बीपीको मेलमिलापको चिन्तन, नेपाली राजनीतिको उत्प्रेरणा

बद्रीप्रसाद दाहाल
Read Time = 14 mins

नेपाली राजनीतिका चम्किला नक्षत्र बीपी कोइरालाको भौतिक देह यो संसारबाट बिदा भएको झण्डै चार दशक बितिसक्यो । गतेअनुसार उनको श्राद्धको दिन अस्ति अर्थात् साउन ६, जसलाई स्मृति दिवस पनि भनिन्छ । देश र जनताका गौरव, राष्ट्रिय विभूति कोइराला र उनको चिन्तन नेपालको हरेक राजनीतिक घटना-परिघटनामा मार्गदर्शन बनेर नाचिरहेको हुन्छ । उहाँले आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धतिर नेपालको राष्ट्रियता, सार्वभौमिक अखण्डता र स्वतन्त्रता जोगाएरमात्र प्रजातान्त्रिक समाजवादतिर नेपालको राजनीतिक यात्रा तय गर्न सकिन्छ भनी ‘राष्ट्रिय एकताका लागि मेलमिलाप’ भन्ने एक व्यावहारिक राजनीतिक उपागम वा दृष्टिकोण तत्कालीन राजा तथा जनतामाझ राख्नुभयो ।

आफ्नो भारत निर्वासन त्यागेर आफूमाथि लागेका सात- सातवटा संगीन खालका मुद्दाको पर्वाह नगरी नेपाल भित्रिनु अदम्य साहस नै हो, तत्कालीन निर्दलीय निरंकुश पञ्चायती व्यवस्थाको जटिल घडीमा । उहाँले दक्षिण एसियामा मडारिएको अनिष्टकारी कालो बादलले हाम्राजस्ता साना देशहरूमा ल्याउने दुष्परिणामको गहिरो विश्लेषण गर्नुभएको थियो र नै यो नवीन अभियानमा देशलाई मार्च गराउन सबैखाले चुनौतीलाई शिरमा राखेर भित्रिनुभएको थियो ।

कोरा नाराले मात्र हुने भए बितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यो सोचनीय स्थितिमा देश पुग्नुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ ।

नेपालको भूपरिवेष्ठित अवस्थिति, छिमेकी दुई भीमकायका देशहरूको राजनीतिक स्वार्थ, पश्चिमा मुलुहरूको नेपालप्रतिको रणनीतिक दृष्टिकोणको सम्बन्धको चासो र शीतयुद्धका बाछिटा आदि विभिन्न घटना-परिघटनाले भावी समयमा नेपालको राष्ट्रियता गम्भीर संकटमा फस्न सक्छ भनेरै ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ भन्ने अभिनूतन दूरदृष्टिपूर्ण उपागम (अप्रोज) राख्नुभएको थियो बीपीले । जुन नेपालको सन्दर्भमा सार्वकालिक महत्वपूर्ण भिजन बन्न पुग्यो । नेपालको राजनीतिक प्रणालीको परिवर्तन अपवादबाहेक अधिकांश समयमा राजनीतिक दलहरूको एकता र मेलमिलापको मोर्चा वा गठबन्धनबाटै निष्पन्न भएको कुरा इतिहासले देखाउँछ । भारतको निर्वासनमा रहनुभएका बीपीले स्वदेश फर्कनुअघि यस्तो अपिल गर्नुभएको थियो ।

जो यस प्रकार छ : ‘हाम्रो देश आज राष्ट्रिय संकटमा छ, जसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई महाराजधिराजलगायत अरूले पनि स्वीकारेकै कुरा हो । हाम्रो विचारमा अस्तित्वको संकट राष्ट्रिय एकताको अभाव हो । जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।

कोरा नाराले मात्र हुने भए बितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यो सोचनीय स्थितिमा देश पुग्नुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिला हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र जोड दियौँ, यसमा आज एउटा नयाँ आयाम थपिएको छ ।’

नेपाली कांग्रेसलाई यसरी दोहोरो जिम्मेवारी आइपरेको छ । प्रजातन्त्र प्राप्ति र राष्ट्रको रक्षा दवबै दायित्व नेपालीले लिनुपरेको छ । एकपक्षीयमात्र हामी बन्यौँ भने विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ । त्यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा ग¥यौँ भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ । परिणाम अधिनायकवादको पक्षधर हुन पुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशवासीमा पैदा गर्न सक्दैन । त्यसैले राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन्छ । त्यसैले हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास एकअर्कामा आधारित तत्व हुन् ।

यिनै उदात्त विचार प्रक्षेपण गर्दै राजनेता बीपीले अन्त्यमा भन्नुभयो- म नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी सबै एक मत भएर लागौँ । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा दायित्व हो । यो वक्तव्य ३० डिसेम्बर १९७६ का दिन बीपीले देशवासीका नाममा जारी गर्नुभएको थियो ।

दुर्भाग्य भनौँ वा नेपालका नेताहरूको अकर्मण्यताले झण्डै दुई तिहाइको ओली सरकार दम्भ, अभिमान, घमण्ड र आन्तरिक झगडाले उकुच पल्टिएर आ-आफ्ना स्वार्थ पूरा नहुँदा फुट्न पुगे । अनि यही झोकमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसादले विधिविधान विपरीत जनताको संसद् विघटन गरेर प्रतिगमनको बुट बजारेपछि उनी राज्यसत्ताबाट खुरमुरिई सडकमा पछारिन पुगे । सुपर ग्लु लगाएर खडा गरिएको नेकपा नाम गरेको दर्शन, विचार र सिद्धान्तबाट च्यूत भएका केही सर्दारहरूको यो मण्डली राज्य दोहन गर्न बेग्ला-बेग्लै बन्न पुगे । समय चक्रमा प्रचण्ड पूर्वमाओवादी एकता केन्द्रमा आए भने माकुनेले एकीकृत समाजवादी पार्टीको नयाँ पसल खोल्न पुगे ।

अनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचदलीय गठबन्धनको नायक बनाइए र अदालतको ढोका ढकढक्याएपछि सुप्रिम कोर्टको परमादेशअनुसार शेरबहादुर देउवा ठूलो दलको नाताले गठबन्धन सरकारको प्रधानमन्त्री बन्न पुगे । ‘घुम्दै फिर्दै रूम्जाटार’ भनेझैँ सहमति, सहकार्य र मेलमिलापलाई नै आधारबिन्दु मान्नुपर्ने भन्दै पाँचदलीय गठबन्धन स्थानीय चुनावमा अपवादबाहेक एक नै भए । जसले गठबन्धित सबै दलहरूको चुनावी परिणाम सकारात्मक प्रतीत भयो ।

सबै दलका नायकहरू नायकीय चरित्र र चिन्तनमा भिजेर भावी नेपालको राजनीतिक दिशालाई मेलमिलापको डबलीमा एकजुट हुनु अपरिहार्य छ । मेलमिलाप भनेको राज्यशासनमा सबैको सहकार्य र सहमति हो न कि आ-आफ्नालाई पदीय आसन दिएर विगतकै बिचौलिया वृत्तिको अभिनवीकरण ।

वास्तविकता के हो भने नेपालमा दलहरूकै एकताको बलमा राणाहरूको निरंकुशता हटाउनेदेखि २०३६ को जनमत संग्रह, २०४६ को संयुक्त जनआन्दोलन, २०६२/०६३ को गणतान्त्रिक आन्दोलन र संविधान निर्माण गरी जारी गर्ने कुरामा बीपीकै राष्ट्रिय एकता र मेलमिलापको सूत्र नै महत्वपूर्ण कडी बनेको यथार्थ सर्वविदितै छ । ‘जनताहरूबाट विचार लिएर प्रशोधन गरी जनतालाई नै दिने चीज नीति हो’ भन्ने बीपीले प्रजातन्त्र अर्थात् लोकतन्त्र स्थापना हुनासाथ इतिहासको अन्त्य हुने होइन । मानव जातिले समस्यालाई निरन्तर लखेटिरहनेछ ।

त्यसैले त उनको दर्बिलो विश्वास थियो- प्रजातन्त्रले राजनीतिक समानता प्रतिस्थापन गर्छ भने आर्थिक समानता वा समताका लागि समाजवादले योगदान पुर्‍याउँछ । त्यसैगरी राष्ट्रियताको जगेर्ना राष्ट्रिय एकता र मेलमिलापकै समझदार वातावरणबाट सम्भव हुन्छ । हो, यतिखेरको देशको अवस्थाले पनि देशका राजनीतिक शक्तिगृह मिलेर अहिलेको संविधानलाई कार्यान्वयन गर्न सचेत बनाएको छ । यति लामो समयसम्म राजनीतिक रंगमञ्चको मियो बनेर दशकौँ नेतृत्व तहमा आसीनहरू साँच्चै देशको अस्तित्व बचाउने र जनताको भलो चिताउन स्वार्थको घेराबाट बाहिर आउन सक्छन् कि सक्दैनन् भन्ने कुराको अन्तिम मौका र फैसला हुँदैछ । के उनीहरू साँच्चै विधिका पक्षपाती हुन् त ? परीक्षण सुरु भइसक्यो ।

सबै दलका नायकहरू नायकीय चरित्र र चिन्तनमा भिजेर भावी नेपालको राजनीतिक दिशालाई मेलमिलापको डबलीमा एकजुट हुनु अपरिहार्य छ । मेलमिलाप भनेको राज्यशासनमा सबैको सहकार्य र सहमति हो न कि आ-आफ्नालाई पदीय आसन दिएर विगतकै बिचौलिया वृत्तिको अभिनवीकरण । मतलब अधम र निकृष्ट भागबण्डा अब जनताले मन पराउँदैनन् । बीपीको समयमा मेलमिलाप हुनुपर्ने शक्तिगृह पात्रहरू पृथक् थिए भने यतिखेर अलि बेग्लै चरित्रका शक्तिगृह छन् । जेहोस् यो देशको उत्थान र विकासमा मेलमिलाप अपरिहार्य भएको बुझ्दाबुझ्दै पनि दम्भ र पाखण्डले मडारिएर जनताका प्रतिनिधिहरू गलत बाटोमा नजाऊन् ।

देशको आर्थिक, सामाजिक, शैक्षिक तथा सर्वपक्षीय विकासका निम्ति एकता र मिलाप हाम्रो प्रथम सूत्र हो भने अर्कोतिर भारत र चीनसितका हाम्रा समस्या समाधान गर्न र अन्य देशहरूसित मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न पनि राष्ट्रिय एकता र मेलमिलाप सार्वकालिक सूत्र वा आवश्यक तत्व बनेको छ । यसरी बीपीकै मेलमिलाप र राष्ट्रिय एकताको दृष्टिकोण दूरदूरान्तसम्म अपनाउनुपर्ने हुँदा उहाँको यो भौगोलिक यथार्थलाई आत्मसात गरेर कल्पना गरिएको सिर्जनशील उपागम नेपालको राजनीतिक यात्राको उत्प्रेरणाको सूत्र हो । श्रद्धाञ्जली राजनेता र युगान्तकारी नायक बीपीमा । समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?