‘अध्यक्ष चन्दलगायत कार्यसम्पादन समितिले राजीनामा दिनुपर्छ’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सातजना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका पाँचजना पदाधिकारीको राजीनामा माग गरेका छन् । सातजना केन्द्रीय सदस्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएर गल्ती गरेको भन्दै अध्यक्ष चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् । आयोजक कम्पनी सेभेन थ्री स्पोर्ट्स नै फिक्सिङमा संलग्न भएको पाइएको र यसको मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरूको आरोप छ ।

राजीनामा माग्ने केन्द्रीय सदस्यमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहनुभएको छ । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का रहनुभएको छ । क्यान अध्यक्ष चन्दले नेपाल टी-२० लिग आयोजनामा गल्ती भएको स्वीकार गरिसक्नुभएको छ ।

क्यानका सात सदस्यले आफूहरूले यस विषयमा पटक-पटक प्रश्न उठाए पनि नेतृत्वले बेवास्ता गरेको बताएका छन् । ‘भारतीय कम्पनीको पृष्ठभूमि शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेण्डरमार्फत् गर्नुपर्नेमा हामी स्पष्ट थियौँ । जसका कारण हामीले लिगको विषयमा पटक-पटक नोट अफ डिसेन्टसमेत लेखेका थियौँ,’ सात सदस्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हामीले क्यान नेतृत्वको गलत कार्यको निरन्तर औपचारिक मञ्चमा पनि विरोध गर्‍यौँ । साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यान नेतृत्वको हो । त्यसमा पनि महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै प्रमुख दोषी हो । क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न सक्दैन । हामी केन्द्रीय सदस्यहरू उहाँहरूको राजीनामा जोडदाररूपमा माग गर्छौँ ।’

आयोजनाको सम्पूर्ण जिम्मेवारी लिएको भारतीय कम्पनीका प्रमुख जतिन अहलुवालिया प्रतियोगिताको बीचमै भागेर भारत गएका थिए । त्यसलाई क्यान नेतृत्वले पनि स्वीकार गरेको छ । गएको बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै उक्त लिग सञ्चालनका क्रममा गल्ती भएको स्वीकार गर्नुभएको थियो ।

क्यानका सात सदस्यले नेतृत्वले जानाजान गल्ती गरेको आरोप लगाउँदै भनेका छन्, ‘हामीले पटक-पटक सचेत गराएका थियौँ । तर, उहाँहरूले जबरजस्ती निर्णय गर्नुभयो । यसले नेपाल क्रिकेटको मानमर्दन भएको छ । हामीले पटक-पटक सचेत गराउनका बाबजुद त्यही कम्पनीलाई नेपाली क्रिकेट सुम्पिने हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन मिल्दैन र सरोकारवाला निकायले पनि नेपाली क्रिकेटलाई बेटिङ र फिक्सिङको उर्भर भूमिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा बदनाम गराउनेहरूलाई उन्मुक्ति दिने छुट छैन ।’

पुस ९ गतेबाट २७ गतेसम्म आयोजना भएको प्रतियोगितामा खेलाडीले पारिश्रमिक नपाएको र फिक्सिङका लागि अप्रोच आएको सहभागी खेलाडीले नै बताएका थिए । खेलाडीको सो अभिव्यक्तिपछि लिगमा विवाद बाहिरिएको थियो । सो घटनाक्रमपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो । प्रारम्भिक अनुसन्धानपछि सिआइबीले पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

साथै एकेन्द्र कुँवरको संयोजकत्वमा गठित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छानबिन समितिले क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया पूरा नगरिएकाले तत्काल खारेज गर्न सुझाव दिएको थियो । क्यान र सेभेन थ्री स्टारबीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?