अन्तरसंवाद : नेपाललाई जनिकबाट चिन्ने विदेशी-वेन ब्ल्याक वेल

विनोद दाहाल वत्स
Read Time = 24 mins

वेन विदेशी नागरिक, बेलायती तर नेपाललाई विभिन्न किसिमले सहयोग पुर्‍याइरहनु भएको छ । नेपाली महिलासँग विवाह गर्नुभएको व्यक्ति, त्यसकारण नेपाल उहाँको ससुराल । त्यसैले उहाँको नेपाल आउने जाने क्रम चलिरहन्छ । उहाँले नेपालमा धेरै समाजसेवी काम गर्नुभएको छ । साहित्यकार दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ले मलाई उहाँका बारेमा सुनाउनुभएको थियो केही वर्ष पहिले । उहाँ नेपाल आएका बेला मलाई उहाँसँग भेट गराइदिनु है भनेको थिएँ । यसपटक उहाँ नेपाल आउनासाथ अधिकारीले मलाई मोबाइलमा घण्टी बजाइहाल्नुभयो । म अधिकारीको कपन मिलनचोकको घरमा पुगेँ । उहाँको घरको माथ्लो तलाको भमरकोटे पुस्तकालय कक्षमा उहाँहरू दुईजना मलाई पर्खिरहनु भएको थियो । त्यहीँ बसेर कुराकानी गरियो ।

नेपाललाई विश्वसामु चिनाउने, नेपालका जाति, भाषा, संस्कृति, प्रकृति आदिको अध्ययन गर्न आउने विदेशीहरू पनि धेरै नै छन् । यसका साथै जलयात्रा, पदयात्रा, बञ्जी जम्पिङ, हिमाल तथा पहाड आरोहणलगायत पारखका लागि विभिन्न देशबाट मानिस आउँछन् । यहाँको अल्पसंख्यक जाति, तिनका भाषा र रहनसहनको अध्ययन गरेर विद्यावारिधि गर्ने काम केही विदेशीबाट भएको छ । कोही समाजसेवी मनोभावना लिएर पनि आएका हुन्छन् । यस्तै समाजसेवी मनोभावनाका एकजना व्यक्ति हुनुहुँदोरहेछ बेलायती नागरिक वेन ब्ल्याक वेल ।
दुर्गा अधिकारी भमरकोटेको यो ‘भमरकोटे पुस्तकालय’ पनि केही महिनाअघि मात्रै उद्घाटन भएको हो । त्यसदिन त्यहाँ साहित्यकारहरूको जमघट भएको थियो । साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो र उहाँबाटै यस पुस्तकालयको उद्घाटन भएको थियो ।

साहित्यकारहरूबाट प्रदान गरिएका र दुर्गा अधिकारको आफ्नै संकलनका पुस्तकहरूले उहाँको पुस्तकालय भरिभराउ भएको रहेछ । पुस्तकालय उद्घाटन भएका दिन उक्त ठाउँमा रचनावाचन कार्यक्रमसमेत भएको थियो । टाढाटाढादेखि आएका साहित्यकारहरूको ठूलो जमघटका बीच मैले पनि कविता सुनाएको थिएँ । अहिले हामीले यही ठाउँमा भेटघाट गरेर वेनसँग वर्तालाप गर्‍यौँ ।

चितवनको पर्यटकीय क्षेत्र सौराहामा ढल तथा बाटो व्यवस्थित हुन सकेको थिएन र पानीको पनि राम्रो व्यवस्था थिएन । वेनले २०६४/०६५ सालतिर त्यसलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । विशेषगरी पानी आपूर्तिमा उहाँले गरेको काम त्यहाँका मानिसहरू कहिल्यै बिर्सन सक्दैनन् ।

