नेपाली राजनीति र वाराणसीका पण्डा

प्रा. देवीभक्त ढकाल
Read Time = 20 mins

नेपालको राजनीतिक इतिहासलाई केलाउँदा जिम्मेवारीमा हँुदा आर्थिक दुरुपयोग नगर्ने राजनेताहरू अहिले हातको औंलामा गन्न सकिने होलान् । हामीले अहिलेसम्म स्वच्छ भन्ने गरेका नेताहरूको जीवनशैली र कार्यशैलीलाई सूक्ष्म अवलोकन गर्दा स्वच्छ कोही भेटिन्न । स्वच्छ छु भन्न सजिलो छ तर व्यवहारबाट प्रमाणित गर्न सजिलो छैन । स्वच्छताको मापदण्डलाई पूरा गर्ने चरित्रको नेता पाउने विषय अत्यन्तै दुर्लभ भयो । वर्तमानमा यो काल्पनिक विषयभन्दा पनि अत्युक्ति नहोला । भ्रष्टाचारको सूक्ष्म अध्ययन गर्ने हो भने जिम्मेवारीमा रहेर भ्रष्टाचार नगर्ने व्यक्ति एकमुखे रुद्राक्ष जस्तै दुर्लभ भए । भ्रष्टाचारको अन्त्य गर्ने र देशमा सुशासन कायम गर्ने सबै पार्टीहरूको साझा नारा सधैं आउँछ ।

भ्रष्टाचारबाट आक्रान्त र सुशासनको व्यग्र पर्खाइमा रहेको नेपाली समाजमा नामुद भ्रष्टले पनि भ्रष्टाचारको छानविन गर्छु र देशमा सुशासन कायम गर्छु भन्यो भने हामी पत्याउँछौँ । यसको एकमात्र कारण हो भ्रष्टाचार नियन्त्रण, सुशासन बहालीको हामीमा अत्यन्तै ठूलो आशा र भोक छ । त्यसको एकमात्र कारण हो अप्राप्य वस्तुप्रतिको आकर्षण । भ्रष्टाचारमुक्त प्रशासन जहाँ सुशासन बहाली हुन्छ त्यो अवस्था र व्यवस्था नेपालीहरूका लागि आजका मितिसम्म कल्पनामै सीमित छ । भ्रष्टाचारको अन्त्यको जबर्जस्त नारा दिने पार्टी व्यवस्थामा जिम्मेवारीमा हुँदा छोटो समयमा भ्रष्टाचारबाट अकूत सम्पत्ति जम्मा गर्ने उदाहरणीय व्यक्तिहरू थुप्रै भेटिए । बहुलवाद अहिलेसम्मको प्रयोगबाट संसारकै सर्वोत्कृष्ट व्यवस्था मानिन्छ ।

पुराना दलले विश्वास गुमाएको अवस्थामा आएका नयाँ दलहरूको नेतृत्व पनि विश्वसनीय हुन सकेन । नयाँ पार्टीहरूप्रतिको विश्वासलाई रवि लामिछानेको नागरिकता र पासपोर्ट प्रकरणले निराशाबाहेक आशाको बीजारोपण गर्न नसक्नु नेपाली जनताको दुर्भाग्य हो ।

यसको एकमात्र शर्त हो इमानदार र नैतिकवान राजनीति कर्मी । हाम्रा राजनीति कर्मीहरू जो जिम्मेवारीमा छन् सबै भ्रष्ट र बेइमान हुँदा बहुदलीय व्यवस्थाकै बदनाम गरे । भ्रष्ट र बेइमानहरूले बहुदलीय व्यवस्थालाई भ्रष्ट र पक्षपाती व्यवस्था बनाए । किनभने पार्टीको सदस्य पार्टीको पक्षमा र आफ्ना कार्यकर्ताको पक्षमा काम गर्न संकल्पित हुँदा उसको व्यवहारमा पक्षपात स्वतः देखियो । पक्षपात आफैंमा भ्रष्टाचार हो । पार्टी व्यवस्थामा नेतृत्व इमानदार नहँुदा देश र जनताको पक्षमा होइन आफू, पार्टी र पार्टीका आफ्ना कार्यकर्ताका पक्षमा मात्रै काम गर्छन् । परिणामस्वरूप यिनीहरू सबै भ्रष्ट र बेइमान हुँदा अहिले पार्टी व्यवस्था नै भ्रष्ट व्यवस्था हो भन्ने गलत सन्देश गएको छ ।

