प्रचण्ड बारे ओलीको टिप्पणी : अंगालो मसँग मारेको मुन्टो उता फर्काको, कार्टुन पत्रकारले बुझेरै बनाएछन्

इमान नभएको स्वार्थका पछाडि कुद्ने तत्वहरुसँग गठजोड गरेर हुँदैन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसकेको आरोप लगाउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरुको गठजोडमा आफूहरु नलाग्ने बताउनु भयो ।

आईतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताउनु भयो । दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उहाँले इमान नभएकाहरुसँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताउनु भयो । यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उहाँले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी ४ वर्ष भित्र राष्ट्रिय शक्तिको रुपमा उदाएर अघि बढने संकल्प लिएकाले सोही अनुसारको गम्भिरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

उहाँले भन्नु भयो, ‘समृद्ध नेपालः सुखी नेपाली बनाउनका लागि एमाले एक्लैले बहुमत ल्याउन सक्छ । यहाँ बामपन्थी एकता, बामपन्थी एकता । अस्ती भर्खर हामीले गरेर हेरेनौं वामपन्थी एकता ? कुहेँका ढोडको लौरा टेक्न खोजेनौं हामीले । यहाँ प्रधानमन्त्री खुवाईयो । डुँडमा प्रधानमन्त्री खाँदैछ होला भनेको त उत्तापटि गएर । एउटा पत्रिकाले अस्ती एउटा कार्टुन निकाले छ । अंकमाल गरेको । मुख उता फर्काको । थुतुनो उतापट्टि यति लामो निकालेको । मैले यसो हेरेँ–पत्रकारले पनि बुझेकै रहेछ । हामीलाई त थाहा थियो नै । तर पत्रकारले पनि बुझेकै रहेछ । अंगालो मसँग मारेको छ । मुन्टो उता फर्काको छ । थुतुनो यति पसारेको छ । यस्तो एकता खोजेर, यस्ता एकताको पछाडि लागेर, यस्ता इमानमा अड्न नसक्ने र इमान नभएको स्वार्थका पछाडि कुद्ने तत्वहरुसँग गठजोड गरेर हुँदैन । देशलाई सुदृढ राष्ट्रिय शक्ति हामी आफू शक्तिशाली हुुनु प¥यो नि । आफू कमजोर हुने अनि यता खोज्ने, उता खोज्ने । प्रचण्ड चाल भई गो नि त्यो । त्यो चाल होइन । सुदृढ शक्ति । अव चार वर्ष हामी यसरी आफ्नो शक्ति निर्माण गरौं । जहाँबाट हामी हरेक क्षेत्रमा, हरेक ठाउँमा बहुमत प्राप्त गर्न सक्छौं । हरेक ठाउँमा हामी नै निर्वाचित हुन सक्छौं । त्यो स्थिति हामी बनाउन सक्छौं । कसैको केही लाग्दैन । तर हामीले यस कुरामा लाग्नु प¥यो ।’

ओलीले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?