बैंक र सरकारविरुद्ध नौ महासंघ संयुक्त आन्दोलनमा

Read Time = 6 mins

काठमाडौं । उद्योगी व्यवसायीहरूका नौवटा महासंघ र ३८ संघहरूले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी फागुन ५ गते संयुुक्त सडक आन्दोलन घोषणा गरेका हुन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको बताउनुभयो । उद्योगी व्यवसायीमा रहेको सिण्डिकेट अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन घोषणा गरिएको उहाँको भनाइ छ ।

पछिल्लो समय कोरोनालगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीका कुनै पनि माग सम्बोधन नगरेको उहाँको आरोप छ । संयोजक कटुवालले मुलुकभरमा रहेका सबै उद्योगी, व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीलाई आन्दोलनमा सहभागी हुन आहृवानसमेत गर्नुभएको छ । फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीको माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम गर्दै जाने संघर्ष समितिको चेतावनी छ । ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीले बैंकिङ कारोबार बन्द गराउने र त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाबी सरकारलाई बुझाउने समितिले जनाएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले भूकम्प, कोरोनालगायतका कारण देशको अर्थतन्त्र धरासायी बनेको र त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेको बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैंकहरू फाइदामा लगानीकर्ता घाटामा भएको भन्दै कोरोनादेखि नै यातायात व्यवसाय अस्तव्यस्त भएको बताउनुभयो । सुरुवातमा बंैक तथा वित्तीय संस्थाबाट सहमतिमा लिएको ऋण ऋणीलाई पनि नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पु¥याएको उहाँको गुनासो छ ।

उद्योगी व्यवसायीमा रहेको सिण्डिकेट अन्त्य र बैंकको ज्यादतीविरुद्ध आन्दोलन घोषणा गरिएको महासंघले जनाएका छन् ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले मझौला र साना व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेका बेलामा बैंक तथा वित्तीय संस्थाले एकतर्फीरूपमा ब्याजदर बढाएको बताउनुभयो । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई राजस्व बुझाउने श्रेत्र साना व्यवसायी भए पनि कोरोनाबाट तंग्रिन नपाउँदै सरकारको अदूरदर्शी नीतिका कारण व्यवसायी मारमा परेको बताउनुभयो ।

व्यवसायीले आठ प्रतिशतमा लिएको ऋण बैंक तथा वित्तीय संस्थाले दोब्बर बनाउँदा पनि सरकार मौन बसेको उहाँको आरोप छ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले युवा पुस्तालाई देशमा गरिखाने वातावरण नभएको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण सम्पूर्ण व्यवसायीहरू प्रेम आचार्य हुने अवस्था आएको गुनासो गर्नुभयो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले कोरोनाको मारमा परेका व्यवसायीको संरक्षण गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले चर्कोरूपमा ब्याजदर बढाएरर लिलामीको सूचना जारी गर्दा पनि सरकार मौन बसेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थाबाट हामीलाई अत्याउने, धम्क्याउने काम भएको छ । पत्रिकामा फोटो निकालिदिऊँ भनेर धम्की आउने गरेको छ । दुई लाख लोन लिएका व्यवसायीले १० लाखको जग्गा–जमिन छोड्ने अवस्था आएको छ । सुकुम्बासी समस्या समाधानका लागि सरकारले करोडौं खर्च गरिरहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले आज व्यवसायीलाई सुकुम्बासी बनाउँदै छन् । यो कहाँको न्याय हो ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?