पुष्पालाई दोस्रो पटक ढाका म्याराथनको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली धाविका पुष्पा भण्डारीले दोस्रो पटक बंगबन्धु शेख मुजिब ढाका म्याराथनको साफ एलिटतर्फको उपाधि जित्नुभएको छ । शुक्रबार भएको म्याराथनमा पुष्पाले २ घण्टा ४८ मिनेट २ सेकेण्डको समयमा निर्धारित ४२.१९५ किलोमिटर दूरी पूरा गर्नुभयो । म्याराथनमा नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रोस्थान हासिल गर्नुभयो । श्रीलंकाकी सुजनी परेरा दोस्रो हुनुभएको थियो ।

पुष्पाले यसअघि म्याराथनको सन् २०२१ संस्करणमा साफ एलिटतर्फ स्वर्ण पदक जित्नुभएको थियो । सन् २०२२ को संस्करणमा भने उहाँ कास्य पदकमा सीमित हुनुभएको थियो । पुष्पाले १३औं दक्षिण एसियाली खेलकुदमा पनि रजत पदक जित्नुभएको छ । ‘फेरि उपाधि जित्न पाउँदा खुशी छु । यसपल्ट प्रतियोगिताका लागि लामो तयारी गरेको थिए । तयारीको फल मिलेको छ,’ भण्डारीले भन्नुभयो, ‘यो उपाधि देशका लागि समर्पित गर्न चाहन्छु । आगामी दिनमा थप मिहिनेत जारी राख्नेछु ।’

उपाधिसँगै पुष्पाले पाँच लाख बंगलादेशी टाका जित्नुभयो । तेस्रो हुनुभएकी विन्द्राले तीन लाख टाका पुरस्कार पाउनुभयो । सोही प्रतियोगितामा पुरुषतर्फ हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कास्य पदक जित्नुभएको छ ।

नेपालबाट म्याराथनमा तीन पुरुष र दुई महिला तथा हाफ म्याराथनमा दुई पुरुष र तीन महिला गरी १० खेलाडीले सहभागिता जनाएका थिए । म्याराथनमा एपीएफकै सन्तोष विक्रम विष्ट चौथो हुनुभएको छ । हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ चौथो हुनुभयो । राजपूरा पछाई पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?