मुख्य बजारमा बसपार्क नहुँदा समस्यै समस्या

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । बागलुङको पुरानो सदरमुकाम हो गलकोट । गलकोट बजारमा पछिल्लो समय तीव्रगतिमा बस्ती विस्तार भइरहेको छ । बस्ती विस्तारसँगै यातायातको चाप पनि उत्तिकै बढ्दो छ । दैनिक हजारौँ मानिसहरूको आवतजावत हुने गलकोट बजारमा बसपार्कको अभाव खड्केको छ । बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ । विस्तारै विकासले गति दिँदै गएको यस बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ ।

भौगोलिक हिसाबले पछाडि रहे पनि गलकोट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीच भाग भएर गएपछि थुप्रै विकासका सम्भावनाका ढोकाहरू खुलेका छन् । राजमार्गका कारण छोटो समयमै अनपेक्षितरूपमा विकास भएपछि यहाँ धेरै संरचनाहरू निर्माण गर्नुपर्ने देखिएको छ । दैनिक सयौँ साना तथा ठूला सवारीसाधानहरू व्यवस्थापन गर्न निकै चुनौती छ ।

दिनदिनै अव्यवस्थितरूपमा भएको बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । सबैभन्दा बढी चुनौती त पार्किङमा छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि शहरका रूपमा विकास भएको गलकोटमा ठूला-ठूला घर भवन निर्माण भइरहेका छन् । गलकोटमा तीव्ररूपमा बजार विस्तार हुँदा बसपार्कको अति आवश्यक परेको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो ।

बजार क्षेत्रमा भएको खाली जग्गाहरूमा पनि तीव्ररूपमा बस्ती निर्माण भएपछि बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न समस्या भएको भण्डारीको भनाइ छ । यद्यपि बसपार्कका लागि जग्गा खोज्ने काम भइरहेको उहाँले बताउनुभयो । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थापन गरिएको भण्डारी बताउनुहुन्छ । ‘पछिल्लो दशक गलकोटको जनघनत्व बढी भयो, सवारीसाधनहरू पनि बढे, त्यसकारण यहाँ बसपार्क अनिर्वाय भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खासै समस्या समाधान हुँदैन, बजारवरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ,’ प्रवक्ता भण्डारीले भन्नुभयो ।

बजारलाई व्यवस्थित गराउन बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न प्रदेश र संघ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गर्ने भण्डारीले बताउनुभयो । बजार साँघुरो र त्यहीमाथि सवारीसाधनको चाप बढ्दा व्यवस्थापनामा समस्या थपिएको उहाँ बताउनुहुन्छ । प्रवक्ता भण्डारी भन्नुहुन्छ, ‘गलकोट बजार पहिलेदेखि नै साँघुरो थियो, लोकमार्गले जोडिएपछि झन् घर, भवनहरू थपिए, व्यापार व्यवसाय बढ्यो, सवारी तथा मालवाहक गाडीहरू पनि थपिए, त्यसले गर्दा अहिले बजारमा पार्किङ व्यवस्थापनमा चुनौती थपिएको छ, सानो बजारमा ठूला गाडीहरू भित्रिएपछि व्यवस्थापनमा समस्या भयो ।’

दैनिक गलकोट बजार भएर लोकमार्गमा सयौँ सवारीसाधन गुड्ने र गाउँबाट बजारमा आउने गाडीहरूले दुर्घटना जोखिम बढाएको भन्दै अहिले बजार क्षेत्रको सडकलाई एकतर्फीरूपमा सञ्चालन गरेर समस्या सामाधान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । भण्डारीले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोक-चोकमा होर्डिङबोर्ड राख्ने तथा साना सवारीसाधनलाई खुला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताउनुभयो । गलकोट बजार पनि एक दशकअगाडिसम्म सुनसान रहेकोमा अहिले भिडभाड बढेको स्थानीय बताउँछन् । दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो हुँदा व्यापार व्यवसाय गर्न समस्या भएको स्थानीय व्यवसायी छविलाल शर्माले गुनासो पोख्नुभयो । उहाँले दिनप्रतिदिन गाडी र मान्छेको चाप बढ्दै गएको र बजार अस्तव्यस्त बनेको बताउनुभयो ।

शर्माले भन्नुभयो, ‘गलकोट बजारमा व्यवसाय गर्न समस्या हुँदै गएको छ, बजार व्यवस्थापन पनि राम्रोसँग हुन सकेको छैन, लोकमार्गमा चल्ने र यहाँबाट पोखरा, काठमाडौं, बुटवल जाने गाडीको भिड उस्तै हुन्छ, अझ गाउँबाट दिनदिनै मान्छे ल्याउने र सामान बोक्ने गाडीहरूले बजार भद्रगोल भएको छ, गाडी आएर पसलअगाडि रोकिन्छ, गाडीले पसलै छेकेपछि कसरी व्यापार हुन्थ्यो र ?’

शर्माले सवारीसाधनको चाप बढेपछि गलकोट क्षेत्रमा एउटा बसपार्क आवश्यक रहेको बताउनुभयो । गलकोटमा एक दशकअघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरूले बजार भरिएको उहाँको भनाइ छ । बढ्दो जनघनत्व तथा लोकमार्ग हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौं चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको उहाँ बताउनुहुन्छ । ‘आजभन्दा आठ वर्षअगाडि फर्केर हेर्दा गलकोटको अवस्था यस्तो थिएन, सुनसान थियो, सामान्य पसल र केही घरहरूमात्रै थिए, अहिले तीव्र बजारीकरण भएको छ । गाउँबाट मान्छेहरू बसाइँसराइ गरेर यहीँ आउन थाले, विकासले गर्दा यहाँ जनसंख्या बढ्यो, त्यसकारण गलकोटमा बसपार्क अति आवश्यक छ,’ शर्मा भन्नुहुन्छ, ‘सानो ठाउँ छ, धेरै मान्छे र सवारीसाधन छन्, बजारको जता हेर्‍यो त्यतै गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ ।’

गाडीचालक हरिबहादुर खड्का बजारमा पार्किङको व्यवस्था नहुँदा यात्रु र चालकले सास्ती खेप्नुपरेको बताउनुहुन्छ । उहाँले बजार सानो भए पनि गाडीको चापले गर्दा सामान अनलोड गर्न र यात्रु खोज्न समस्या भइरहेको बताउनुभयो । बजारको निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्नुपर्ने खड्काको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो बजारमा गाडी कहाँ पार्किङ गर्ने भन्ने चिन्ता हुन्छ, बजारमा धेरै गाडी हुन्छन्, कसैको पसल अगाडि लगेर राख्यो गाली दिन्छन्, वरपर राख्ने ठाउँ छैन, सरकारले यहाँ एउटा बसपार्क बनाइदिए हामीहरू जस्ता चालकलाई सजिलो हुन्थ्यो, अहिले एकातिर प्यासेन्जर, अर्कातिर गाडी र सामान हुन्छन्, निकै समस्या छ यहाँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?