नेपाली राजनीतिककर्मीहरू सबैले परिवार र नातागोता, इष्टमित्र, चिनजानको पक्षमा काम गर्न किंचित अप्ठ्यारो नमान्दा यसले के प्रमाणित भएको छ भने राजनीति कर्मीमा भ्रष्टाचारका गुणहरू स्वतः अन्तरनिहित हुन्छन् । उसले आफ्नो र आफ्नाको हितमा काम गर्नु नै कर्तव्य सम्झन्छ भने उसबाट हुने व्यवहार, आचरण र निर्णय पक्षपाती हुने विषय स्वाभाविक हुन्छ ? पार्टी व्यवस्थामा व्यक्ति पार्टीको तर्फबाट सत्तामा पुग्छ । उसले पार्टी र पार्टीका कार्यकर्ताप्रति गर्ने व्यवहार स्वतः पक्षपातपूर्ण गर्छ । हाम्रो दुर्भाग्य पार्टी व्यवस्थामा कार्यरत व्यक्ति इमानदार र नैतिकवान नहुँदा पार्टी व्यवस्थालाई नै यिनीहरूले भ्रष्ट व्यवस्था बनाए । यो विषय सबै पार्टीका राजनीति कर्मीहरूको आचरण, कार्यशैली, जीवनशैली र व्यवहारबाटै प्रमाणित विषय हुन् ।

सरुवा, बढुवा, नियुक्ति आदिमा पार्टीका कुनै पनि व्यक्ति निष्पक्ष, तटस्थ, स्वच्छ र इमानदार हुने क्षमता र योग्यता नै नहुँदा अब देशमा भ्रष्टाचार नभएर के हुन्छ ? न्यायाधीश, राजदूत जस्ता प्रतिष्ठित पदहरूको नियुक्तिमा समेत आर्थिक लेनदेन गर्ने राजनीतिक नेतृत्वको छहारीमा बहुदलीय व्यवस्था कसरी स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त हुन्छ ? प्रतिष्ठालाई धनसँग विनिमय गर्न किंचित लज्जा नमान्ने राजनीतिक नेतृत्वबाट सुशासन होइन सधैं भ्रष्टाचार मौलाउँछ । त्यसैले दिनप्रतिदिन भ्रष्टाचार र कुशासनले देश आक्रान्त छ ।

पुराना दलहरूले विश्वास गुमाएको अवस्थामा आएका नयाँ दलहरूको नेतृत्व पनि विश्वसनीय हुन सकेन । नयाँ पार्टीहरूप्रतिको विश्वासलाई रवि लामिछानेको नागरिकता र पासपोर्ट प्रकरणले निराशाबाहेक आशाको बीजारोपण गर्न नसक्नु नेपाली जनताको दुर्भाग्य हो । सबै पार्टीका नेताहरूमा देखिएको चरम सत्तामोहले अन्ततः सबैमा चारित्रिक समानता देखिँदैछ । लाग्छ सबै दलका नेताहरूको अन्तिम गन्तव्य भ्रष्टाचार नै हो ।

भ्रष्टाचार नेपाली जनताको नियति र राजनेताहरूको स्थायी पहिचान किन बन्यो ? आर्थिक लेनदेन, नाता, चिनजान, आफन्त र पार्टीको आधारमा व्यक्तिको इमानदारी, तटस्थता, निष्पक्षता र स्वच्छतामा जहाँ प्रश्नचिहृन लाग्छ त्यहाँ निःशन्देह भ्रष्टाचार र कुशासनको बिगबिगी हुन्छ । सरकारका साधनस्रोतको दुरुपयोग साथै व्यक्तिमा भएको स्वाभिमान, तटस्थता, निष्पक्षता, स्वच्छता र इमानदारीको लिलामी हो भ्रष्टाचार । आफ्नो पार्टीको वा चिनेको कार्यकर्तालाई भेट्ने, उसका कुरा सुन्ने तर नचिनेका वा अन्य पार्टीका कार्यकर्तालाई नभेट्ने हाम्रो आमचरित्रको कोणबाट पनि भ्रष्टाचारको मापन किन नहुने ? राज्यको जिम्मेवारीमा हुँदा आफ्नो र पराइ भन्ने नै हुँदैन । त्यो हुनु भ्रष्टाचार हो ।

