स्पट फिक्सिङका लागि ६ देखि १० लाखसम्मको अफर : सिआइबी

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । तीन साताअघि काठमाडौंमा सम्पन्न नेपाल टी-२० क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । सिआइबीले मंगलबार पत्रकार सम्मेलन गर्दै १० जना स्पट फिक्सिङमा संलग्न पाइएको जनाएको हो ।

सिआइबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाका अनुसार फिक्सिङमा चारजना टोली व्यवस्थापक नै संलग्न रहेको पाइएको छ । फिक्सिङमा काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापककै संलग्नता देखिएको छ ।
फिक्सिङमा संग्लन दुई नेपाली खेलाडीहरू महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अनुसन्धान प्रभावित हुने भन्दै बाँकीको नाम सार्वजनिक गरेको छैन ।

‘एउटा स्पट फिक्सिङमा, कुनै गेमको कुनै एउटा ओभरमा नो बल फ्याँकेको वा निश्चित रन लिएको अवस्थामा ६ देखि १० लाख दिनेगरी अप्रोच आएको देखिन्छ,’ थापाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘दुईजनालाई पक्राउ गरिसकिएको छ भने अनुसन्धान प्रभावित हुन सक्ने र पक्राउ गर्न कठिनाइ पर्न सक्ने भएकाले अरूको नाम गोप्य राखिएको हो ।’

संलग्नको आरोपमा सोमबार नै विराटनगरबाट महबुब आलम र राजविराजबाट मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका दुई क्रिकेटरको पाँच दिन म्याद थप गरिएको थापाले बताउनुभयो ।

थापाका अनुसार महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन दिएका थिए । त्यसबाहेक चारजना व्यवस्थापक र चारजना बिचौलियाहरू फिक्सिङमा संलग्न रहेको थापाले जानकारी गराउनुभयो ।

थापाका अनुसार आदिललाई एउटा नो बल र एउटा वाइड फाल्न अफर गरिएको थियो । जनकपुर रोयल्सबाट खेलेका आलमले कम्तीमा दुई खेलमा त्यस्तै खेलेको देखिएको प्रहरीको दाबी छ । लिगको कुनै पनि टोलीमा नरहेका महबुब आलमले स्पट फिक्सिङमा बाहिरबाट भूमिका खेलेको सिआइबीले बताएको छ ।

जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आए पनि तीनजना खेलाडीले एन्टिकरप्सन युनिटलाई जानकारी गराएको तर आदिलले भने कसैलाई जानकारी नगराएको सिआइबीले जनाएको छ ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी पनि छानबिनको दायरामा आउने सिआइबीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एसएसपी दिनेश आचार्यले प्रारम्भिक अनुसन्धानमा क्यानका कुनै पनि पदाधिकारी फिक्सिङमा संलग्न भएको नदेखिएको बताउनुभयो ।
‘क्यानको काम खेल आयोजना हो । अहिलेसम्म क्यानका पदाधिकारीको संलग्नता देखिएको छैन । स्पट फिक्सिङको प्रमाण संकलन गरेको अवस्थामा क्यान र उसको साझेदार संस्था सेभेन थ्री सबै अनुसन्धानको दायरामा आउँछन्,’ पत्रकार सम्मेलनमा एसएसपी आचार्यले भन्नुभयो ।

राष्ट्रिय क्रिकेट र राष्ट्रको छविमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको नेपाल टी-२० लिगको रणनीतिक तथा व्यापारिक साझेदार, फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, विगतमा क्रिकेट संघसँगको आबद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमताका विषयमा उचित ध्यान दिन नसकेको आरोप क्यानमाथि छ ।

‘नेपालमा सेभेन थ्री स्पोर्ट्सले जुन हिसाबबाट लगानी गरेको छ, त्यसका लागि स्रोत के हुन सक्छ, लगानीअनुसारको प्रतिफल हुन सक्ने अवस्था छ कि छैन । मुख्य प्रायोजक भनिएको वान एक्स ब्याटको आर्थिक हैसियद के हो भन्ने अनुसन्धानमै छौं,’ एसएसपी आचार्यले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यो लिग सञ्चालनका लागि ती कम्पनीहरू क्षमतावान थिए कि थिएनन् भन्ने अनुसन्धानबाट खुल्नेछ ।’
स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरूविरुद्ध राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । स्पट फिक्सिङमा मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुने जनाएको छ ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलेमतो गरे राष्ट्रहितविरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐनमा भने नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ ।

त्यस्तै, यस्तो कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसुर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप तीन वर्ष कैद हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?