पेट्रोलियम उत्खनन : दोस्रो चरणको तयारी

नविन शर्मा दैलेख, संवाददाता
Read Time = 7 mins

दैलेख । चीन सरकारको सहयोगमा पश्चिम नेपालको दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको उत्खननले फेरि तीव्रता पाउने भएको छ । जिल्लाका विभिन्न चार स्थानमा पेट्रोलियम पदार्थको खोजीका लागि यसअघि नेपाल आएका चिनियाँ टोलीले अन्वेषण गर्ने काम गरेको थियो । उनीहरूले उत्खनन गर्ने स्थानको समेत पहिचान गरेका थिए । यहाँका श्रीस्थान, नाविस्थान, कोटिला र पादुकामा जमिन मुनिबाट आएको पेट्रोलियम पदार्थ ज्वालाजीको नाममा बल्दै आएको छ । यहाँका पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेको छ । साइस्मिक सर्भेको काम सकिएसँगै अन्वेषणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको रिपोर्ट चिनियाँ टोलीले बुझाएका थिए ।

यसअघिको अन्वेषणमा जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भे र साइस्मिक सर्भेको काम चिनियाँ प्राविधिक टोलीले सम्पन्न गरेको हो । अहिले दास्रो चरणको उत्खननको काम सुरु हुन लागेको हो । नेपाल सरकारले जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै दोस्रो चरणको कामलाई लिएर स्थानीय बासिन्दा पनि उत्साहित बनेका छन् । चिनियाँ टोलीले यहाँको जमिनमुनि पेट्रोलियम पदार्थ रहेको सार्वजनिक गरिसकेका छन् ।

२०७२ सालमा भारतले अघोषित नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको समयमा तत्कालीन सरकारद्वारा चीन सरकारसँग सम्झौता गरी दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न सम्झौता गरेको थियो । चिनियाँ टोलीले २०७६ साल असोजदेखि दैलेखको पञ्चकोशी क्षेत्रको वरिपरि अन्वेषणको पहिलो चरणको कार्य सम्पन्न गरेको थियो ।

नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोडमा सम्झौता भई उत्खननको कार्य अगाडि बढेको थियो । पहिलो चरणको कार्यमा सकारात्मक प्रतिफल आएपछि दोस्रो चरणका लागि नेपाल सरकारले दैलेखको भैरवी गाउँपालिका–१, जलजले भन्ने स्थानमा ४५ रोपनी जग्गा अधिग्रहण गरी पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको कार्य अगाडि बढाउने निर्णय गरेसँगै दैलेखीहरू खुसी देखिएका छन् । जिल्लामा पेट्रोलियम पदार्थ उत्खनन हुँदा जिल्लाको विकाससँगै राष्ट्रको विकासमा टेवा पुग्ने र पेट्रोलियम पदार्थका लागि छिमेकी देशसँग परनिर्भर हुने बाध्यताको अन्त्य हुन सक्ने आँकलनसमेत गरिएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताउनुभयो ।

नेपाल सरकारले जग्गा अधिग्रहणसँगै, सडकको स्तरोन्नति लगायतका अन्य गर्नुपर्ने प्रक्रिया पूरा गरेपछि चीन सरकारको अन्वेषणात्मक टोली दैलेख आएर कार्य अगाडि बढाउने खानी तथा भूगर्भ विभागले जनाएको छ । यसरी जिल्लामा हुन लागेको अन्वेषणले जिल्ला र राष्ट्रलाई आर्थिक विकासमा सहयोग गर्ने र जनताको आर्थिक अवस्थामा सहयोग पुग्ने प्रदेश सांसद कृष्णकुमार बिसीले हिमालय टाइम्सलाई बताउनुभयो ।

नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, डुगेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पहिलो चरणमा गरिएको अन्वेषणबाट पनि जिल्लामा ठूलो क्षेत्रमा फैलिएर जमिनमुनि पेट्रोलियम पदार्थको भण्डार रहेको हुन सक्ने आँकलन गरिएको छ । जिल्लाको आर्थिक विकासमा यस्ता गौरवशाली योजनाहरूलाई राष्ट्रले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने व्यवासायी मनोज थापा बताउनुहुन्छ । दैनिक रूपमा खपत हुँदै गएको पेट्रोलियम पदार्थको माग र त्यसबाट बाहिरिने ढुकुटीलाई देशभित्र राख्न यस्ता गौरवशाली योजनाहरू समयमै अगाडि बढाउनु आवश्यक देखिन्छ ।

नेपालमा पहिलोपटक सन् १९७९ मा पेट्रोलियम पदार्थ खोजीका लागि गतिविधि सुरु भएको थियो । पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनका लागि नेपालमा विगतमा नेदरल्याण्डस, चीन, क्यानडालगायत देशबाट पनि विज्ञको टोली आएका थिए । नेपाल सरकारले सन् १९८२ मा पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्रलाई एउटा छुट्टै इकाइका रूपमा स्थापना गरेको थियो । चीनको न्यासनल चाइना पेट्रोलियम कर्पोरेसन विश्वकै पेट्रोल अन्वेषण र उत्खनन गर्ने सबैभन्दा ठूलो संस्था हो । उक्त संस्थाले नै नेपालमा अध्ययन गरेको हो ।

धार्मिक मान्यताअनुसार महादेवले सत्यदेवीलाई मृत्युपश्चात् बोकेर हिँड्ने क्रममा श्रीस्थानमा शिर, पादुकामा पैतला, धुलेश्वरमा शरिका धुलोहरू, नाविस्थानमा नावि खसेर नाम राखिएको भन्ने किम्वदन्ती छ । उक्त स्थानहरूमा मन्दिरहरू निर्माण गरी परापूर्व कालदेखि पूजापाठ हुँदै आएको छ । यहाँ रहेको नाविस्थान खोलाको बीचबीचमा समेत आगो बल्ने गर्दछ । श्रीस्थानमा बलिरहेको ज्वालाको तिलक लगाएमा सबै पाप नष्ट हुने मान्यता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?