यस कोणबाट पनि शक्तिमा रहेका नेताहरूको भ्रष्ट चरित्रलाई मूल्यांकन गर्न सकिन्छ । आर्थिक घोटाला र विधिको बेथितिलाई मात्रै भ्रष्टाचार ठान्ने हाम्रो दृष्टिकोणलाई बदल्नुपर्छ । भ्रष्टाचारलाई गहिरिएर हेर्ने र तद्अनुरूपको व्यवहार गर्ने संस्कार र संस्कृति विकसित नगरिकन भ्रष्टाचारबाट देश मुक्त हँुदैन । राज्यको बजेटको परिचालनको विषयवस्तुसँग भ्रष्टाचार विशेषतः अन्तरसम्बन्धित छ । बजेटका खर्चका प्रक्रियाको अध्ययन र विश्लेषणबाट भ्रष्टाचार छर्लंग देखिन्छ । जहाँ अर्थ त्यहाँ अनर्थको रोगबाट देश ग्रसित छ । देशमा नेताहरूको मुख्य प्राथमिकता आर्थिक भ्रष्टाचार भएकाले आर्थिक क्षेत्रमा हुने अनियमितताका कारण जिम्मेवारीमा रहनेहरू सबै बद्नाम छन् ।

बजेट बनाउने जस्तो संवेदनशील काममा अर्थमन्त्रीले व्यापारीका प्रतिनिधिहरूको निर्देशन र रोहबरमा बजेटको खाका बनाउँछन् भने त्यस्तो देशमा आर्थिक क्षेत्रको अनियमितताको लेखाजोखा, मूल्यांकन र विश्लेषणको काम सजिलो छैन । आर्थिक अनुशासनहीनको यो चरणमा देश पुग्नु भनेको अब सुधार चानचुने उपायबाट सम्भव हुँदैन भन्ने निष्कर्षमा पुग्नु हो । समग्रमा भन्नुपर्दा अहिले भ्रष्टाचारबाट मुक्त चरित्र भएको नेताको प्राप्ति अत्यन्तै दुर्लभ विषय भन्नुपर्छ । आफैं भ्रष्टाचार गर्ने र भ्रष्टाचारको चर्को विरोधको आधारमा सत्तामा पुग्ने अनि पुनः भ्रष्टाचार गर्ने प्रवृत्तिको सिकार अहिले देश भएको छ ।

भ्रष्टाचारीहरूको सत्तारोहण हुने लोकप्रिय शब्द ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ बनेको छ । सत्तारुढ हुनु भनेको नै भ्रष्टाचारको पर्यायवाची बनेको अवस्थामा जनताले कुन नेतालाई विश्वास गर्ने ? म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने चुनावी नारालाई सिंहदरबारलगायत सरकारका कार्यालयहरूमा जताततै टाङ्नेहरू सत्तारुढ भएपछि आफैं भ्रष्टाचारमा लिप्त हुने संस्कार र संस्कृतिको अन्त्य वर्तमान अवस्थामा कसरी खोज्ने ? बोक्सी र धामी एउटै रोग निको कसरी हुन्छ ? राजनीतिमा सदाचार, नैतिकता, इमानदारी, स्वच्छता र निष्पक्षताको कहालिलाग्दो खडेरी इतिहासमा यसअघि कहिल्यै नभएको हुनुपर्छ ।

