पर्यटकीय नाकाको परिचय बनाउँदै कोइलावास, एक वर्षको लक्ष्य ६ महिनामै पूरा

Read Time = 9 mins

दाङ । कुनै समय व्यापारिक केन्द्र बनेको कोइलावासले अब भने पर्यटकीय नाकाको रुपमा परिचय बनाउन थालेको छ । अन्तरदेशीय व्यापारमा खासै प्रयोगमा आउन नसकेको कोइलावास भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा भने स्थापित हुन थालेको छ ।

यति मात्र होइन, कोइलावास आफैमा पर्यटकीय नयाँ गन्तब्य पनि बन्न थालेका संकेतहरु देखिन थालेका छन् । बितेको तीन वर्ष र चालु आर्थिक वर्षको तथ्यांकलाई विश्लेषण गर्ने हो भने कोइलावास नाका भारतीय पर्यटक नेपाल भित्रिने सजिलो नाका बन्दै गएको देखिन्छ । कोइलावास भन्सार कार्यालयमा संकलन हुने राजश्व भारतीय पर्यटक चढ्ने सवारी साधनका कारण बढ्दै गएको छ । कुनै बेला न्यूनतम लक्ष्यसमेत भेट्न नसक्ने कोइलावास भन्सार कार्यालयले पछिल्ला बर्ष लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गर्न थालेको छ । राजश्वको स्रोत भनेकै अस्थायी पैठारी अर्थात भारतीय पर्यटक नेपाल आउँदा ल्याउने जीप, कार र मोटरसाइकल हुन् । चालु आर्थिक वर्षमा कोइलावास भन्सार कार्यालयले २१ लाख ३९ हजार राजश्व संकलनको लक्ष्य राखेको छ । ६ महिनाको अवधिमा त्यो लक्ष्य पूरा भइसकेको छ ।

साउन, भदौ, असोज, कार्तिक, मंसिर र पुस महिनाको अन्तिमसम्म अस्थायी पैठारी, साधारण पैठारीलगायतको शीर्षकबाट ३७ लाख ५६ हजार एक सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ । राजश्वको प्रमुख स्रोत भारतीय सवारी साधनबाट संकलन हुने अस्थायी पैठारी रहेको छ । यो ६ महिनाको अवधिमा २३ लाख ३१ हजार तीन सय ५० रुपैयाँ भारतीय सवारी साधनबाट मात्रै संकलन भएको छ । ‘कोइलावासबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढेको छ । जसले गर्दा राजश्व संकलनमा बृद्धि भएको छ’– कोइलावास भन्सार कार्यालयका प्रमुख बसन्त रजौरेले भन्नुभयो– ‘व्यापारिक रुपमाभन्दा पनि यो नाका पर्यटकीय गन्तब्य बन्न थालेको जस्तो देखिन्छ ।’

आर्थिक वर्ष २०७६/०७७ मा वार्षिक लक्ष्य १० लाख ८५ हजार थियो । एक वर्षको अवधिमा कोइलावास भन्सारमा १३ लाख १० हजार पाँच सय ६६ रुपैयाँ राजश्व संकलन भयो । आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक लक्ष्य १२ लाख ६१ हजार थियो तर कोरोना भाइरसका कारण कोइलावास नाकाबाट आवातजावत रोकिएपछि राजश्व संकलन ज्यादै न्यून भयो । ४७ हजार १८ रुपैयाँ मात्रै संकलन हुन पुग्यो । आर्थिक वर्ष २०७८/०७९ मा वार्षिक लक्ष्य १४ लाख ७८ हजार थियो । राजश्व संकलन ह्वात्तै बढेर ३१ लाख एक हजार नौ सय १७ रुपैयाँ संकलन भयो । लमही–कोइलावास सडक निर्माण भएपछि कोइलावास भएर स्वर्गद्वारीसम्म पुग्ने पर्यटकहरु बढेका हुन् ।

पहाड हेर्न भीड

भारत बलरामपुर निवासी समिर खान सार्वजनिक विदा मनाउन कोइलावास भ्रमणमा आउने पर्यटकमध्ये पर्नुहुन्छ । सार्वजनिक विदाको सदुपयोग गर्न उहाँको परिवार नै भ्रमणमा निस्किन्छ । कोइलावासको हरियो पहाडले खानलाई तान्ने गरेको छ । भारतमा पहाड हेर्न उत्तरप्रदेश जानुपर्छ तर छिमेकी देश नेपालको प्राकृतिक सुन्दरताले भारतीय पर्यटकलाई लोभ्याउने गरेको छ । ‘हामी आइरहन्छौं । हावापानी र वातावरण ठीक लाग्छ’, खानले भन्नुभयो, ‘कोइलावासको प्रचार हुँदैछ । धेरै बेर कोइलावासमा रमाउने ठाउँ चाहिएको छ ।’

