क्यानले पायो नयाँ नेतृत्व

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को चुनावले नयाँ नेतृत्वको चयन गरेको छ ।

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी हुनुभएको छ ।

अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध हुनुभएको थियो भने एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका हुन् ।

क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँ क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुनुहुन्छ । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गर्नुभयो ।

निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गर्नुभयो । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उहाँको भनाइ छ ।

त्यस्तै क्यानको अध्यक्षमा चन्द पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित हुनुभएको थियो ।

महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित हुनुभयो । सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन हुनुभयो ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी हुनुभयो । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी हुनुभयो ।

त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुनुभयो भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी हुनुभयो । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी हुनुभयो । खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित हुनुभयो ।

त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गर्नुभयो भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी हुनुभयो । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गर्नुभयो र गोलाप्रथा गर्दा महतरा विजयी हुनुभयो ।

पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?