नेपाली राजनीति भ्रष्टाचार र कुशासनको बिगबिगीबाट आतंकित छ । नेपालीहरू राजनीतिमा मात्रै होइन तीर्थाटनमा समेत आतंकको सामना गर्नुपर्ने अवस्थामा छन् । हाम्रो देश बाहिरका तीर्थस्थलहरू भारतमै पर्छन् । भारतको तीर्थाटन भनेको रेल यात्राबाट सुरु हुन्छ । रेल्वेको स्टेसनमा प्रवेश गर्नु भनेको टिकट खरिदको आतंकबाट कुल्ली आतंकमा प्रवेश गर्नु हो । रेलमा बसेपछि सामानहरू बेच्नेहरूको आतंक । जाडोमा जाडोबाट बच्न वातानुकूलित रेल्वेको टिकट काटेकोमा तातो हवाको सट्टा चिसो हवा दिएर जाडो आतंक मच्चायो । चढ्ने र ओर्लने बेलामा सहयात्रीहरूको ठेलमठेल आतंकसँगै पकेटमारहरूको आतंक ।

रेल्वेबाट ओर्लेपछि पुनः कुल्ली, रिक्सा, टेम्पो, ट्याक्सी साथै होटल व्यवसायीहरूको आतंक । मन्दिरमा गयो मन्दिरका वरिपरि फूल, प्रसाद र मोबाइलका लकरवालाहरूको आतंक । त्यो छिचोल्दै गर्दा मन्दिर वरपर बस्ने दलाल पण्डाहरूको आतंक । दर्शनका लागि लाइन लाग्यो ठेलम्ठेलको सुरुवात । गर्भगृह नजिकै पुग्दानपुग्दै प्रहरी र पुजारीहरूको छिटोछिटो र चर्को धकेलाधकेल साथै ठेलमठेल आतंक । देवतालाई हातसम्म जोड्ने समयबाट वञ्चित हुँदा दिग्दारीको अनुभव संग्रह हुन्छ ।

नदीहरूमा र महासागरमा स्नान गर्न गयो तीर्थश्राद्ध गराउने पण्डाहरूको आतंक । बाल, वृद्ध, अपांगदेखि सांगसमेतका भिखारीहरूको पाइलैपिच्छे यत्रतत्र सर्वत्र आतंक सहनुपर्छ । भारत जस्तो उन्नत देशले भिखारीहरूको व्यवस्थापन नगर्दा लाग्छ भारतको आर्थिक प्रगतिलाई उनीहरूले गिज्याइरहेका छन् । भारत तीर्थाटनमा जानु भनेको पैसा बाढ्न जानु हो । जताततै पैसा बाढ्दै गर्दा आफैं रित्तै भएको अत्तोपत्तो नै नहुने अवस्थाले तीर्थाटनप्रतिको श्रद्धा र मोह नै भंग हुन्छ । बास बस्ने बेला भयो होटलबालाहरूको ठगी धन्दा आतंक हुन्छ ।
नेपाली भनेपछि होटल मालिकले चलनचल्तीमा नै नभएको शुल्क आतंक मच्चाउँछ । राति १० बजे बुक गरेको होटलमा बिहान ८ बजे नै चेक आउट समय निर्धारणका कारण ठगिएको अनुभूतिले तीर्थाटनलाई नै खल्लो बनाउने प्रपञ्चको सिकार नेपाली तीर्थयात्रीहरू हुन्छन् । ठग्ने विविध तरिकाको अनुभव र जानकारीको सँगालोसमेत हुन्छ हामी नेपालीहरूको लागि भारतीय तीर्थस्थलहरूको यात्रा ।

यस्ता तमाम आतंक र अप्ठ्यारालाई सामना गर्दै बंगाल, उडिसा र झारखण्डको यात्रापछि हामी तीर्थयात्रीको रूपमा हिन्दूहरूको धार्मिक राजधानी उत्तर प्रदेशको वाराणसीमा पुग्यौँ । वाराणसीको भदैनीस्थित मारबाडी सेवा संघमा बासको व्यवस्था वाराणसी हिन्दू विश्वविद्यालयका संस्कृत विभागका प्राध्यापक डा.देवर्षिशरण ढकालद्वारा भएकाले त्यहाँ खान र बस्न राम्रो व्यवस्था भयो । भारतको त्यो एकमात्र ठाउँ हो जहाँ ठगिएको अनुभूति भएन ।

अनिकालको बिउ भए पनि नेपालमा भ्रष्टाचारको संसर्गबाट मुक्त नेताको उदय भए देशमा सुशासन बहाली हुनेथियो । तीर्थयात्रीहरूको सधैं लुटिने खुशीलाई पुनर्बहाली गर्ने वाराणसको तिवारी पण्डा जस्तै लोभमुक्त एउटा योग्य राजनीतिज्ञ यो देशले कहिले पाउला ?