म अंग्रेजीमा संवाद गर्न राम्ररी नसक्ने त्यसमा पनि विदेशीले बोलेको उच्चारण झन् बुझ्नै गाह्रो । दोभाषेको भूमिकामा रहनुभयो अधिकारी । अग्लो साढे छ फिटको एक सय दश किलो जति तौल भएको बेलायती नागरिक वेन । बोेलेको पनि भित्तो थर्केला जस्तो आवाज तर अधिकारी अमेरिकी नागरिक बनिसक्नु भएको मानिस र जो ३२ वर्ष बसेर आएका कारण अंग्रेजी भाषामा संवाद गर्नु सामान्य थियो । कुराकानी सुरु भयो । वेन सन् १९४८ फेब्रुवरी ९ तारिकमा बेलायतको अल्वाल्टनमा जन्मिनु भएको हो । उहाँका पिताको नाम विलियम ब्ल्याक वेल र माताको नाम आइभी ब्ल्याक वेल ।

उहाँका एरिक दाजु र कालिन भाइ, उहाँ माइलो । उहाँ पेशाले भवन र पुलहरू बनाउने बिल्डर हुँनुहुँदो रहेछ । नेपालीमा भन्ने हो भने निर्माणकर्ता वा निर्माता तर नेपालमा यस्तो पद निर्माण व्यवसायमा पाइँदैन । बिल्डर भनेको के हो भनेर केही बेर मैले सोधखोज पनि गरेँ । ज्यामी, कुल्ली पनि होइन रे, इन्जिनियर पनि होइन रे र ठेकदार पनि होइन रे । यस्ता ठूला संरचना बनाउन बिल्डरको महत्वपूर्ण भूमिका हुनेरहेछ त्यहाँ । उहाँ आपूmलाई निर्माण व्यवसाय विज्ञ भन्न रुचाउनु हुन्छ ।

उहाँ नेपाल घुम्न आउनुभएको थियो सन् १९९१ को डिसेम्बरमा । विशेषगरी माउन्ट एभरेष्ट (सगरमाथा) हेर्न आउनुभएको थियो रे । त्यही बेला रामेछाप बाम्ती भण्डारकी सीता श्रेष्ठसँग छोटो समयकै भेटघाटमा मायाप्रेम भएछ उहाँको । सीता लज सञ्चालन गरेर बस्नुभएको रहेछ, लज व्यवसायी । उहाँ त्यही लजमा बास बस्न पुग्नुभएछ । सन् १९९३ डिसेम्बर ५ मा उहाँहरूले नेपालमै दर्ता विवाह (कोर्ट म्यारिज) गर्नुभयो । उहाँहरूको एकजना छोरा छन् जुनियर विलियम । छोरा अहिले बीस वर्षका भए र पढ्दै छन् ।

नेपाललाई राम्रो भन्दाभन्दै पनि उहाँ नेपालका नराम्रा पक्षलाई केलाउन पछि पर्नु हुन्न । उहाँको देश बेलायतमा एउटा उखान छ रे ‘तेल नहाली गाडी गुड्दैन’ भन्ने । उहाँ यो कुरा नेपालको सन्दर्भमा अझै बढी लागू हुने गरेको बताउनु हुन्छ ।

नेपाली आमाका पुत्र जुनियर विलियमलाई पिता वेनले उहाँको देशको परम्परा अनुसार १८ वर्ष पुगेपछि आत्मनिर्भर हुन बाध्य बनाउनुभएको छैन, आफैंसँगै राखेर पढाइरहनु भएको छ । उहाँका पुत्र फोटोग्राफी र भिडियोसन्बन्धी पढाइमा हुनुहुन्छ । विश्वका बीसवटा जति देश घुमेको बताउने वेन नेपालका आधाभन्दा बढी जिल्लामा पुगेको बताउनुभयो । उहाँले हाइस्कुल तहको पढाइ पूरा गरेपछि क्याम्पस पढ्न सुरु गर्नुभयो तर पढाइमा त्यति रुचि नभएका कारण उहाँ सेनामा भर्ना हुनुभयो ।