भारतमा हुने सार्वजनिक विदाको दिन त कोइलासमा भीडभाड हुन्छ । गाडी र मोटरसाइकलको पनि उस्तै लाम । पछिल्ला दिनमा उत्तर प्रदेशका विभिन्न जिल्लाबाट कोइलावासको प्राकृतिक सुन्दरता हेर्न र रमाउन पर्यटकहरु आउने क्रम बढेको छ तर भारतीय पर्यटकहरुलाई लक्षित गरेर कोइलावासमा पर्यटन पूर्वाधार अझै बनिसकेका छैनन् । वडास्तरको बजेटबाट सामान्यरुपमा झोलुंगे पुलको मर्मत र हिल स्टेशन निर्माणको तयारी भइरहेको छ । ‘कोइलावासमा जाम हुनेगरी पर्यटकहरु आउने क्रम बढेको छ । अब पर्यटकहरुलाई लक्षित गरेर यहाँ पूर्वाधार बनाउन आवश्यक छ । हामी त्यसमा जुटेका छौं’– गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष अब्दुल खालिक सिद्धिकीले भन्नुभयो, ‘दिनभरि पर्यटक रमाउने, एउटा पर्यटकले केही नभए पनि पाँच सयदेखि एक हजार रुपैयाँसम्म खर्च गर्ने ठाउँको व्यवस्था हामीले गर्न सक्यौं भने कोइलावासको मुहार पर्यटनबाट फेर्न सकिन्छ ।’ सरदर दैनिक एक हजारभन्दा बढी भारतीय पर्यटक कोइलावास आउने गरेका छन् । भारतको लखनउदेखि गोरखपुरसम्मका पर्यटक भ्रमणमा आउने गरेका छन् । बहराइच, गोण्डा, बलरामपुर, सिद्धार्थनगर, गोरखपुरलगायत उत्तर प्रदेशका पूर्वाञ्चलका पर्यटकको रोजाइ बनेको छ । ‘मानव निर्मित स्थानभन्दा प्रकृतिले आफै बनाएको ठाउँमा पर्यटक रमाउँदारहेछन’– वडाध्यक्ष सिद्धिकीले भन्नुभयो– ‘बोर्डर पार गर्दा बित्तिकै हरियाली वातावरण देख्न पाउने भएपछि सहजरुपमा पर्यटक भित्रिरहनुभएको छ ।’

पूर्वाधार थप्ने योजना

कोइलावासको पर्यटन विकासमा वडा कार्यालयले योजना बनाएको छ तर वडा तहको बजेटले यहाँको पर्यटन पूर्वाधार सम्पन्न गर्न नसक्ने अवस्था छ । कोइलावासको पहाडलाई भ्यू टावरको रुपमा विकास गर्ने, हिल पार्क बनाउने योजना अघि सारिएको हो । हिल पार्कको लागि वडा कार्यालयबाट बजेट विनियोजन भएको तर त्यो अपुग रहेको वडाध्यक्ष अब्दुल खालिक सिद्धिकीले बताउनुभयो । ‘हामीले कोइलावास आउने पर्यटकले कम्तिमा एक हजार रुपैयाँ यही खर्च गरेर जाने योजना बनाउनुपर्छ’, उहाँले भन्नुभय, ‘यसका लागि पर्यटनका पूर्वाधारहरु थप्नुपर्छ । जस्तो जीपलाइन र साइक्लिङ थप्न सक्छौं । यसमा उनीहरुले खर्च पनि गर्छन् । रमाउन पनि रमाउँछन् ।’ बालबालिकाहरुलाई पनि समय बिताउने उद्यानमा लगानी लगाउनुपर्ने योजना छ । आन्तरिक तथा बाह्य पर्यटकलाई धेरै बेर कोइलावासमा घुमाउन लगानीको खाँचो छ । ‘कोइलावासमा मान्छे आउन चाहेको छ । बाबु, बाजेले नुन बोकेको थलो कस्तो छ भनेर आन्तरिक पर्यटक कोइलावास आउनुहुन्छ, यस्तै भारतबाट आउनेहरुलाई यहाँको रमणीय वातावरणले तानेको छ’, उहाँले भन्नुभयो, ‘आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी काम गर्न जरुरी छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?