पोखरा विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

राष्ट्रिय झण्डा आधा झुकाइने

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । सरकारले आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा दिएको छ । सरकारले यती एयरलाइन्स विमान दुर्घटनाका परी निधन हुनुभएका यात्रुहरूप्रति गहिरो शोक प्रकट गर्दै सोमबार शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको थियो । यती एयरलाइन्सको विमान दुर्घटनापछि आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले एकदिन शोक मनाउने निर्णय गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भन्नुभयो, ‘घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रद्धाञ्जलि र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार मुलुकभर एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको जनाएको छ । विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै गृह मन्त्रालयले सोमबार अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिने तथा सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख गरेको छ ।

मन्त्रिपरिषद् बैठकले घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि निर्णय गरेको छ । विमान दुर्घटनामा परेकाहरूको पार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान पनि सरकारले सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो ।

विमान दुर्घटना छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन
सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो । जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहनुभएको छ भने सदस्यहरूमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इञ्जिनियर एकराज जङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।

आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्नेछ । साथै घटनाका बारेमा परिवारलाई सत्यतथ्य जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर बनाउने र पार्थिव शरीर आफन्तहरूले चाहेको स्थानमा पु¥याउन सहजीकरण गर्ने निर्णय पनि आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

सबै हवाईजहाजको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन
सरकारले हवाईजहाजको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हवाईजहाजको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिँदै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सबै वायुसेवा कम्पनीहरूलाई आ–आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भन्नुभयो, ‘दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले आन्तरिक उडानमा रहेका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।’

शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन
राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यती एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएकाहरूको परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्नेबारेमा छलफल गरेको छ । आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा सहजीकरण तथा मृतकका परिवारजनलाई आगामी दिनमा सहजीकरण गर्ने सम्बन्धमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सबै सरोकारवालाहरूले पीडित परिवारलाई सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको छ । बैठकपछि बोल्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मृतकका परिवारलाई, विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन र दूतावासलाई र सञ्चारकर्मी साथै मृतकका परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने विषयमा गृहमन्त्री लामिछानेले निर्देशन दिनुभएको बताउनुभयो । उहाँले गृहमन्त्री लामिछानेले सरोकारवाला निकायहरूलाई पोष्टमार्टम, बिमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त भएका परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापन लगायतका चरणहरूमा आवश्यक काउन्सिलिङलगायत सहजीकरण गर्न निर्देशन दिनुभएको पनि बताउनुभयो । बैठक आज (सोमबार) पुनः बस्नेछ ।

बैठकमा गृह मन्त्रालयलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

कल सेन्टर स्थापना
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत कल सेन्टर स्थापना गरिएको जानकारी दिँदै भन्नुभयो, ‘विमान दुर्घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरूका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्न कल सेन्टर खोलिएको छ, आवश्यक जानकारी लिन कल सेन्टरमा फोन गर्दा हुन्छ ।’

उक्त कल सेन्टरमा यती एयरलाइन्सका तर्फबाट पेम्बा शेर्पा ९९८०१००७५३१० तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका तर्फबाट ०-४११३१६३ नम्बरका फोनहरू राखिएका छन् । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय गरेसँगै विमानस्थलमा कल सेन्टर स्थापना गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित
आज (सोमबार) हुने भनिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित भएको छ । पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम स्थगित भएको जनाइएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थगित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ । दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको तय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?