उहाँले विसं २०५८ सालमा रामेछापको बाम्ती भण्डारमा अर्थात् उहाँको ससुराली गाउँमा भत्केका र बाटो छेकेका पर्खालहरू पन्साउनु भयो । यसका लागि उहाँ आफैंले शारीरिक श्रम गर्नुभयो र आफ्नै विज्ञताको प्रयोग गर्नुभयो । बाम्तीमा आफ्नै खर्च र रेखदेख (सुपरीभिजन) मा विद्यालय भवन बनाइदिनुभयो । काठमाडौंमा जस्तापाता र जिरीमा सिमेन्ट किनेर त्यहाँसम्म पुर्‍याएर उहाँले उक्त विद्यालय भवन बनाइदिनुभएको थियो । यसैगरी चितवनको पर्यटकीय क्षेत्र सौराहामा ढल र बाटो व्यवस्थित हुन सकेको थिएन र पानीको पनि राम्रो व्यवस्था थिएन ।

पर्यटकीय स्थानका रूपमा सौरहा विकसित हुँदै गएका बेला वेनले २०६४/०६५ सालतिर त्यसलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । विशेषगरी ढल, बाटो र पानी आपूर्तिमा उहाँले गरेको काम त्यहाँका मानिसहरू कहिल्यै बिर्सन सक्दैनन् । उहाँ त्यहाँ जाँदा त्यहाँका बासिन्दा र व्यवसायीले उहाँलाई ज्यादै ठूलो सम्मान गरेको र खान बस्नका लागि पैसा नलिएको देखेको कुरा उहाँसँगै सौराहा जानुभएका दुर्गा अधिकारी भमरकोटे आपूm प्रत्यक्षदर्शी रहेको बताउनुहुन्छ । वेनले ७२ फिट गहिरो इनार खनेर र ट्युबवेलहरू आफ्नै खर्चमा वितरण गरेर त्यहाँ सेवा पु¥याउनु भएको रहेछ । त्यसैगरी शौचालयहरूको निर्माणमा पनि उहाँले त्यहाँ योगदान पुर्‍याउनु भएकोे थियो ।

उहाँले नेपालभरि ८२ वटा र अरू देशमा समेत गरी १२७ जना सिकर्मी डकर्मीहरूका लागि आफ्नै खर्चमा टुलबक्स वितरण गर्नुभयो । उनीहरूका सरसामानहरू व्यवस्थित हुन नसकेको, छरपष्ट भएको र खोजेको बेलामा नपाइने गरेका कारण उहाँले उनीहरूका लागि यसरी टुलबक्स वितरण गर्नुभएको हो । उहाँले बाम्ती भण्डारको स्वास्थ्यचौकीको मर्मतसम्भार आफ्नै खर्चमा गरिदिनुभयो । यसैगरी उहाँले काठमाडौंको कपन क्षेत्रमा फोहोरमैला संकलनका लागि रिक्साको व्यवस्था गरिदिनुभयो । उहाँले यस्तो कार्यको थालनी चितवनमा पनि गर्नुभएको छ । त्यहाँ उहाँले यो त नमुना देखाउनुभएको हो रे जुन अव्यवस्थित रूपमा जथाभावी रहने गरेको हात्तीको थासो (दिसा) लाई व्यवस्थित गर्न सहयोगी सिद्ध हुने उद्देश्यले यसो गर्नुभएको हो ।

उहाँले काठमाडौंको सुन्दरीजलस्थित एउटा विद्यालयका बालबालिकाहरूलाई सुरक्षित गर्न रेलिङ बनाइदिनुभयो । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पपछि उहाँले आफ्नै देश बेलायतको लण्डनमा पैसा संकलन गरी नेपालमा नेपाली एक लाख रुपैयाँबराबरको सहयोग गर्नुभयो । उहाँले यो पैसा बाम्तीको स्वस्थ्यचौकी र बर्दियाका विद्यालयलाई दिनुभयो । शौचालय बनाउन व्यक्तिगत रूपमै सहयोग गर्नुभयो ।

