बागलुङमा सम्बन्ध विच्छेद बढ्दो, कारण वैदेशिक रोजगार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । पछिल्लो समय बागलुङमा सम्बन्ध-विच्छेदका घटना ह्वात्तै बढेको छ । सहरदेखि गाउँसम्मका महिलाहरू सम्बन्ध-विच्छेदको निवेदन बोकेर जिल्ला अदालत देखिन्छन् । विवाह भएको वर्ष दिनदेखि दशक बढीसँगै बिताएकाहरू पनि सम्बन्ध विच्छेद गरिरहेका छन् । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म डेढ सय बढी जोडीले सम्बन्ध विच्छेद गरिसकेका छन् ।

सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार भएको अधिवक्ता राम शर्माले बताउनुभयो । बागलुङबाट वैदेशिक रोजगारका लागि हजारौँ युवा विदेश जाने र घरमा आएर कमाएको हिसाबकिताब खोज्दा सम्बन्ध वार कि पार अवस्थामा पुग्ने गरेको शर्मा बताउनुहुन्छ । पछिल्लो समय महिला र पुरुषमाथि हुने हिंसासमेत बढ्दै जाँदा सम्बन्ध विच्छेद बढ्न थालेको शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले श्रीमान् विदेश जाने, श्रीमती बालबच्चा लिएर बजार झार्ने, बजारमा अनावश्यक खर्च गर्ने फेसन जस्तो बनेको छ, विदेशमा रगत पसिना बगाएर घर फर्किँदा श्रीमतीले सही रुपमा हिसाबकिताब बुझाउन नसक्दा सम्बन्ध तोडिने मोडमा पुग्छ, त्यसले गर्दा विवाह भएको वर्षौंपछि पनि यहाँ सम्बन्ध विच्छेद भएका छन् ।’

अन्तरजातीय तथा बहुविवाहको कारण पनि सम्बन्ध विच्छद हुने गरेको उहाँ बताउनुहुन्छ । विदेशमा पति वा पत्नी गएपछि परपुरुष वा स्त्रीसँग लागेको, विदेशबाट पठाएको रकम हिनामिना गरेको र शारीरिक-मानसिक यातना दिएको भन्दै सम्बन्ध विच्छेदका लागि आउने गरेको हुँदा बताउनुहुन्छ । वैदेशिक रोजगारीमा गएका पुरुष उतै अर्को विवाह गरेर पहिलो श्रीमतीलाई सम्बन्ध विच्छेद गर्न दबाब दिएका घटना पनि सार्वजनिक भइरहेको शर्मा बताउनुहुन्छ ।

अधिवक्ता गीता श्रीसले वैदेशिक रोजगारसँगै बाल विवाह पनि सम्बन्ध विच्छेदको मुख्य कारण बन्दै गएको बताउनुभयो । उहाँले सानै उमेरमा विवाह गर्ने र उमेर पुगेपछि अर्को पुरुष वा महिलासँग आकर्षित हुँदै गएपछि सम्बन्ध विच्छेद हुने गरेको बताउनुभयो । पहिले सम्बन्ध विच्छेद भएपछि विवाह गर्न समस्या हुँदा हिंसा सहेर पनि बस्ने गरेको तर अहिले मानिसहरू सचेत बन्दै गएपछि कसैको हिंसामा परेर नबस्ने श्रीस बताउनुहुन्छ ।

‘पहिलेको तुलनामा अहिले सम्बन्ध विच्छेद निकै बढ्दो छ, बागलुङमा मुुख्य त वैदेशिक रोजगार, बाल विवाहका कारण अलि बढी सम्बन्ध विच्छेद हुने गरेको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘सानै उमेरमा विवाह गरेकाहरू उमेर पुग्दै गएपछि अर्को मान्छेलाई मन पराउँछन्, त्योसँग विवाह गर्न सम्बन्ध विच्छेद गर्छन्, अर्को कुरा पहिले सम्बन्ध विच्छेद गरे पनि विवाह गर्न समस्या हुन्छ भन्ने थियो, तर अहिले त्यो गौण बन्दै गएपछि सम्बन्ध विच्छेद हुने गरेकोे पनि पाइन्छ ।’

जिल्ला अदालत बागलुङका इजालस अधिकृत गंगाधर सापकोटाले सामाजिक संजालको बढ्दो प्रयोगका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको बताउनुभयो । उहाँले सामाजिक संजालमार्फत चिनजान नभएका व्यक्तिसँग बोल्ने, तस्बिर तथा भिडियो आदानप्रदान गर्ने र गर्दा श्रीमान–श्रीमती बीच झगडा हुने र सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको बताउनुभयो । सापकोटाले पछिल्लो समय नागरिक सचेत बन्दै गएको हुँदा अभाव, प्रभाव र दवाबमा सहन नसक्ने हुँदा सम्बन्ध विच्छेद हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अहिले जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेको संख्या बढ्दो छ, मानिसहरू सचेत बन्दै गए, हिंसा सहन छोडी सके त्यसले गर्दा सम्बन्ध विच्छेद गर्ने गरेको पाएका छौँ ।’

चालु आर्थिक वर्षमा बागलुङ सम्बन्ध विच्छेद गर्नेको संख्या धेरै देखिन्छ । गत आर्थिक वर्षमा २४१ सम्बन्ध विच्छेद भएकोमा चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १६० वटा सम्बन्ध विच्छेद भएको जिल्ला अदालत बागलुङको तथ्याङ्कमा देखिन्छ । यस अवधीमा सबैभन्दा बढी कात्तिक महिनामा ३१ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । साउन, भदौ र असोजमा २३/२३, मंसिरमा २१, पुसमा २४ र माघ तेस्रो सातासम्म १५ जोडिले सम्बन्ध विच्छेद गरेका छन् । यो तथ्यांकलाई हेर्दा यस वर्ष सम्बन्ध विच्छेद निकै बढी हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?