सिंहदरबारमा पहिलो पटक मेलम्चीको पानी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिने भएको छ ।

यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन । खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाउने तयारी गरिएको छ ।

यसअघि नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने क्रममा सिंहदरबारभित्र ट्याङ्कर, जार र बोतलको पानीको आपूर्ति बन्द गरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँले त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सिंहदरबारमा मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट दुई सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालिएको छ । त्यही ट्याङ्कीबाट सिंहदरबारमा पानी वितरण सुरु गरिएको हो ।

स्रोत : गोरखापत्र दैनिक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?