पर्यटन पुनस्र्थापनाका लागि चेम्बरका १८ बुँदे सुझाव

Read Time = 6 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले पर्यटन उद्योग पुनस्र्थापनाका लागि सरकारलाई विभिन्न १८ बुँदे सुझाव दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसमक्ष उक्त सुझाव दिएको हो । पर्यटन प्रवद्र्धनअन्तर्गत भारत तथा चीनबाट मात्रै नेपालमा पर्यटकको आगमनमा वृद्धि भएमा नेपालको पर्यटन व्यवसायमा टेवा पुग्ने भएकाले भारत तथा चीनमा नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमार्फत् कूटनीतिकस्तरमा विशेष कार्यक्रम ल्याइनुपर्ने, भारतीय पर्यटकलाई सहजीकरण प्रदान गर्न भारतीय पर्यटक लिएर आएका भारतीय नम्बर प्लेट भएका सवारीसाधनलाइ सिंगल चेकपोष्ट सिस्टमअन्तर्गत सहज प्रवेश गर्न दिई बाटोमा अन्य कुनै झन्झट दिन नहुने सुझाव रहेका छन् ।

त्यसैगरी पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चारमाध्यम आमन्त्रण गरी नेपालको पर्यटन प्रवद्र्धनबारे प्रचारप्रसार गर्नुपर्ने, नेपालमा पर्यटकको आगमन वृद्धि गर्न नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गरी अन्तर्राष्ट्रिय गन्तव्यस्थल बढाउनुपर्ने, पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले काठमाडौंको ठमेल, चितवनको सौराहा तथा पोखरास्थित रात्रिकालीन व्यवसायलाई आवश्यक सुरक्षा प्रदान गरी निर्वाधरूपमा सञ्चालनको व्यवस्था गरिनुपर्ने पनि चेम्बरको सुझाव छ ।

त्यस्तै, भारतीय पर्यटकले अधिकतम् भारु २५ हजारमात्र साथमा ल्याउन पाउने सीमाले नेपालको पर्यटन व्यवसायले वाञ्छित लाभ प्राप्त गर्न नसकेकाले दुई लाख ५० हजारसम्म नगद ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, पाँच सय र दुई हजार दरका भारुलाई सटही सुविधा प्रदान गरी डिजिटल कारोबारसमेत प्रोत्साहित गरिनुपर्ने, सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजसहित साँवा तथा ब्याज भुक्तानीमा पुनर्तालिकीकरण गरी सुविधा प्रवाह हुनुपर्ने, पर्यटनविज्ञ समूहले पर्यटन प्रवद्र्धनका लागि दिइसकेका सुझाव कार्यान्वयन गरिनुपर्ने सुझाव छ ।

त्यसैगरी पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्व सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउनुपर्ने, संयन्त्रले पर्यटन रिभाइबलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्य निकायका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्क उपयोग गर्ने र सन् २०२३ सम्म ‘रिभाइबलका लागि विशेष कार्यक्रम बनाई कार्यान्वयन गर्ने बताइएको छ । पूर्वीय संस्कृतिबारे खास गरेर योगलगायतका सम्बन्धमा पश्चिमी मुलुकमा धेरै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएकाले योग प्रवद्र्धन गर्न सकिएमा पर्यटक संख्या वृद्धि हुने, मेडिकल पर्यटन, होमस्टे, शैक्षिक पर्यटन, सांंस्कृतिक पर्यटनजस्ता विविधतायुक्त विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने, राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचीमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने, गैरआवासीय नेपालीको नेपाल आगमन बढाउन नेपालका वायुसेवा तथा होटलमा आवासीय नेपाली नागरिकसरह नै शुल्क लिइनुपर्ने चेम्बरको सुझाव छ ।

त्यस्तै, युरोपेली युनियनको एभिएसन सेफिटी लिस्टबाट नेपाली वायुसेवालाई हटाउन पहल गरिनुपर्ने, पर्यटन प्रवद्र्धनका लागि पर्यटन पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिइनुपर्ने र क्षतिग्रस्त संरचना अबिलम्ब मर्मतसम्भार गरिनुपर्ने, हाल सीमित पार्टपुर्जामा मात्र दिइँंदै आएको मूल्य अभिवृद्धि कर(भ्याट) छुट वायुयानका सम्पूर्ण पार्टपुर्जामा उपलब्ध हुनुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने विभिन्न शुल्क समयसापेक्ष, सस्तो तथा सुलभ गरिनुपर्ने, साना स्केलका हेलिकप्टर तथा हवाईसेवा सञ्चालन लागतका कारण सम्भव नहुने देखिएकाले उक्त प्रकृतिका हवाईसेवा व्यवसाय मर्ज गर्ने तथा पिपिपी मोडलमा सञ्चालन गर्ने नीति ल्याइनुपर्ने पनि चेम्बरको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?