शपथ लिँदै नवनियुक्त मुख्यमन्त्री शाह, कांग्रेसबाट र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री बन्दै

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शाहको सचियवालयका प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री शाहले आज सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । कांग्रेसबाट एक र नेकपा (एकीकृत समाजवादी) बाट एक गरेर दुईजना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको मुख्यमन्त्री शाहले बताउनुभयो । तर ककस्लाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको छ भने टुङ्गो लाग्न बाँकी छ ।

मुख्यमन्त्री शाहले एक महिनाभित्र आफूले विश्वासको मत प्रदेशसभाबाट प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले एक महिनाभित्र विश्वासको मत लिन्छु । यो दल त्यो दलभन्दा पनि हामी सबैलाई मिलाएर अगाडि बढ्छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?