टर्की भुकम्प : ८ नेपाली सम्पर्कमा हुँदा, ३ जना सम्पर्क बाहिर

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५ हजार बढी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

टर्की । टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट  ८ जना नेपाली सम्पर्कमा आएका छन्।

भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ।

‘अहिलेसम्म गाजियन्टेपबाट ३ जना नेपाली महिला र ५ जना विद्यार्थी हाम्रो सम्पर्कमा आउनु भएको छ’, एनआरएनए टर्कीका महासचिव बिनोद पौडेलले भन्नभयाे, ‘उहाँहरु सबै सकुशल र सुरक्षित हुनुहुन्छ। हामी निरन्तर सम्पर्कमा छौँ’ विद्यार्थीमध्ये एक छात्र हुन्।

त्यो ठाउँबाट थप नेपाली भने सम्पर्कमा नआएको उहाँले बताउनु भयाे ।

एनआरएनएको सम्पर्कमा आएका ती  ८ जना नेपाली अहिले स्थानीय सरकारले व्यवस्था गरेको सेल्टरमा छन्। ‘अघि बिहान पनि मसँग कुरा भएको थियो। उहाँहरु पूर्ण रुपमा सुरिक्षत हुनुहुन्छ,’ उहाँले भन्नुभयाे। सेल्टरमा रहेकाहरुलाई खाना लगायत सबै आवश्यक व्यवस्था सरकारले नै गरेको छ। टर्कीमा विपद तथा जोखिम व्यवस्थापनका लागि आपत्तकालीन राहत उद्धार समिति छ। उक्त समितिले राहत र उद्धारको काम गरिरहेको छ। रेडक्रसलगायतका परोपकारी संस्थाहरुले पनि राहत र उद्धारमा समन्वय गरिरहेका छन्।

महासचिव पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अरू क्षेत्रका उद्धारकर्मी पनि पुगेका छन्।

‘यहाँ प्रत्येक नगरपालिकमा पनि ‘रेस्क्यू टीम’ बनाइएको हुन्छ। भूकम्पले क्षत्ति पुर्‍याइएको ठाउँहरूमा अन्य नगरपालिकाले आफ्नो टीम परिचालन गरेर उद्धार र राहत वितरणको काम गरिरहेको छ। अन्य नगरपालिकाहरुले लत्ता–कपडा, खानाहरू पठाएको छ,’ उहाँले भन्नुभयाे ।

टर्कीमा अहिले झण्डै २ हजारभन्दा धेरै नेपाली रहेको एनआरएनएको अनुमान छ। इस्तानबुल, अकांरा, इज्मिर, अन्टालिया, बोर्डुमलगायतका शहरमा नेपालीहरु बढी छन्। भूकम्पले इपिसेन्टर बनाएको गाजियन्टेपमा भने नेपालीको संख्या न्यून छ। कोभिड महामारीअघि टर्कीमा नेपालीको संख्या ४ हजारभन्दा बढी थियो। तर, महामारीका कारण श्रम बजार बिग्रिएपछि टर्कीमा नेपालीको संख्या आधा घटेको महासचिव पौडेलको भनाइ छ। कोभिडले रोजगारी गुमाएपछि कतिपय नेपाली स्वदेश फर्किएका थिए भने केही त्यतैबाट युरोपतिर हानिएका थिए।

भूकम्पबाट कोही नेपाली समस्या परेको भएमा आफूहरुको सम्पर्कमा आउने एनआरएनए टर्कीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेको छ। ‘सामाजिक सञ्जालमार्फत समन्वय गरिरहेका छौँ। अहिलेसम्म नेपालीलाई त्यस्तो दुस्खद घटना भएको भन्ने जानकारी आएको छैन। अन्य सहरमा रहेका नेपालीसँग पनि हामीले सम्पर्कका लागि प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नुभयाे। भूकम्पबाट पीडत नेपालीलाई एनआरएनएले उद्धार गर्ने महासचिव पौडेलको भनाइ छ।

‘केन्द्रीय समितिसँग समन्वय गरिरहेका छौँ। हामी तयारी अवस्थामा छौं,’ उहाँले भन्नुभयाे। अहिले टर्कीका धेरै सहर अस्तव्यस्त छन्। ‘यहाँ अहिले सबै कुरा अस्तव्यस्त छ। गाडीहरु चल्न गाह्रो छ। सरकारले पनि जहाँ हो त्यहीँ सुरक्षित रहन आग्रह गरेको छ। हामीले पनि नेपालीलाई त्यही भनेका छौँ,’ पौडेलको भनाइ छ। सोमबार गएको भूकम्पमा परी अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?