पर्यटकीय केन्द्र बन्दै ‘गाजाको दह’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरू । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरू र बर्खामा गर्मीमा छल्न आउनेहरूको यहाँ भिड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सन्दरताले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका-३ दमेकमा पर्ने जाँगाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ ।
प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको संगमस्थल हो । दुई हजार ४८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जोकोही मोहित हुने गर्छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ । प्रत्येक याममा यहाँको सुन्दरता फरक-फरक देख्न सकिन्छ । गाडीमाभन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमञ्चक बन्छ ।

वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ् । बागलुङ नगरपालिका-८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घना जङ्गलले स्वागत गरि रहेको हुन्छ । अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ । दह वरपरका परम्परागत घरहरू अहिले पनि देख्न सकिन्छ । गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताउनुभयो ।

दहसँगै बराह थान पनि रहेको छ । यहाँ पूजा आजा गर्दा मनोकांक्षा पूरा हुने थापा बताउनुहुन्छ । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटकहरू आउने गरेको उहाँको भनाइ छ । थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचनाहरू बन्न नसकेको भन्दै पर्यटक बढाउन नसकेको बताउनुहुन्छ । ‘अहिले जति पनि पर्यटक आउँछन्, उनीहरू पुरानै प्रचारको कारणले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्वपूर्ण र रमणिय ठाउँ छ, पर्यटक बढाउन सकिएको छैन’ छन्त्यालले भन्नुभयो, ‘प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसारलाई व्यापक बनाउने र यहाँ पूर्वधारहरू निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ ।’

पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उहाँको भनाइ छ । विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधिहरू पनि समय-समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उहाँको भनाइ छ । पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेहरूको संख्या बढेको छन्त्याल बताउनुहुन्छ ।

सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ । जोखिमपूर्ण यात्रा गर्न धेरैले रचाउँदैनन् । गुल्मीको शान्तिपुरबाट घुम्न आउनुभएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो । ठाउँ निकै रमणिय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने बताउनुभयो ।

क्षेत्री भन्नुहुन्छ, ‘फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, मैले पनि भिडियोमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ, तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यहरुले त्यो दुःख र समस्या भुलाई दिँदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो ।’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिका पूर्वाधार निर्माण योजना बनाएर लागेको बताउनुभयो । उहाँले यो ठाउँ एतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताउनुभयो । यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ ।

उपप्रमुख शर्मा भन्नुहुन्छ, ‘यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ, हरेक वर्ष टाढा-टाढाबाट यहाँ भक्तजनहरू पूजाआजा गर्न आउँछन्, यस्तो महत्वपूर्ण क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ, यसको थप विकासका लागि गुयरुयोजना बनाए र पूर्वाधार निर्माण गर्ने चरणमा छौँ ।’

अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्मा बताउनुहुन्छ । यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको शर्माले जानकारी दिनुभयो । यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि निजी कम्पनीहरूसँग सहकार्य गर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?