बन्धक बनाएको भनेर आमालाई भ्रम भएको उहाँले बताउनुभयो । बुबाआमा मिडियामा आएपछि मात्रै आफू मिडियामा आउन बाध्य भएको उहाँको भनाइ छ ।

बुबाआमाले भने जी–बबको स्वास्थ्य अवस्था ठीक नरहेको भन्दै अभिभावकत्वको दाबी गरेको शुक्रबार पत्रकार भेटघाट गर्दै भन्नुभएको थियो । छोरालाई घर फिर्ता ल्याउनुपर्ने, कमाएको पैसा पाउनुपर्ने र छोराको स्वास्थ्य सुधार्न रिहृयाब सेन्टर (पुनःस्थापना केन्द्र) मा राख्नुपर्ने उहाँहरूको माग थियो । ‘अहिले आमा बुबासँग बस्दिनँ भनेको छ । एएनटीएफमा लागु औषध खान पाउँछ त्यसैले हामीसँग बस्दिनँ भनेको हो ।’ जी-बबको बुबाले भन्नुभयो, ‘एएनटीएफले हामीले भेट्छौं भन्दा पनि एक्लै आउनुस् भन्छ ।’

यस्तै जी-बबले आफ्नी आमाले पैसाको लागि आफूलाई रिहृवाबमा पठाउने खोजेको आरोप लगाउनुभयो । आफू व्यक्तिगत इच्छाले नै घर छोडेर स्वतन्त्र रूपमा बस्न चाहेको बताउनुभएको हो ।

उहाँले बुबाआमाको माया नपाएको र उहाँहरूले र्‍याप गाउँछु भन्दा साथ नदिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘बुबाआमाले कहिल्यै ¥यापमा सर्पोट गर्नुभएन । बुबा भए पनि उहाँ सधैं विदेशमात्रै बस्ने । उहाँको फोटो देख्थे । फोन पनि आउथ्यो छोरा आइटी पढ भनेर । तर, कहिल्यै नजिक भएनन् । अब विदेशबाट आएर घर आइजभन्दा म जान्छु त ।’ यस्तै उहाँले अघि भन्नुहुन्छ, ‘म परिवारसँग बस्न चाहँदिन । म कुनै पनि हालतमा अब घर जादिनँ । २१ वर्ष पुगिसकेँ । म स्वतन्त्रता खोजिरहेको हो । मैले स्वतन्त्र रूपमा बस्न पाउनु पर्‍यो भनेर निवेदन दिएको हुँ । मलाई मेरो आमाबुबाले काम गर्न रोक्न दिनु भएन । मैले के गर्ने/के नगर्ने त्यो मेरो अधिकार हो ।’

यस्तै, एएनटीएफका संस्थापक निमसाङ शेर्पाले आफूले जी-बबलाई बन्धनमा नराखेको दाबी गर्नुभएको छ । साथै, उहाँले जी–बबसँग काम गरेको र उहाँको परिवारको बारेमा आफूहरू नबोल्नेसमेत बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?