सभामुख-उपसभामुख दुबै पदमा पराजय भोगेको कांग्रेसलाई राष्ट्रपति पाउने आस

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसका उम्मेदवार सभामुख र उपसभामुख दुबै पदमा पराजित बनेका छन् ।

राष्ट्रिय राजनीतिमा  १० पुसमा एकाएक आएको परिवर्तनले कांग्रेसलाई सत्ता विहीन बनाउँदा केन्द्रदेखि प्रदेशसम्म उसको उपस्थिति शून्य भएको छ ।

तत्कालीन गठबन्धन टुटाएर प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने उम्मेदवार उठाएको थियो । तर, उसका दुवै उम्मेदवार सत्ता गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगे । यसैबीच राष्ट्रपति पदमा भने कांग्रेसले आफ्नो दावी कायमै राखेको छ । सत्तारुढ माओवादीको समर्थनमा आफ्नो पार्टीले राष्ट्रपति पाउने आशमा काँग्रेस रहेको बताइएको छ ।

कांग्रेस भरसक सहमतिमा नभए वर्तमान सत्ता गठबन्धन भत्काएर भएपनि भावी राष्ट्रपति आफ्नो पोल्टामा पार्न चाहन्छ । नेता चन्द्र भण्डारीको भनाइलाई आधार मान्ने हो भने राष्ट्रपतिको निर्वाचनसम्म सत्ता गठबन्धन भत्काउने कोशिसमा कांग्रेस छ ।

सभामुख, उपसभामुखको निर्वाचनमा कांग्रेस पराजित

भए राष्ट्रिय सहमति नभए पनि माओवादी केन्द्रको साथमा राष्ट्रपति आफुले पाउनु पर्ने जिकिर गर्दै आएको कांग्रेसले सभामुख, उपसभामुखको निर्वाचनमा भने पराजय भोग्नु पर्यो ।

आज भएको उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनु भयो । माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित हुनु भइसकेको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको हो । उहाँलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उहाँका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नु भएको थियो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?