तानसेन नगरका दुई विधेयक पारित

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको १२ औँ नगरसभाले दुई विधेयक पारित गरेको छ । हिउँदे अधिवेशनका रूपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक सर्वसम्मतरूपमा पारित गरेको हो । बिहीबार भएको नगरसभाले खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी विधेयक २०७९ र आर्थिक ऐन २०७९ पहिलो संशोधन गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ । सभामा नगर उपप्रमुख प्रतीक्षा सिञ्जालीले आर्थिक ऐन २०७९ संशोधन गर्न बनेको विधेयक र सामाजिक विकास समितिका संयोजक प्रदीप खनालले खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी विधेयक २०७९ बहुमतले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, नगरसभामा न्यायिक समितिका संयोजक तथा उपप्रमुख सिञ्जालीले न्यायिक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७९/०८० को बजेट संशोधन प्रस्ताव पेश गर्नुभएकोमा सर्वसम्मतरूपमा पारित भएको छ । त्यस्तै, लेखा समिति संयोजक राजेशकुमार अर्यालले प्रस्तुत गर्नुभएको महालेखापरीक्षकको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पनि सर्वसम्मतरूपमा पारित भएको छ । तानसेन नगरपालिका क्षेत्रका सार्वजनिक स्थल, राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र स्थानीय सडक सीमाभित्र नगरपालिकाको स्वीकृत नलिई व्यक्ति/संस्थाले मनोमानी ढंगले निर्माण गरी उपभोग गरिरहेका भौतिक संरचनाको बहाल विटौरी कर असुली गर्न तानसेन नगरपालिकाको आर्थिक ऐन २०७९ संशोधन गर्न वाञ्छनीय भएकाले संशोधन विधेयक पेश गरिएको उपप्रमुख सिञ्जालीले बताउनुुभयो । त्यस्तै, स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्ने नागरिकको भौतिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालगायतका संगठित संस्थाका माध्यमबाट सहज र दिगोरूपमा स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले नेपालको संविधानको धारा ५७ (४) मा भएको व्यवस्था र धारा २२६ बमोजिम विधेयक ल्याइएको सामाजिक विकास समितिका संयोजक प्रदीप खनालले बताउनुुभयो ।

लेखासमिति संयोजक अर्यालले महालेखापरीक्षकको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै आव २०७८/०७९ मा सात करोड १६ लाख ५९ हजार एक सय ३५ रकम बेरुजु देखिएको बताउनुुभयो । सभामा सदस्यहरू विमला बौडेल, कमल दर्लामी, गीता भट्टराई, अमरबहादुर राना, सीता बस्नेत, रेखा विष्ट, चेतबहादुर थापा, गोमा गैरे, माधव बस्याल, अनिता सोमै, डिलबहादुर थापालगायतले प्रस्तुत विधेयक र प्रतिवेदनमाथि टिका-टिप्पणी गर्नुभएको थियो । संसदीय अभ्यासबाट सञ्चालन गरिएको नगरसभा नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?