मतदाता तुुष्टीकरणको भद्रपत्र, जय घोषणापत्र !

बद्रीप्रसाद दाहाल
Read Time = 12 mins

यतिखेर नेपालका राजनीतिक दलहरू संघीय एवं प्रदेश विधायकहरूको आवधिक निर्वाचनको चटारोमा छन् । निर्वाचन सम्पन्न हुन तीन हप्ता बाँकी हुुँदा बल्लबल्ल मनलागी नलागी घोषणापत्र आकाशबाट असिनाझैँ धमाधम वर्षा गरेर बाढीको रूपमा ठाउँकुठाउँ दौडाउने श्लीलहीन तमासा मच्चाइरहेका छन् । ‘आगलागी झुपडी डेढ घडी भद्रा’ भनेझैँ पो छ त ! आगो नलागुञ्जेल थन्किएर आगो जटट भएपछि इनार खन्न रन्किएका देख्दा जनता जनार्दन उनीहरूको लघुुसोचबाट विरक्तिएर बसेका छन् । पटक-पटक सम्पन्न आवधिक निर्वाचनमा लेखिने यो घोषणापत्र तत्कालका लागि अक्षम र अशुद्ध कर्मकाण्ड बन्दै बर्बराएरलगत्तै पाँच वर्षसम्म चिरनिन्द्रामा सुत्छ ।

अन्य विपक्षीलाई गाली र असम्भव योजनाका मनचिन्ते बाली बनाएकै कारण राजनीतिक दलका ‘घोषणापत्र’ कतै मलपत्र, छलछामपत्र, ढलपत्र, खलपत्र र विफलपत्र बनेको पीरो जन साधारणले भोगिरहेका छन् । भावुुक कविको स्वैरकल्पना, अक्षम तथा अशुुद्ध वाचकको पाठको पारायण र पियक्कडको अंग्रेजी प्रवचन पो भान हुन्छ । घोषणापत्रजस्तो गरिमाको मार्गचित्र बोकेको स्वप्नपत्र ! हिराको मोल कीराले जान्दैन भनेझैँ त भएन भन्या ? हे मेरी बास्सै !!

हरेक राजनीतिक दलले निर्वाचनमा विजय प्राप्त गरेपछि पाँच वर्षभित्र आफ्नो दल राज्य सत्तामा सत्तासीन हुँदा यस्ता यस्ता खालका नीति, कार्यक्रम, विचार, सिद्धान्त र आदर्शहरू अंगीकार गर्नेछौँ भनी राखिएको वाचा, संकल्प, कबुुल, प्रतिज्ञा, अठोट गरेको दस्ताबेज नै घोषणापत्रको सार रूप हो ।

हरेक राजनीतिक दलले निर्वाचनमा विजय प्राप्त गरेपछि पाँच वर्षभित्र आफ्नो दल राज्य सत्तामा सत्तासीन हुँदा यस्ता यस्ता खालका नीति, कार्यक्रम, विचार, सिद्धान्त र आदर्शहरू अंगीकार गर्नेछौँ भनी राखिएको वाचा, संकल्प, कबुुल, प्रतिज्ञा, अठोट गरेको दस्ताबेज नै घोषणापत्रको सार रूप हो । भर्खरै बेलायतको प्रधानमन्त्री बन्न सफल ४२ वर्षे युवा (जो भारतीय मूलका) ‘ऋषि सुनक’ श्वेत देशका अश्वेत उनी आफ्नो दलकै घोषणापत्रको प्रतापले बेलायती सत्ता हाँक्ने सुप्रिमो बने । वेद, गीता, त्रिपिटक, बाइबल र कुरान नबने पनि घोषणापत्रमा तिनीहरूको सुुगन्ध अनुुभूत गराउने कार्ययोजना हुनुपर्ने थियो ।

