काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक तथा वित्तीय संस्था डुब्ने सम्भावना नरहेको दाबी गर्नुभएको छ । नेपाल बैंकर्स संघले सोमबार आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा उहाँले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गर्नुभएको हो । गभर्नर अधिकारीले भन्नुभयो, ‘सर्वसाधारणको बचत रकम कुनै पनि हालतमा डुब्दैन, राष्ट्र बैंकले नियमन गरेका संस्थाहरू सजिलै डुब्दैनन् । हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ । हामीले लिएका नीति राम्रा छन् ।
बैंकहरूको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन, किनभने हाम्रो कर्जाको प्रोभिजनिङ निकै राम्रो छ । बैंक डुब्ने अवस्थामा पुगे पनि बचतकर्तालाई सुरक्षित गर्ने मेकानिजम पनि छ । राष्ट्र बैंकले नियमन र अनुगमन गरेका बैंक वित्तीय संस्थाको बचत कुनै पनि हालतमा डुब्ने अवस्था आउने दिने छैनौँ ।’
‘सर्वसाधारणको बचत रकम कुनै पनि हालतमा डुब्दैन, राष्ट्र बैंकले नियमन गरेका संस्थाहरू सजिलै डुब्दैनन् । हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ ।’
तथापि उहाँले अहिले बैंकहरूले नाफा खोज्ने नभई आफू कसरी सुरक्षितरूपमा चलिरहने भनेर सोच्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भइरहेका नकारात्मक प्रचारबाजीले केही समस्या सिर्जना गरेको भन्दै लाभांश कम दिएर भए पनि संस्था जोगाउनेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्था भनेको संवेदनशील क्षेत्र हो ।
तर, हाम्रो समाज र अहिलेकाले बैंकिङ क्षेत्र नै नबुझी गाली गर्ने चलन छ । तर एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्न सक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुन आवश्यक छ ।’ कोरोना महामारीयता ठूलो रकम कर्जा प्रवाह भएको र सोही कर्जा नउठ्दा बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेकोमा पछिल्लो समय सुधार हुँदै गएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोभिड महामारीका कारण नेपालमात्र होइन विश्वभर नै आर्थिक वृद्धिदर घट्ने र मुद्रास्फीति बढेको देखिएकोमा अहिले विस्तारै सुधार हुँदै गएको छ । विगतमा बैंकहरूले धेरै सोचविचारबिनै ठूलो रकम कर्जा प्रवाह गरेको र ऋणीहरूले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषणबिनै ऋण लिएकाले अहिले समस्या आएको हो । आफ्नो क्षमताअनुसारको ऋण लिएको भए अहिले समस्या हुँदैनथ्यो । सहकारी क्षेत्र समस्यामा पर्दा त्यसको असर बैंकिङ क्षेत्रमा समेत परेको छ । त्यस्तै निर्माण क्षेत्रमा देखिएको समस्याका कारण पनि त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको हो ।’
निजी क्षेत्र र सरकारी क्षेत्रबाट हुने विकास निर्माण कमजोर रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले निर्माण उद्योग समस्यामा पर्दा सिमेन्ट, छडलगायत क्षेत्र समस्यामा परेको र त्यसको बहुआयामिक असर देखिएको बताउनुभयो ।
पछिल्लो समय राजनीतिक पार्टीका नेतृत्वदेखि बैंक बुझ्ने धेरैले बैंक अराजक, सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्दै उहाँले नेपालका कुनै पनि बैंकहरू अराजक, सामन्ती र मिटरब्याजी नभएको जिकिरसमेत गर्नुभयो । अधिकारीले ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसकेकोे अवस्थामा बैंकहरूलाई साहु महाजन भन्न नमिल्ने गभर्नरको भनाइ थियो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित गरी नकारात्मक प्रचारबाजी हुँदा पनि सरकारतर्फबाट पर्याप्त सहयोग नभएको गुनासो गर्नुभयो । तथापि पछिल्लो समय बैंकिङ क्षेत्र सबल बन्दै गएको उहाँको भनाइ थियो ।
ब्याजदर घट्दोक्रममा रहेको र स्थिरतातर्फ गइरहेको, मुद्रास्फीति घट्दोक्रममा रहेकोे, बाहृयक्षेत्र सन्तुलनमा रहेको, रेमिट्यान्स बढेकोलगायत कारण अर्थतन्त्र सहज हुँदै गएको भए पनि समग्र आर्थिक अवस्था संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाको नाफा भने खुम्चिएको उहाँले बताउनुभयो । बैंकर संघका अध्यक्ष केसीले भन्नुभयो, ‘बैंकहरूको रिटर्न अन इक्युटी घटिरहेको छ । अहिले यो करिब नौ प्रतिशतमात्रै छ । यो पटकको कर्जा प्रवाह गत वर्षभन्दा केही बढे पनि लक्ष्यअनुसारको वृद्धि देखिन सकेको छैन, यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाबारे सडकबाट अनर्गल प्रचार भएकाले बैंकिङ क्षेत्रले सबैको साथ खोजेको छ ।’ उहाँले आर्थिक शिथिलताको असर निर्माण क्षेत्र र साना तथा मझौला उद्योगहरूमा गम्भीररूपमा देखिएको भन्दै केही क्षेत्रमा प्रवाह भएको कर्जा उठ्न नसकेको र थप कर्जा प्रवाह गर्न सक्ने अवस्था पनि नरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच