‘ऋण तिर्दिन भन्दै आन्दोलन गर्नु चरम अराजकता’

Read Time = 7 mins

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारको अभियानमा रहेको सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालय देशको चुनौतीपूर्ण अर्थतन्त्र सुधारका लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको भन्दै उहाँले उक्त कार्यमा सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । शनिबार कृषि विकास बैंकको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो । उहाँले बजेटको मध्यावधि समीक्षा गर्ने बेलामा समेत राजस्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेट्टाउन नसकेको र अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताउनुभयो ।

साधारण खर्च लक्ष्यभन्दा माथि पुगेको तर पुँजीगत खर्च १५ प्रतिशत हाराहारीमा मात्रै रहेको उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रमा देखिएका चुनौती सुधार गर्न खर्च कटौती, मितव्ययिताका लागि कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास व्यक्त गर्नुभयो । साथै अर्थमन्त्री पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने पनि बताउनुभयो । पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्दै गएको र अन्य व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको भन्दै उहाँले यस्तो अवस्थामा क्रमशः सुधार गर्दै सरकारले कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रूपमा देख्न चाहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभयो । बैंकहरूबाट कर्जा लिने तर कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठितरूपमा बैंकबाट लिएको कर्जा तिर्नुपदैन भन्नु चर्को अराजकता भएको उहाँले आरोप लगाउनुभयो । गभर्नर अधिकारीले वाणिज्य बैंकहरूको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताउनुभयो । व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने र यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक पनि सतर्क र सजग रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंकको ऋण भनेको सार्वजनिक सम्पत्ति हो, सर्वसाधारणको निक्षेप हो । त्यो माइक्रो फाइनान्स वा वाणिज्य बैंकको होस् । वाणिज्य बैंकको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप हो । समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वको विषयसँग जोडिएको विषय छ । हामीले हल्लाका रूपले हेर्न मिल्दैन ।’ साथै उहाँले पनि कृषि विकास बैंकलाई कृषि क्षेत्रमा लगानी गर्ने प्रमुख बैंकका रूपमा केन्द्रित गरिनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा नयाँ तरिकाले लगानी गर्न खोज्नेका लागि नयाँ किसिमले वित्तीय लगानीको बाटो खोल्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । नेपाल बैंकर संघका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैंकलाई दबाब आउन थालेको दाबी गर्नुभयो । नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रमा आउने दबाबले आगामी दिनमा बैंकिङ क्षेत्र अप्ठ्यारोमा पर्ने उहाँको भनाइ छ । अरूको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने केसीले बताउनुभएको छ ।

कृषि विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको छ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर तीन अर्ब ७२ करोडमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी तीन अर्ब ७४ करोड गरेको थियो । समीक्षा अवधिमा १५ करोड सञ्चालन घाटा भएको छ । गत वर्ष सोही अवधिमा दुई अर्ब आठ करोड सञ्चालन मुनाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १८ अर्ब ६२ करोड, जगेडा कोष ११ अर्ब ९५ करोड, निक्षेप एक खर्ब ७२ अर्ब र कर्जा एक खर्ब ७५ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत थियो । कृषि विकास बैंकले हालसम्म एक लाख ६२ हजार ग्राहकमा एक खर्ब ७८ अर्ब कर्जा लगानी गरेको जनाएको छ । बैंकमा १८ लाख निक्षेपकर्ताको एक खर्ब ७० अर्ब निक्षेप रहेको छ भने अधिकृत पुँजी २५ अर्ब, जारी पुँजी १८ अर्ब ६२ करोड छ लाख र साधारण चुक्ता पुँजी १३ अर्ब १८ करोड रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?