हामीकहाँ त घोषणापत्र मात्र गाली पुराण, लाली लगाकी नगरबधू र अति महत्वाकांक्षाको खाली बतासेपत्र बन्न गयो भन्ने मत घनीभूत छ । सम्बन्धितहरूले नै घोषणापत्रको ओजनलाई भोजन गर्छन् भन्ने कुुरो किन हेक्का नराखेका होलान् ठेक्का लिएका जमातले हे हरि ! यतिखेर जनताका हृदय सुुहृत् दल वा स्वप्नद्रष्टा नेताको चाहना गरिरहेको छ न कि बाहिरी रूपमा मात्र मनोहर देखिने सुकुलगुण्डे, अस्थिर र चमेरो प्रवृत्तिका प्रतिनिधिको । भनिएको पनि छ :
‘नारिकेल समाकारा दृश्यन्ते हि सुहृज्जनाः ।
अन्ये बदरिकाकारा बहिरेव मनोहराः ।।
अर्थात् असल हृदय भएकाहरू नरिवलको फलजस्तै भित्र र बाहिर दुुवैतिर मनोहर हुन्छन् तर कमसल खाले मान्छे भने बयर फलजस्तै बाहिर रातो चिटिक्क परेको सुकुमार देखिन्छ, भित्र त कडा चट्टानको डल्लो बोकेका हुन्छन् । हो, नाराका तारा चम्काउने दलहरूले तीन दशकको अवधिमा घोषणापत्रमार्पmत श्लोगनका गोमन जनताका काख काखमा बेपर्बाह नचाएकै कारण आज दलहरूका संकल्पपत्र, प्रतिज्ञापातो, कबुलपत्र, प्रायश्चित्तका नटखट बोर, फोर र ढाँटको निम्तो खाई पत्याउनुुझैँ पो महसुस भइरहेको छ बा आमजन हृदयमा ! असी लाख नेपाली विदेशिन पर्ने, आयातको कुुर्कुुस्त भारी बोकेर निर्यातमा खं ब्रहृम ? कस्तो अचम्म ! संसदीय व्यवस्था मानेर चुनाव लड्ने चुनावपछि त्यही व्यवस्था खतम गर्न सडक आन्दोलनको डङ्का पिट्ने विभ्रम मनमगजका प्रवृत्तिले दिएका घोषणापत्रका ठेली हेर्दा पाम आयलमा छड्काएको जेरीजस्तो न छेउ न टुप्पो मजस्ता मतदाता जनार्दन अलमल्ल पार्ने आँखामा फुलो थमाउने खालका पो छन् बा !
विद्यार्थी बेलामा बलैले कण्ठ पारेको श्लोक याद आयो :
पिवन्ति नद्यः स्वयमेव नाम्भः, स्वयं न खादन्ति फलानि वृक्षाः ।
नादन्ति शस्यं खलुु वारिवाहाः, परोपकाराय सतां विभूतयः ।।
(अर्थात्-नदीहरू आफू पानी नपिई अरूकै लागि बगिरन्छन्, वृक्षहरू आफ्ना फल स्वयं नखाएर अन्य प्राणीलाई दिन्छन् । अरूकै उपकारका लागि मेघ गर्जिएर पानी पार्दछ तर आफू अन्नपात उपभोग गर्दैन । त्यसैले केही कुरा दिने दाता सत्यवादी उदार चरित्रको हुनैपर्छ, त्यही सज्जन, परोपकारी वा महाजनको विभूति हो ।) त्यसै भएर त संस्कृतमा उखान छ, ‘महाजनो येन गतः स पन्थाः’ । तर, हामीकहाँ त जसरी पनि धनी र ठूलो मान्छे बन्ने दीर्घरोगको बिगबिगी रोकिएन । सबै दलको एकै स्वर छ ‘जसरी पनि चुनाव जित्नुपर्छ हार्ने छुट छैन’ । यहाँ ‘जसरी पनि’ भन्ने शब्दभित्र कस्ताकस्ता अर्थअनर्थका अन्तर्य लुकेका छन् त ?

हँसियाको बिहेमा खुर्पाको गीत होइन घोषणापत्रको लेखन । अर्थ न बर्थ गोविन्द गाई भनेजस्तो काशी जानु कुतीको बाटो गरेर घोषणापत्र जनताको हृदयमा राज गर्दैन । दलको घोषणापत्र त तृणमूल जनताका आवाज प्राज्ञिकहरूका चिन्तन विज्ञहरूका मन्थनबाट इन्पुट भएर निर्माण गरी आउटपुुट हुने पोटिलो धरातलीय यथार्थ आत्मसात् गरेको गुटिका हो । घोषणापत्र माकुराको जाल, झिँगाको काल भनेझैँ भयो भने के गर्ने ? नेपालमा दलीय गठबन्धनको स्थिति ‘नठिनीको नाठो, काख छउन्जेल आफ्नो’ भनेझैँ देखिँदै आएको छ ।