तीर्थाटन आनन्दभन्दा पीडादायी हुँदै गरेको अवस्थामा हामीसँग अस्सीघाटमा भिन्न चरित्रका तिवारी थरका पण्डा भेटिए । अस्सीघाटको स्नानघाटमा दुईवटा खाट राखेर बसेका पण्डासँग भेट भयो । उनले तीर्थश्राद्ध गर्नुहुन्छ भनेर सोधे ? हामीले यहाँ दानमा पनि मोलमोलाई हुन्छ भन्दै गर्दा उनले भने दान श्रद्धाले हुन्छ । मोलमोलाई विकृति हो भने । हामी त्यहाँ स्नान गरेर मणिकर्णिका घाटमा श्राद्ध गर्न जाने मनस्थितिमा थियौँ । तिवारी पण्डाको आकृति र व्यवहारले अब श्राद्ध अस्सीघाटमा गर्ने निधो भयो ।

उनकै खटियाको छेउमा लुगा राख्यौँ । पैसालगायतका वस्तुहरूलाई उनकै जिम्मा लगाएर हामीले अस्सीघाटमा स्नान ग¥यौँ । स्नानपछि श्राद्धका लागि आवश्यक सामग्रीको जोडजाम भयो । विधिपूर्वक तीर्थश्राद्ध सम्पन्न भयो । आफ्नो इच्छानुसार दक्षिणा दियौँ । खुशीसाथ दक्षिणालाई पण्डाले नहेरकन खल्तीमा राख्नु अर्को आश्चर्य भयो । उनले त्यो दक्षिणा प्राप्त गरेपछि भन्दैथिए छोरीलाई संस्कृत पढाउने ध्येयले संस्कृत महाविद्यालयमा भर्ना गरेको छु ।

प्राप्त दक्षिणाबाट आधा महाविद्यालयलाई छुट्याउँछु र बाँकी आधाबाट आफ्नो खर्च टार्छु भनेपछि उनीप्रतिको श्रद्धा झन् बढ्यो । वाराणसीको पण्डा आतंकबाट सबै प्रताडित हुनपर्ने अवस्थामा यस्तो उदार र दानको भोकशून्य पण्डा पाउँदा आनन्दानुभूति भयो । वाराणसीका मोलमोलाई गर्ने पण्डाहरूका बीचमा अपवादकै रूपमा भने पनि यिनीसँगको भेट अपूर्व रहृयो ।

वाराणसका तिवारी थरका पण्डा जस्तै अनिकालको बिउ भए पनि नेपालमा भ्रष्टाचारको संसर्गबाट मुक्त नेताको उदय भए देशमा सुशासन बहाली हुनेथियो । तीर्थयात्रीहरूको सधैँ लुटिने खुसीलाई पुनर्बहाली गर्ने वाराणसीको तिवारी पण्डा जस्तै लोभमुक्त एउटा योग्य राजनीतिज्ञ यो देशले कहिले पाउला ? नेपालमा भ्रष्टाचार नगर्ने नेता र वाराणसमा मोलमोलाई नगर्ने पण्डा अप्राप्य र दुर्लभ वस्तु बनेका छन् । दुवै अवस्थाको अन्त्य कहिले ? नेपालमा भ्रष्टाचार नगर्ने नेता र वाराणसीमा दानमा मोलमोलाई नगर्ने पण्डा नेपाली जनताको चासो चिन्ता र पीडाको विषय अनन्त कालसम्म नबनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 Comment
  1. त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्रा डा तीर्थ खनिया ज्यूको अभिव्यक्ति
    Congratulations. I am happy to note that your pen is sharpened enough to make you express what you have in your mind.

  2. वाराणसीका तिवारी जस्ता पण्डा याहाँ पनि भेटिन्छन तर त्यस्ता पण्डाहरु यथेष्ठ खर्च गरेर घाटमा पुग्नै सक्दैनन् अनि कसरी यजमानकाे मन जित्न सकुन !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?