अलमलमा कांग्रेस, सत्ता अपारदर्शी कम्युनिष्ट

चूडामणि कोइराला
Read Time = 16 mins

नेपाली कांग्रेसको राजनीतिलाई सत्तासँग मात्र जोडेर हेर्ने गरिएको छ । हुन पनि हो, कांग्रेस जुनसुकै स्थान र भूमिकामा भए पनि उसलाई सरकारको स्वाद नभइनहुने अवस्था भएको छ । आरोप उसमाथि सत्तालिप्साकै लाग्ने गरेको छ, सत्य पनि हो । संघीय संसद्मा विगतमा २३ सिट हुँदा पनि प्रतिपक्षी बन्नुपरेन, प्रधानमन्त्रीको पद नै कांग्रेसलाई आइलाग्यो ।

कांग्रेस प्रजातन्त्रको मसिहा हुँ भन्छ तर प्रतिपक्षी बन्नै जानेन र बस्न पनि सकेन । लोकतान्त्रिक नेपालको राजनीतिमा जननी भएको नेपाली कांग्रेस बढी महत्वाकांक्षी भएर वा पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएकाहरू सत्ता र पदकै लालचमा घुमिरहेर हो । लोकतन्त्र जोगाउने नाममा कांग्रेस पार्टीमात्रै सरकारमा बस्नुपर्ने ? अन्य पार्टीको त उसलाई विश्वास नै छैन प्रजातन्त्र संरक्षणमा । कांग्रेसले अविश्वास गर्नु पनि स्वाभाविक नै हो । विगतमा खड्गप्रसाद ओली प्रधानमन्त्रीको कार्यकालले कम्युनिष्टको विगत, वर्तमानलाई हेर्दा सधैं सशंकित र त्रसितमात्र नै बनाउँछ ‘प्रजातन्त्रको मसिहा’लाई । जहिलेसुकै कम्युनिष्ट सत्तामा हुँदा सबैमा त्राही-त्राही र भयमात्र हुन्छ ।

कांग्रेस-कम्युनिष्टसँग वा अन्य अरू दलसँग सशंकित बन्दै गर्दा ऊ आफ्नै पार्टीभित्रको आन्तरिक संघर्षका कारण वा वर्तमान नेतृत्वको कमजोरीबाट कांग्रेसभित्रका विभिन्न विभाग लथालिंग अवस्थामा छन् । अन्य दलमा पनि त्यो अवस्था छैन भन्ने होइन छ, तर नेतृत्वप्रति बफादार छन् कम्युनिष्ट नेता तथा कार्यकर्ता । जति भोग गरे पनि अतृप्त नेताको राजनीतिका कारण पार्टीका आस्थावान् कार्यकर्ता प्रायः विलय हुने अवस्था छ सबै पार्टीमा । वर्तमान अवस्थामा नेपाली कांग्रेसको नेतृत्व पद लिप्सा, नीति र विधिविधानभन्दा पनि अवसरलाई बढी महत्व दिने बानी-व्यवहारले लोकतन्त्रका लागि नेपाली कांग्रेसबाटै आज सबैभन्दा ठूलो समस्या छ ।

जति भोग गरे पनि अतृप्त नेताको राजनीतिका कारण पार्टीका आस्थावान् कार्यकर्ता प्रायः विलय हुने अवस्था छ सबै पार्टीमा । वर्तमान अवस्थामा नेपाली कांग्रेसको नेतृत्व पद लिप्सा, नीति र विधिविधानभन्दा पनि अवसरलाई बढी महत्व दिने बानी-व्यवहारले लोकतन्त्रका लागि नेपाली कांग्रेसबाटै आज सबैभन्दा ठूलो समस्या छ ।

अरू राजनीतिक दलको र उसका कार्यकर्ताको आज कुनै कुरै नगरौँ, जसो-जसो बा र नेतृत्वको आदेश उसै उसै बुरुकबुरुक । प्रजातन्त्रको हिमायती भनेको नेपाली कांग्रेस आफैं कुन बाटोमा छु भन्ने थाहा छैन ‘औंसीको रात’ जस्तो बनेर बसेको छ । न नेतृत्व सक्षम बन्न सकेको छ न त आफ्ना नेता तथा कार्यकर्ताहरूको आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने अवस्था कांग्रेस नेतृत्वमा छ ? नेतृत्वमा गएका नेपाली कांगे्रसका युवाहरू पनि सभापति शेरबहादुर देउवाका अगाडि नतमस्तक नै छन् । पार्टीको नीति र सिद्धान्तको कुरै छैन । फगत स्वार्थसिद्धमा रुमल्लिएका मात्र छैनन्, अवसरको पनि खोजीमा ढुलमुलाइरहेको कांग्रेसी युवाको विश्वासमा तुषारापातमात्र भएकोे छैन आशा नै विलय हुने हो कि भनी सबै कार्यकर्तामा भय हुन थालेको छ ।

हाल नेपालको राजनीतिमा जवाफदेहिताको अभाव खड्किँदै गएको चाहिँ पक्का छ । जनताप्रति उत्तरदायित्वबोध गर्नुपर्ने भावनाको परित्याग भइरहेको छ । जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्ने जस्ता अवस्थाहरू सिर्जना नभएका होइनन् ।

