क्रिकेटरको श्रेणी वर्गीकरण : ‘ए’ लाई मासिक ६० हजार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय सम्झौतामा रहने खेलाडीको नयाँ श्रेणी (ग्रेड) सार्वजनिक गरेको छ । क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले खेलाडीको नयाँ श्रेणी तय गरेको हो । क्यानले केन्द्रीय सम्झौतामा रहन पुरुष खेलाडीतर्फ श्रेणी ‘ए’ मा पाँच, ‘बी’ मा तीन र ‘सी’ मा १० जना खेलाडीलाई समेटेको छ । जसअनुसार ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख हुनुहुन्छ । श्रेणी ‘बी’ मा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, आरिफ शेख र कुशल भुर्तेल हुनुहुन्छ ।

श्रेणी ‘सी’ मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, देव खनाल, सागर ढकाल, कुशल मल्ल र विवेक यादव हुनुहुन्छ । क्यानले पुरुषतर्फ निलम्बन फुकुवा गरिए पनि पूर्वकप्तान सन्दीप लामिछानेलाई सम्झौतामा राखेको छैन ।

क्यानले महिलातर्फ श्रेणी ‘ए’ र ‘बी’ मा समान तीन-तीन तथा ‘सी’ मा ६ जना गरी कुल १२ जना खेलाडीलाई केन्द्रीय सम्झौतामा समावेश गरेको छ । महिलातर्फ श्रेणी ‘ए’ मा कप्तान रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा, ‘बी’ मा काजोल श्रेष्ठ, अस्मिना कर्माचार्य र कविता कुँवरलाई राखेको छ ।

श्रेणी ‘सी’ मा कविता जोशी, बिन्दु रावल, ज्योति पाण्डे, अप्सरी बेगम, ममता चौधरी र संगीता राईलाई राखिएको छ । खेलाडीको सम्झौता ६ महिनाका लागि गरिएको क्यानले जनाएको छ । केन्द्रीय सम्झौतामा पुरुषतर्फ ‘ए’ मा रहनेलाई मासिक ६० हजार, ‘बी’ मा रहनेलाई ५० हजार र ‘सी’ मा रहनेलाई ४० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, महिलामा श्रेणी ‘ए’, ‘बी’ र ‘सी’ मा रहने खेलाडीलाई मासिक क्रमशः २१, १८ र १५ हजार रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ । यसअघि क्यानले महिलातर्फ १८ खेलाडीलाई केन्द्रीय सम्झौतामा राखेको थियो । यसपटक महिलामा ६ खेलाडी घटाइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?