टर्की । टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा आएका छन् ।
भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ ।
‘अहिलेसम्म गाजियन्टेपबाट ३ जना नेपाली महिला र ५ जना विद्यार्थी हाम्रो सम्पर्कमा आउनु भएको छ’, एनआरएनए टर्कीका महासचिव बिनोद पौडेलले भन्नुभयाे, ‘उहाँहरु सबै सकुशल र सुरक्षित हुनुहुन्छ ।
त्यो ठाउँबाट थप नेपाली भने सम्पर्कमा नआएको उहाँले बताउनुभयाे ।
एनआरएनएको सम्पर्कमा आएका ती ८ जना नेपाली अहिले स्थानीय सरकारले व्यवस्था गरेको सेल्टरमा छन् । ‘अघि बिहान पनि मसँग कुरा भएको थियो । उहाँहरु पूर्ण रुपमा सुरिक्षत हुनुहुन्छ,’ उहाँले भन्नुभयाे । सेल्टरमा रहेकाहरुलाई खानालगायत सबै आवश्यक व्यवस्था सरकारले नै गरेको छ। टर्कीमा विपद तथा जोखिम व्यवस्थापनका लागि आपत्तकालीन राहत उद्धार समिति छ । उक्त समितिले राहत र उद्धारको काम गरिरहेको छ । रेडक्रसलगायतका परोपकारी संस्थाहरुले पनि राहत र उद्धारमा समन्वय गरिरहेका छन् ।
महासचिव पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अरू क्षेत्रका उद्धारकर्मी पनि पुगेका छन् ।
‘यहाँ प्रत्येक नगरपालिकमा पनि ‘रेस्क्यू टीम’ बनाइएको हुन्छ । भूकम्पले क्षत्ति पुर्याइएको ठाउँहरूमा अन्य नगरपालिकाले आफ्नो टीम परिचालन गरेर उद्धार र राहत वितरणको काम गरिरहेको छ । अन्य नगरपालिकाहरुले लत्ता-कपडा, खानाहरू पठाएको छ,’ उहाँले भन्नुभयाे ।
टर्कीमा अहिले झण्डै २ हजारभन्दा धेरै नेपाली रहेको एनआरएनएको अनुमान छ । इस्तानबुल, अकांरा, इज्मिर, अन्टालिया, बोर्डुमलगायतका शहरमा नेपालीहरु बढी छन् । भूकम्पले इपिसेन्टर बनाएको गाजियन्टेपमा भने नेपालीको संख्या न्यून छ । कोभिड महामारीअघि टर्कीमा नेपालीको संख्या ४ हजारभन्दा बढी थियो । तर, महामारीका कारण श्रम बजार बिग्रिएपछि टर्कीमा नेपालीको संख्या आधा घटेको महासचिव पौडेलको भनाइ छ । कोभिडले रोजगारी गुमाएपछि कतिपय नेपाली स्वदेश फर्किएका थिए भने केही त्यतैबाट युरोपतिर लागेका थिए ।
भूकम्पबाट कोही नेपाली समस्या परेको भएमा आफूहरुको सम्पर्कमा आउन एनआरएनए टर्कीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेको छ । ‘सामाजिक सञ्जालमार्फत समन्वय गरिरहेका छौँ । अहिलेसम्म नेपालीलाई त्यस्तो दुःखद घटना भएको भन्ने जानकारी आएको छैन । अन्य सहरमा रहेका नेपालीसँग पनि हामीले सम्पर्कका लागि प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नुभयाे । भूकम्पबाट पीडत नेपालीलाई एनआरएनएले उद्धार गर्ने महासचिव पौडेलको भनाइ छ ।
‘केन्द्रीय समितिसँग समन्वय गरिरहेका छौँ । हामी तयारी अवस्थामा छौं,’ उहाँले भन्नुभयाे । अहिले टर्कीका धेरै सहर अस्तव्यस्त छन् । ‘यहाँ अहिले सबै कुरा अस्तव्यस्त छ । गाडीहरु चल्न गाह्रो छ । सरकारले पनि जहाँ हो त्यहीँ सुरक्षित रहन आग्रह गरेको छ । हामीले पनि नेपालीलाई त्यही भनेका छौँ,’ पौडेलको भनाइ छ । सोमबार गएको भूकम्पमा परी अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच