पाकिस्तानसँग नेपालको हार

हिमालय टाइम्स
Read Time = 7 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । विश्व नम्बर १ टोली पाकिस्तानविरुद्ध अनुभवको अभाव देखिएको नेपाली क्रिकेट टोलीले एसिया कपको पहिलो खेलमा हार ब्यहोरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भयो । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमा समेटियो । नेपालको सुरुवात राम्रो रहेन । नेपालले पहिलो ओभरमै दुई विकेट गुमायो । पाकिस्तानका स्टार बलर शाहीन शाह अफ्रिदीले पहिलो ओभरमा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेललाई पवेलियन फर्काउनुभयो । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाउँदा रोहितले कुनै रन बनाउँन सक्नुभएन ।

यस्तै नेपालले तेस्रो विकेटका रूपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उहाँलाई नशिम शाहले आउट गर्नुभयो । शेखले पाँच बल खेल्दै एक चौकाको मद्दतमा मात्र पाँच रन बनाउन सक्नुभयो । यस्तै मध्यक्रममा सोमपाल कामीले २८ रन बनाउँनु नेपाली पारीको सर्वाधिक स्कोर रह्यो । ४६ बलमा उहाँले ४ चौका प्रहार गर्नुभयो । यस्तै आरिफ सेखले ३८ बलमा ५ चौकासहित २६ रन बनाउनुभयो । आशा गरिएका ब्याटरहरु दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६ रनमै आउट हुनुभयो । करण केसीले ७ रन जोड्दा सन्दीप लामिछाने र ललित राजवंशीले कुनै रन जोड्न सक्नुभएन । पाकिस्तानका सदाब खानले ४ तथा हारिफ राउफ र साहिन साह अफ्रिदीले समान २ विकेट लिनुभयो ।

यसअघि मुल्तान रंगशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इख्तिखार अहमदले शतक प्रहार गर्दै उक्त स्कोर बनाउनुभएको हो । विश्व वरियताको नम्बर एक ब्याटर बाबरले सर्वाधिक १५१ रनको योगदान दिनुभयो । उहाँले १३१ बलमा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रनको योगदान दिनुभएको हो । बाबरलाई सोमपाल कामीको बलमा सन्दीप जोराले खेल सकिन दुई बल बाँकी रहँदा क्याच आउट गर्नुभएको थियो ।

त्यस्तै इख्तिकरले आफ्नो करियरकै उच्च रन बनाउने क्रममा ७१ बलमा अविजित १०९ रनको पारी खेल्नुभयो । यसअघि उहाँले न्युजिल्यान्डविरुद्ध ९४ रन बनाउनु नै उहाँको करिअरको सर्वाधिक स्कोर थियो । दुवै खेलाडीले चौथो विकेटको लागि १३० बलमा २१४ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित दिलाउनुभएको हो । यसैगरी नेपाललाई करण केसीले पहिलो सफलता दिलाउनुभएको थियो । करणले पाँच दशमलव तीन ओभरमा सुरुआती ब्याट्सम्यान फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउनुभयो । फखरले २० बलमा तीन चौकासहित १४ रन बनाउनुभयो ।

त्यस्तै पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उलहकलाई गुमाएको थियो । उहाँले व्यक्तिगत पाँच रनमात्रै जोड्न सक्नुभयो । नेपालका कप्तान रोहितकुमार पौडेलले इमानलाई रन आउट गराउनुभएको हो ।

तेस्रो विकेटको रूपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । पचास रनमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराउनुभयो । रिजवान र कप्तान बाबरले तेस्रो विकेटका लागि १०७ बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तानले पुनरागमन गरेको थियो ।

चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका आघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउनुभयो । त्यस्तै अन्तिम बलमा नेपालका सोमपाल कामीले पाकिस्तानका सदाम खानलाई आउट गराउनुभयो । सदामले चार रन बनाउनुभएको थियो । नेपालका सोमपाल कामीले दुई तथा करण केसी र सन्दीप लामिछानेका नाममा एक/एक विकेट रह्यो ।

नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो । एसिया कप क्रिकेट यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा सञ्चालन हुनेछ । एसिया कपमा हुने १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन् । उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहेको छ । यसलाई पनि दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

यसैगरी नेपाली टोली अब श्रीलंका प्रस्थान गर्नेछ । त्यहाँ नेपालले समूह चरणको आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । भारत र नेपालबीचको खेल यही भदौ १८ गते हुनेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?