साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामा सीमित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ । ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग तीन-शुन्य गोल अन्तरले पराजित भएको हो । फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बंगलादेश भने अपराजित रहदै च्याम्पियन बनेको छ ।

बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक/एक गोल गर्नुभयो । खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाउनुभएको थियो ।

पहिलो हाफको इञ्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता दुई-शुन्यको बनाउनुभयो । त्यसपछि खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जित पक्का गर्नुभयोे ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो । लिग चरणमासमेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले तीन-एकले हराएको थियो । नेपाल सन् २०१८ को उपविजेता टोली हो । बंगलादेश भने सन् २०१८ र २०२१ पनि च्याम्पियन टोली हो ।

नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन । सिनियर साफ महिला च्याम्पिनयसिपका सबै ६ संस्करणमध्ये पाँचवटामा फाइनलमा पराजित भएको थियो भने दक्षिण एसियाली-सागअन्तर्गत महिला फुटबलका सबै तीन संस्करणमा उपविजेतामा सिमित भएको थियो । उमेरस्तरतर्फ सन् २०१८ मा आयोजना भएको पहिलो साफ यू–१८ महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेपनि बंगलादेशले उपाधि जित्नबाट रोकेको थियो ।

पछिल्लो समय बंगलादेश दक्षिण एसियाली महिला फुटबलमा लगातार हावी भइरहेको छ । बंगलादेशले सिनियर साफ महिला च्याम्पियनसिपमा भारतको लगातारको दबदबा गत वर्ष तोडेको थियो । सन् २०२१ मा बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको पनि उपाधि जितेको थियो ।

यसपटक घरेलु टोली प्रतियोगितामा सुरुवातबाटै हावी देखिएको थियो । पहिलो खेलमा नेपाललाई तीन-एक गोलले हराएको बंगलादेशले दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा भुटानलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?