काठमाडौं । रुसी सेनामा मृत्यु भएका नेपालीको शवको पुष्टिका लागि डिएनए संकलन गरिएको छ । रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका नेपालीका परिवारले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शव पुष्टिका लागि डिएनएको नमुना दिएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार गत २४ फागुनमा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डिएनएको नमुना पठाइदिन पत्राचार गरेको थियो ।
परराष्ट्रको कन्सुलर सेवा विभागले दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्युठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डिएनए नमुना पठाइदिन भनेको हो ।
कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये आठ जनाको नमुना रुस पठाइएको छ । नमुना संकलन गर्न काठमाडौं बोलाइएका परिवारका सदस्यहरूले भने विभिन्न प्रक्रियागत अन्योल देखिएको भन्दै सहजीकरण गरिदिन सरकारलाई आग्रह गरेका छन् ।
विकास राईका दाइ जशुधन राईका अनुसार आफ्नो भाइ जीवितै रहेको प्रमाणित भए पनि शव पहिचानका लागि डिएनए नमुना संकलनका लागि बोलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो भाइ युक्रेनको मिडियाले सार्वजनिक गरेको एउटा भिडियोमा बोलेको देखिएको छ । हामीले उसलाई चिनिसकेका छौँ तर सरकारले डिएनए नमुना दिन भनेको छ, जीवित मान्छेका लागि किन डिएनए परीक्षण गर्ने ?’ केही दिनअघि युक्रेनले नेपालसहित विभिन्न देशलाई रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न आग्रह गर्दै आफ्नो नियन्त्रणमा रहेका पाँच नेपाली नागरिकलाई सार्वजनिक गरेको थियो ।
राईका अनुसार सार्वजनिक भिडिओमा नेपालीहरूलाई पनि बोल्न लगाइएको र युद्धबन्दीको रूपमा रहेका विकास राईले रुसी सेनामा भर्ती भएका नेपालीहरूको भिडियो टिकटकमा देखेर आफू पर्यटक भिसामा रुस पुगेको बताउनुभएको छ । विकास राईको परिवारले उहाँ युक्रेनको नियन्त्रणमा जीवितै रहेको बताउनुभएको थियो । राईले आफ्ना भाइ जीवित रहेकाले उद्धार गरिदिनसमेत सरकारसमक्ष आग्रह गर्नुभएको छ ।
कन्सुलर विभागले प्रभावित परिवारका सदस्यहरूले नमुना दिन नखोजे आफूहरूले कर गर्न नमिल्ने र उनीहरूको सहमतिमा मात्र प्रहरीलाई पत्राचार गर्ने जनाएको छ । पीडितका तर्फबाट सहजीकरण गरिरहनु भएकी कृतु भण्डारीले प्रभावित परिवारको पीडा र संवेदनशीलतामा सरकारी निकाय गम्भीर नबनेको बताउनुभयो । टिचिङ अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले मुचुल्कासहित सबै विवरण रुजु गरेर कागजपत्र तयार भएपछि मात्रै नमुना संकलन गर्नुपर्ने भएकाले ढिलो भएको बताउनुभयो । उहाँले बुधबार र बिहीबार आफन्तलाई बोलाएर डिएनए नमुना संकलन गरिएको जानकारी दिनुभयो ।
किन गरिन्छ डिएनए परीक्षण ?
मानिसले आफ्ना पितापुर्खाबाट डिएनए पाएको हुन्छ । समरूपी जुम्ल्याहा दाजुभाइ वा दिदी–बहिनीमा बाहेक अरू व्यक्तिमा हुने डीएनए फरक भए पनि रगतको नाता पर्ने मानिसहरूको डिएनएमा समानता हुन्छ । त्यसैले डिएनए परीक्षण गरेर नाता पर्ने नपर्ने निक्र्योल गर्नुलाई सबैभन्दा वैज्ञानिक विधि मानिने विज्ञहरू बताउँछन् । आमा, बुबा, छोरा, छोरी वा हजुरबुवा, हजुरआमा तथा नाति नातिनाबाट नमुना लिन सकिन्छ ।
कुनै पनि व्यक्तिको जैविक तथ्य पत्ता लगाउन मात्र हैन, विधिविज्ञान तथा अपराध अनुसन्धान र पुराताŒिवक अध्ययनमा पनि डिएनए परीक्षणको विधि अवलम्बन गरिन्छ । डिएनए परीक्षणका लागि छाला, कपाल, रगत तथा अन्य जैविक तरल पदार्थसहित शरीरको कुनै पनि अंगको नमुनाको लागि प्रयोग गर्न सकिन्छ । शव मात्र हेरेर अनुहार चिन्न नसकिने अवस्थामा डिएनए परीक्षण गरी मृतक को हो ? भनी चिन्न र निजका आफन्तलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच