खोटाङमा विद्युतीय संरचनामा क्षति गर्नेलाई ३४ हजार जरिवाना

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । नेपाल विद्युुत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले विधुतीय संरचनामा क्षति गर्नेलाई जरिवाना गरेको छ । ११ केभी प्रसारण लाइनको विद्युुतीय संरचनामा क्षति गराउने हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाका पूर्ण सिं राईलाई ३४ हजार ९८० रुपैयाँ जरिवाना गरेको हो ।

राईले गत मंगलबार हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा दाम्लीमा सल्लाको रूख ढालेर विद्युत्को पाँचवटा पोल, तार, डिस्क, पिन, स्टे र च्यानलमा क्षति पु¥याएपछि क्षतिको मूल्यांकन गरेर जरिवाना गरिएको खोटाङका प्राधिकरण प्रमुख विजयराज रेग्मीले बताउनुभयो । मंगलबार विद्युुतीय संरचनामा क्षति पु¥याएका राईले बुधबार प्राधिकरणमा आएर जरिवाना बापतको रकम जम्मा गरेपछि बिहीबार विद्युतीय संरचना मर्मत तथा सामानहरू फेरेर दुई दिनपछि त्यस क्षेत्रमा विद्युुत् सुचारु गरिएको थियो । राईले विद्यालय निर्माणका लागि रूख ढालिएको बुझिएको छ । उनले ढालेको रूखले विद्युुतीय संरचनामा क्षति गर्दा जिल्लाभर नै झण्डै एक घण्टा विद्युत् अवरुद्ध भएको थियो ।

यस्तै, दिक्तेलको अस्पताल चोकमा मादक पदार्थ सेवन गरी गाडी चलाएर बिजुलीको एकवटा पोल भाँच्ने चालक र गाडीलाई ५५ हजार जरिवाना तोकिएको छ । क्षतिको मूल्यांकन गरेर जरिवाना तोकिएको हो । मादक पदार्थ सेवन गरी गाडी चलाएर बिजुलीको पोल भाँचेर चालक फरार भएका थिए । गाडीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । गाडीधनीबाट विद्युत्लाई जरिवाना बापतको रकम तिराउने सर्तमा गाडी सम्बन्धित धनीले बुझेका छन् ।

रोकिएन विद्युतीय संरचनामा क्षति गर्ने काम
विद्युतीय संरचानमा क्षति गर्नेलाई प्राधिकरणले जरिवाना गरे पनि क्षति गर्ने काम भने रोकिएको छैन । शुक्रबार मात्रै अपरान्ह साढे ४ बजे हुर्लुङ अगाडीको जंगलमा पहिचान नभएका ब्यक्तिले रुख ढाल्दा ११ केभी प्रसारण लाइनको चार/पाँचवटा पोल, तार, डिस्क, पिन, स्टे र च्यानलमा क्षति पुगेको छ । क्षतिका कारण हलेसी फिडर अन्तर्गतको हुर्लुङ, पाथेका, खार्मी, जालपा, रावाबेशी गाउँपालिकाको हौचुर तथा केपिलासगढी गाउँपालिका र ऐँसेलुखर्क गाउँपालिकामा पूर्णरूपमा विद्युुत् अवरुद्ध भएको थियो । विद्युत् सेवा बन्द हुँदा करिब चार हजार ५०० घरधुरी अँध्यारोमा बस्न बाध्य बनेका थिए ।

विद्युुतीय प्रसारण लाइन आसपास रूख नढाल्न र ढाल्न परे समन्वय गर्न प्राधिकरणले आग्रह गरेको छ । विद्युुतीय संरचनाहरूमा क्षति पुग्दा ठूलो दुर्घटना हुनसक्ने तथा विद्युतीय उपकरणहरू पड्कने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?