उहाँ सिटी काउन्सिल अल्वाल्टनमाको सदस्य हुनुहुन्छ । यही काउन्सिलमार्फत उहाँले बेलायतको एउटा संस्था ब्रिटिश लिजनको सहयोगमा ५० हजार स्टर्निङ पाउन्ड भूपू गोरखा सैनिक संघमार्फत उपलब्ध गराउनुभएको थियो । यसका साथै काभ्रेको पाँचखाल नगरपालिकामा पर्ने भमरकोट गाउँको भमरकोट मन्दिर निर्माण गर्दा आर्थिक सहयोगका साथै निर्माणमा समेत योगदान गर्नुभयो । यसका लागि उहाँ पटक-पटक गरी तीनपटक त्यहाँ जानुभयो । रोटरी क्लब अफ नेपालमा सात वर्षसम्म रहेर उहाँले योगदान गर्नुभयो । यसका साथै उहाँले आफ्नो स्थानीय जिल्लाबाट ४० हजार पाउण्ड संकलनको मध्यस्थता गरी दोलखा जिल्लामा पठाउनु भएको थियो । उहाँ पर्वतारोहीहरूको पदप्रदर्शक पनि हुनुहुन्थ्यो र सेवामा छँदा सुरुङ खन्ने विज्ञका रूपमा समेत संलग्न हुनुभयो ।

उहाँ म नयाँ कामको खोजीमा छु भन्नुहुन्छ । दिमागमा भएका योजनाहरू अरूलाई अहिले सुनाउन चाहनुहुन्न । यसो गर्दा आफ्ना योजनाहरूबाट अरूले नै फाइदा लिन सक्छन् भन्ने उहाँलाई लागेको छ । त्यसयता भने उहाँ आफ्नै पुराना कामलाई नै निरन्तरता दिने सोचमा हुनुहुन्छ । कसैका पुराना र बढी भएका सरसामन लिनुहुन्छ र खाँचो पर्नेलाई दिनुहुन्छ । उहाँले २७ वर्ष सेवा गरेबापत टेरिटोरियल आर्मीबाट प्रशंसापत्र पाउनु भएको छ । यो एक वर्षमा चारजनालाई मात्र दिइने प्रशंसापत्र हो ।

उहाँले स्वदेश तथा विदेशमा अनेकौं सेवा पुर्‍याउनुभयो । जीवनका २३ वर्षसम्म यस्ता सेवाहरू पु¥याएका कारण उहाँले लर्ड लुटेनेन्ट नामक संस्थाबाट पनि प्रशंसापत्र पाउनुभयो । नेपालमा उहाँले स्वतर्मु प्रावि बाम्तीबाट प्रशंसापत्र पाउनु भएको छ । उहाँलाई जीवनका त्यस्ता कुनै अविस्मरणीय क्षणका बारे मैले प्रश्न गरेँ । उहाँ आफ्नै देश बेलायतमा ढलको काम गर्दागर्दै त्यहाँ फसेको र आफूले उद्धार गर्न खोज्दा नसकेर साथीको मृत्यु भएको घटना जहिल्यै पनि स्मरणमा आइरहने बताउनु हुन्छ र त्यस उद्धार कार्यको प्रयास गर्दा आफ्नो देब्रे पाखुरो भाँचिएको समेत सम्झना गर्नुहुन्छ उहाँ ।

उहाँको संस्मरणमा अर्को घटना पनि छ । २०७२ सालको महाभूकम्पमा उहाँ नेपालमै हुनुहुन्थ्यो । भुइँचालो गयो र एकाएक जमिन लुगलुग काम्यो । उहाँले भुइँचालाको यस्तो अनुभव यसभन्दा पहिले गर्नुभएको थिएन । यस घटनालाई पनि उहाँ एउटा अविष्मरणीय क्षण भन्नुहुन्छ । अहिले किन नेपाल आउनुभएको हो भनेर सोधेको प्रश्नको जबाफमा उहाँ नेपाललाई माया गर्ने मानिस भएका कारण नेपाल आउजाउ गरिरहन्छु र अहिले पनि खासै कारण नभए पनि आएको हुँ भन्नुहुन्छ ।

उहाँ आफ्नो पारिवारिक अवस्था चाहिँ वर्किङ क्लास हो भन्नुहुन्छ । नेपालीहरूको जस्तो स्तर उच्च, मध्यम, निम्न भन्न चाहनुहुन्न । वर्किङ क्लास भन्नाले नेपालको निम्न र निम्नमध्यम श्रमजीवी वर्ग समान हुनसक्छ । उहाँ अहिले जागिर र गर्दै आउनु भएका कामबाट सेवानिवृत्त हुनुहुन्छ । विभिन्न सामाजिक संघसंस्थामा समाजसेवी (भोलिन्टियर) काम गर्दै आउनु भएको छ । उहाँले आफ्नो कार्यअनुभव र भ्रमणलाई लिएर पुस्तकहरू लेख्नुभएको छैन तर लेखहरू भने लेख्नुभएको छ । सेनामा कार्यरत छँदा उहाँले जर्मनी र साइप्रसमा रहेर सेनाको चालकको जिम्मेवारी पूरा गर्नुभएको छ । उहाँलाई नेपालको प्रकृति भूबनोटदेखि सबै कुरा मन पर्छ, नेपालीहरूको आत्मीयता र निष्कपटपन उहाँलाई असाध्यै मन पर्छ ।

यतिभन्दा भन्दै पनि उहाँ नेपालका नराम्रा पक्षलाई केलाउन पनि पछि पर्नुहुन्न । उहाँ नलुकाइकन आफ्नो विचार व्यक्त गर्नुहुन्छ । उहाँको देश बेलायतमा एउटा उखान छ रे ‘तेल नहाली गाडी गुड्दैन’ भन्ने । उहाँ यो कुरा नेपालको सन्दर्भमा अझै बढी लागू हुने गरेको बताउनुहुन्छ । यहाँ भ्रष्टाचार र घुसखोरीले असाध्यै दह्रो गरी जरा गाडेर बसेको छ, पैसाविना कुनै काम गराउँनै सकिँदैन भन्नुहुन्छ । उहाँ आपूmसँग पनि यस्ता केही अनुभवहरू छन् भन्नुहुन्छ । उहाँले यस्तै अनेकौं घटना सुनाउनुभयो तर नलेख्ने शर्तमा । पत्रकारिताको धर्मानुसार मैले पनि लेख्दिन भनेर (रेकर्ड अफ) उक्त धर्म पालन गरेर उहाँलाई विश्वस्त गराएँ र सोही शर्तअनुसार उहाँका त्यस्ता अनुभवलाई उहाँ उल्लेख गर्न चाहिँन ।

उहाँले नेपालको रोटरी क्लबमा सात वर्ष र सेल्फकेयर संस्थामा रहेर पनि काम गर्नुभयो । उहाँ नेसनल गार्ड हुनुहुन्थ्यो । निर्माणका कामहरू सँगसँगै गर्दै जानुभयो । नेसनल गार्ड पार्टटाइम काम थियो । ढलनिर्माण, बाटामा कंक्रिट राख्ने काम आदि लगायत उहाँले नौवटा ठूला बिल्डिङ बनाउनुभयो । उहाँले भवनहरूमा डेकोरेसन (रङ्गरोगन सजावट आदि) सयौं काम गर्नुभयो । यसका साथै प्लम्मिङ, किचेन, बाथरुमलगायत निर्माणका काम गर्नुभएको छ । यस्ता समाजसेवी काम चाहिँ उहाँ आत्मसन्तुष्टि वा स्वान्तसुखायका लागि गरेको बताउनु हुन्छ ।

पश्चिमा देशका नागरिकहरू काममा बढी समर्पित हुन्छन् । त्यसैले उनीहरूले धेरै उन्नति गर्न सकेको हो कि अनि नेपालीहरू पछि पर्नुमा चाहिँ आफ्नो कामप्रतिको जिम्मेवारीमा कमी भएकाले हो कि भन्ने जिज्ञासामा उहाँ नागरिकहरूलाई सक्रिय बनाउनमा सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुहुन्छ । यहाँको सरकारले नागरिकहरूलाई सक्रिय राख्न र उत्तरदायी बनाउन पनि नसकेको हो कि जस्तो उहाँलाई लाग्छ । सरकार सबै ठाउँको एकै हो । निजी क्षेत्रको प्रयासबाट बेलायत अगाडि आएको हो तर नेपालमा भने सरकार र जनतासमेत भ्रष्टाचारको मानसिकतामा रहेको उहाँको बुझाइ छ ।

