भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई विदेशी भन्ने वाक्यांश

हिमालय टाइम्स
Read Time = 3 mins

गान्तोक । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी सच्याएको छ । केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरेपछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भिवी नागरत्नको संयुक्त इजलासपछि शब्द हटाउने निर्णय भएको हो ।

गत जनवरी १३मा भारतको सर्वोच्च अदालतले सिक्किमका बहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपाली भाषी समुदाय आन्दोलित भएको थियो । सिक्किमलगायत क्षेत्रमा आमहड्तालदेखि विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किमलगायत नेपालीभाषा बाहुल्य क्षेत्रमा विशाल प्रदर्शनमात्रै भएको थिएन, आमहड्तालसम्म हुँदा भारतका नेपाल भाषी शहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किंदै जान थालेपछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरिएको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भइरहेको आन्दोलन स्थगित भएको छ ।

सिक्किमका पुराना बासिन्दाहरूको संगठन एसोसिएसन अफ ओल्ड सेटेलस सिक्किम (एओएसएस)ले नेपाली, भुटिया र लेप्चा समुदायलाई झै आयकर छुटको मागसहित सन् २०१३मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले गत जनवरी १३मा उनीहरूको पक्षमा फैसला गरेको थियो । फैसलाका क्रममा सर्वोच्चले सिक्किमका बहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय तरगिंत बनेको थियो । सिक्किमलगायत क्षेत्रमा विशाल प्रदर्शन भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?