यसरी राजनीतिक क्षेत्र पंगु बनाउँदै लाने दलका नेताहरूबाट के हुँदैन ? नेपालको राजनीति हो जे पनि हुन्छ । बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने यिनै राजनीतिक दलले अब हुनै लागेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गैरराजनीतिक व्यक्तिलाई नबनाउलान् भन्न सकिने अवस्था छैन । हाम्रो परिवेश पनि सबै क्षेत्र राजनीतिक संस्थाहरूमा भर पर्न जाने गरेको विद्यमान अवस्था छ । यही अवस्थाका कारण जनतामा कति निराशा छ त्यो आँकलन राजनीतिक दलबाट कहिल्यै भएन र हुँदैन पनि ।

कानुनभन्दा दलका नेता माथि रहन खोज्दा कानुनको बर्खिलापमात्र भएको छैन, न्यायालय नै राजनीतिमा तानिएको छ । न्यायालयले राजनीति चलाएको छ र चलायमान पनि छ । दलका नेतामा यतिमात्र शंका छ कि कुन पार्टीको न्यायाधीश अदालतमा छ र कुन मौकामा चौका हान्नुपर्दछ त्यो नेतालाई थाहा नहुने कुरै भएन । इच्छा र अनिच्छा त दलको नेतृत्वमा नै भरपर्दछ । यावत् समाधानको खोजी न्यायालयबाट मात्रै हुने भए सम्बन्धित निकाय र कार्यालयको के काम ? न्यायालयमा पनि राजनीतिक दलको अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो ? यो गम्भीर प्रश्न जनताले नै उठाउने गरेका छन् ।

कांग्रेसको लोकतन्त्र  :
नेपालमा लोकतन्त्र सुरक्षित र दिगो बनाउन नेपाली समाजमा लोकतन्त्रको जरा गहिरो गरी गाड्ने अभियानस्वरूप नेपाली समाजलाई लोकतान्त्रीकरण, लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपरिहार्य छ । यो अभियान अरू कुनै अन्य राजनीतिक दलले चलाउन सक्तैनन्, लोकतन्त्रकै लागि जन्मेको र लोकतन्त्रको पहरेदार रहँदै आएको नेपाली कांग्रेसले नै चलाउनुपर्ने हुन्छ । किनकि ऊ देखावटी भए पनि लोकतन्त्रको बिगुलचाहिँ फुक्छ तर आज कांग्रेस आफैं अपरिपक्व छ देशका साझा सवालमा ।

नेपाली समाजमा लोकतान्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी नेपाली कांग्रेस पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुन तत्काल आवश्यक छ । अर्थात् कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र र लोकतान्त्रीकरणको आवश्यकता खड्किरहेको छ । यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्वको बहस चलाउनु आवश्यक छ । विचारले नै पार्टी, समाज र राष्ट्रलाई अगाडि जाने बाटो देखाउँछ । लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न नेपाली कांग्रेस पार्टीलाई रूपान्तरण गर्न सक्छ न देशलाई नै । नत्र उही कुहिरोको काग बन्छ ।

अहिले संसदीय राजनीतिको इतिहासमै कमजोर छ नेपाली कांग्रेस । स्पष्ट कार्यक्रम बोकेको कांग्रेस सधैँ अस्पष्ट र दोधारे बन्न पुग्यो । कम्युनिष्टलाई हेर्ने दृष्टिकोण हाल कांग्रेसको प्रष्ट भएन । जनता र जनमत दुवैलाई हालको कांग्रेस नेतृत्वले अलमलमा राख्न पुग्यो । कम्युनिष्टसँग कार्यगत गठबन्धन गर्नु कांग्रेसका लागि आवश्यक छँदै थिएन । आफ्नो स्वार्थमा रम्नका लागि कांग्रेसले आफ्नो विधिविधान सबै बिर्सियो र सत्ताको स्वाद लिइरहन हालको नेतृत्वले के गर्न बाँकी राखेको छ ? हालको कांग्रेसको नेतृत्व हरकदम चुकीमात्र रहेको छ, सत्तास्वार्थकै लागि । किन सत्तामात्र भन्छ कांग्रेस ?

प्रमुख प्रतिपक्ष भएर पनि संसद् र सडकबाट आवाज दिन नसक्ने कांग्रसको यो नेतृत्वबाट जनताले के आश गर्ने ? राजनीति सबै दलको सत्ता सयर नै हो तर जनमत के हो ? नेपाली कांग्रेसलाई प्रजातन्त्र के हो बुझाउनुपर्ने ? उसो भए कम्युनिष्टको त प्रजातान्त्रिक व्यवस्थै होइन । साम्यवाद हो । किन ऊ प्रजातान्त्रिक शैलीको बाटोमा निर्वाचनमा गएको कांग्रेसको साथ मिलाउन हो ? अवश्य होइन । कुनै दिन कम्युनिष्टहरूले प्रजातान्त्रिक शैली अपनाएर नै कम्युनिष्ट साम्यवाद ल्याउन सक्छन् । यही अवस्थामा नेपाली कंग्रेस रुमल्लिरहे ।