राजनीतिमा विश्वका सबै देशमा केही न केही समस्या देख्नुभएको छ उहाँले । युवाहरू यसका लागि लाग्नु भनेको युवाहरू राजनीतिमा लाग्नुपर्ने आवश्यकता हो । राजनीतिक परिवर्तनको निर्णायक शक्ति भएका कारण युवाहरूको राजनीतिमा संलग्नता उहाँ आवश्यक देख्नुहुन्छ ।

देशको विकास हुन राजनीतिमा सुधार हुनुपर्छ । राजनीतिज्ञहरूले प्रतिबद्धता जनाएका कुरा पूरा गर्नुपर्छ र यसका लागि जनताले मिहिनेत गरेर काम गर्नुपर्छ भन्नुहुन्छ वेन । उहाँको हरेक स्तर र तहका काम गर्न जनता पनि इमानदार हुनुपर्छ भन्ने सुझाव छ । उहाँ राजनीतिज्ञलाई मात्र दोष लगाउनु हुँदैन भन्नुहुन्छ । वेन उमेरले ७५ वर्षको हुनुभयो तर उहाँमा अझै केही गर्ने चाहना छ । त्यसैले त नयाँ कामको खोजीमा छु भन्नुहुन्छ नि । आफूबाट त्यस्तो कुनै पश्चाताप हुने काम भएको छैन भन्नुहुन्छ उहाँ । त्यसभन्दा पनि उहाँ रमाइलो पाराले आफूबाट त्यस्तो कुनै काम भएकै भए पनि त्यसलाई अब मेटाउन वा सुधार्न नसकिने भएकाले जे भयो भयो भन्नुपर्ने हुन्छ, पश्चताप गर्नु हुँदैन भन्नुहुन्छ ।

आफू जीवनको उत्तरार्धतिर भएका कारण हाँसी खुशी जीवन बिताउने चाहना छ उहाँको । हालको विश्वसंरचना नै परिवर्तन गर्नुपर्ने खालको छ भन्नुहुन्छ उहाँ । त्यसैले उहाँ युवाहरू यसका लागि लाग्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ । राजनीतिमा विश्वका सबै देशमा केही न केही समस्या देख्नुभएको छ उहाँले । युवाहरू यसका लागि लाग्नुभनेको युवाहरू राजनीतिमा लाग्नुपर्ने आवश्यकता हो । राजनीतिक परिवर्तनको निर्णायक शक्ति भएका कारण युवाहरूको राजनीतिमा संलग्नता उहाँ आवश्यक देख्नुहुन्छ । अहिले संसारभरि नै पश्चिमा प्रभाव बढिरहेको छ । नेपालमा पनि तीव्र रूपमा यस्तै भइरहेको छ यसबाट हाम्रो मौलिकपन गुम्दै गएको छ । धर्म, शिक्षा, भाषा, भेष, संस्कार संस्कृतिलगायत विभिन्न कुरा यसबाट प्रभावित बन्दै गइरहेका छन् । यसबारे उहाँको प्रतिक्रिया लिन चाहँदा उहाँले छोटो उत्तर दिँदै ‘अरूका राम्रा कुरा चाहिँ लिनुपर्छ तर नेपालीले नेपालका मौलिकतालाई छोड्नु हुँदैन’ भन्नुभयो ।

उहाँको एउटा आफ्नो सरोकारको विषय रहेछ नेपालको नागरिकता विधेयक । यो विधेयक छिटो पारित भइदिए हुन्थ्यो भन्ने उहाँलाई लागेको रहेछ । उहाँकी श्रीमती सीता श्रेष्ठसँग पनि नेपालको नागरिकता छैन । यो नयाँ विधेयक पारित हुने हो भने उहाँका लागि यो बाटो सहज हुनेथियो भन्ने वेनलाई लागेको छ । यसका लागि उहाँ एक पटक नेपालको गृहमन्त्रीलाई भेट्न चाहनुहुन्छ । गृहमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्न पाए हुन्थ्यो भन्ने उहाँको चाहना छ । उहाँको नेपालप्रतिको लगाव, उहाँले गरेको सेवा, समर्पण अनि हामीलाई दिएका सुझावका लागि उहाँलाई धेरै धेरै धन्यवाद । यसका साथै उहाँका चाहना पूरा हुऊन् हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?