त्यसैले दलका हाइकमानलाई बौद्धिक सल्लाहकारहरूले ‘विनाचालले कुकुर भुक्दैन, मुलाको ड्याङमा हात्ती लुक्दैन’ भन्ने उखान रटान गराउनु अनिवार्य छ । जे जेमा पनि एसम्यान बन्न भएन यसलाई स्तम्भकारको मात्र नभएर आममतदाताहरूको मुटुका ध्वनि र ढुकढुकी बुुझे हुन्छ । कुनै दलको घोषणापत्रले आउँदो पाँच वर्षमा बाह्र लाख संख्याका नयाँ पुस्तालाई रोजगार दिने मोहनी नारा सजाएको छ, जुन कुरा विज्ञहरू कुनै हालतमा पनि सम्भव छैन भनी तथ्यांकसहित तर्कहरू दिइरहेका छन् ।

पैंसठ्ठी वर्षकै उमेरमा वृद्धवृद्धा भत्ता थमाइदिएर जनतालाई खुशी बाँड्ने ढुसी कसरतको संकल्पको बाजा चर्को स्वरमा गुुञ्जिएको छ । सार्वजनिक पद धारणा गरेकाको सम्पत्ति सार्वजनिक गर्ने, १२ कक्षासम्म निःशुल्क बनाउने हिजोकै कपीपेष्ट समाहित गरेर घोषणापत्र भद्दा बनाउन भरपुर प्रयत्न गरिएको छ ।

अर्को दल घोषणापत्रलाई जनमुखी बनाउने नाममा हाम्रो पार्टी चुनावपछि सत्तासीन भयो भने पाँच वर्षभित्र ‘अधिकार सम्पन्न राष्ट्रिय रोजगार प्राधिकरण आयोग’ बनाएर दसलाख युवाहरूलाई रोजगार दिने स्वप्नमहल बुुनिदिएको छ । ६५ वर्षकै उमेरमा वृद्धवृद्धा भत्ता थमाइदिएर जनतालाई खुसी बाँड्ने ढुसी कसरतको संकल्पको बाजा चर्को स्वरमा गुुञ्जिएको छ । सार्वजनिक पद धारणा गरेकाको सम्पत्ति सार्वजनिक गर्ने, १२ कक्षासम्म निःशुल्क बनाउने हिजोकै कपीपेष्ट समाहित गरेर घोषणापत्र भद्दा बनाउन भरपूर प्रयत्न गरिएको छ । मन, वचन र कामलाई एकाकार गर्ने महात्मा विचारलाई छुुटी दिएर मनले एक थोक कल्पना गर्ने, बोलीले अर्कै भन्ने, कामले बेग्लै कुरा फत्ते गर्ने दुरात्म विचारको विरोधाभाषलाई छलाङ, गतिशील र अग्रगमन ठम्याउने मजाक उत्तिकै चलेको छ । यो कुरो बुुझेर पनि हामी निरीह हुनु विडम्बनाको हो । तन्नेरीको साथमा तरुनीको नासो भन्ने उखान त्यसै बनेको होइन होला ? छालो जाला तर कालो जाँदैन भन्ने कहावत पुुर्खाले त्यसै उब्जाएका होइनन् कि ? चुनावरूपी युद्धको बेला बुद्धको कुरा मन पर्दैन कतिपयलाई ।

जे होस् अबेला भएपनि दलहरूले घोषणापत्र घोषणा गर्ने काम गरेर मुखियालाई बेठी तिरेझैँ जनतालाई झारा तिर्ने काम सम्पन्न गरे । कतिपय असम्भव कल्पनाका पूmलबुट्टामा सिँगारिए पनि नगण्य बुुँदाहरू राम्रा र ओजिला पनि छन् । मतदाताले खराबमध्येबाट कम खराबलाई रोजेर यो चुनावी यज्ञको कायेनबाचा हुनेछ । जय घोषणापत्र, जय संकल्पपत्र, जय प्रतिज्ञापत्र, वाचापत्र ! अस्तुु ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Prakash Paudel
Prakash Paudel
2022-11-06 5:29 pm

Wow! great satirical performance guru!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?