नेपाली कांग्रेस यस्तै ढुलमुले र अपारदर्शी बन्दै जाने हो भने अर्को व्यवस्था परिवर्तन हुन धेरै समय कुर्नुपर्ने छैन । कांगे्रस जस्तो अवस्थामा भए पनि लगातार लाभको पद लिन भागबण्डातिर फस्न पुग्नु दुर्भाग्य नै हो प्रजातन्त्रका लागि । गणतन्त्रको त यहाँ कुरा नै नगरौँ । नेपालको गणतान्त्रिक व्यवस्था त पिलो नै भयो सबै राजनीतिक दलका लागि ।

बीपी कोइरालाले त्यसबेला भनेको समाजवाद आज कहाँ छ कुन्नि ? पुनः परिभाषित भएको हो कि ? शब्द परिमार्जन भएको पनि हुनसक्छ । तर, बीपीको फोटो र बोलीमा मात्रै अलमलिएको अहिलेको कांग्रेस नेतृत्व पंक्तिका कारण भोलिका दिनमा अस्तित्व नै संकटमा पर्ने त होइन ? हालको नेतृत्वको पार्टीप्रतिको जवाफदेहिता र सिद्धान्तप्रतिको निष्ठा र इमानदारी कहाँ छ ?

दलको भर्‍याङ सत्ता :
मह खान गएको माखा त्यहीँ डुबेर मर्दछ भनेझैँ नेपालमा राजनीति गरिरहेका दलहरू सबै सत्तामा गएपछि त्यही माखा बनिरहेका छन् । लाग्छ राजनीति गर्ने गफ लाउनेले नै रहेछ । फगत राजनीति गफमात्र हुँदोरहेछ यहाँ...। सरकार बनाउन जनताले एउटा पार्टीलाई केही संख्या बढी मत दिँदा परिणाम फरक आइदिन्छ । सबै मानव शरीरका अंग मिलाएर सरकार निर्माण गर्नुपरेको छ । त्यो पनि मानव अंगमा मुसाको अंग प्रत्यारोपण गरेर । अति नै जटिल शल्यक्रियाबाट भएको प्रचण्ड सरकारको उपचार दीर्घकालीन रूपमा भएको छैन । क्षणभरमै यो सरकार भ्यान्टिलेटरमा बस्नेछ । संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल जोसुकैको पनि अवस्था त्यही हुनेछ यो कार्यकालभरि ।

सबै मानव शरीरका अंग मिलाएर सरकार निर्माण गर्नुपरेको छ । त्यो पनि मानव अंगमा मुसाको अंग प्रत्यारोपण गरेर । अति नै जटिल शल्यक्रियाबाट भएको प्रचण्ड सरकारको उपचार दीर्घकालीन रूपमा भएको छैन । क्षणभरमै यो सरकार भ्यान्टिलेटरमा बस्नेछ

हालैको प्रचण्डको सरकार त्यस्तै अंग प्रत्यारोपणबाट निर्माण भएको छ । उदेक त के लाग्छ भने प्रचण्डको सरकार देखेर कतै हामीले सगरमाथामा कागती रोपिरहेका छैनौँ । कि जनकपुरमा स्याउ फल्न सुरु भएको हो । यहाँ भन्न खोजिएको फरकधार, विचार मन्थन हुँदा अवश्य परिणाम आउँछ र आउनुपर्दछ । परिणाम निकाल्ने नाममा नेपाली जनतालाई कति दिन, कति वर्ष दुःख दिइरहने ? यही संघीय संसद्मा बसेर त्यही संसद्को तलबभत्ता खाएर संघीयताको विरोध गर्ने सँगसँगै गठजोर गर्नुपरेको छ । संवैधानिक वा कानुनी रूपमा बिदा भएको राजतन्त्रको पुनः वकालत गर्दै हिँड्ने पार्टी गणतन्त्रको जन्मदातासँग काखमा बसेको छ । यसको परिणाम कस्तो आउला ? हेर्ने दिनहरू बाँकी नै छन् ।

रहरले होइन बाध्यताले राजनीति गर्नेहरू पनि छन् यहाँ । कहीँ नबिक्ने र कहीँ नचिनिएका सेवाभावविहीन पनि राजनीति भनेपछि मरिहत्ते गर्ने गरेका छन् । पार्टीका नाममा नेतालाई चन्दा दिए पद प्रतिष्ठा हात पारेका छन् यहाँ । किनकि उसको जिन्दगी आर्थिकरूपले गर्दा पार्टीले प्रचार गरिदिन्छ । स्वाभाविक रूपमा ऊ पार्टीमा हावी हुन पाउँछ । जिम्मेवार बन्छ र ऊ नेता बन्दछ । पार्टीमा त्याग र तपस्या भएका हरहमेसा उसै पाखा लाग्ने नै भए । हरायो त्याग हरायो तपस्या । कहाँ छ राजनीतिक नेतामा जनसेवा ? खै कुन्नी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?