प्रेम, प्रणय दिवस र यसको प्रभाव

Read Time = 17 mins

✍️ प्रीति आत्रेय ज्ञवाली

मायाविनाको जीवन व्यर्थ हुन्छ । मायाविनाको जीवन निरस हुन्छ । त्यसैले जीवनमा मायाको ठूलो महत्व रहेको छ । मायाका विभिन्नप्रकार छन् । अभिभावकप्रतिको माया, दम्पतीको माया, सन्तानप्रतिको माया, दाजुभाइ दिदीबहिनीप्रतिको माया, घरपरिवारको माया, आफ्नो कर्तव्यकार्यक्षेत्रको माया, आफन्तइष्टमित्रको माया, साथीसंगीसितको माया, शुभचिन्तकको माया, राष्ट्रप्रतिको माया आदि । यहाँ जुन मायाको चर्चा गर्न थालिएको छ, त्यो अलि भिन्न तर महत्वपूर्ण छ ।
यहाँ अहिले चर्चा गर्न लागेको कुरा पनि मायाकै बारेमा हो जसलाई विशेषतया शाब्दिक रूपमा प्रेमको नाम दिइएको छ । जुन प्रेमीप्रेमिकालाई लक्षित गरिएको पाइन्छ । यो प्रेम शब्दले प्रणय दिवस/प्रेम दिवससित अझ विशेष सम्बन्ध राखेको पाइन्छ । पहिले पहिले पश्चिमा इसाई मुलुकमा पादरी भ्यालेण्टाइनको सम्झनामा मनाइने गरेको यो पर्व अहिले विश्वव्यापीरूपमा सर्वत्र मनाइने चलन चलिआएको छ । विशेषतः प्रेमी प्रेमिकाले प्रेम व्यक्त गर्ने दिवसका रूपमा हरेक वर्षको अंग्रेजी ग्रेगोरियन क्यालेन्डर अनुसार फेब्रुवरी १४ तारिखका दिन यो भ्यालेण्टाइन डे पर्वको रूपमा मनाइन थालिएको हो ।

आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, स्वीकृत भए प्रेमलाई अघि बढाउने भत्रे मान्यताले यो दिनलाई प्रणय दिवस अर्थात् प्रेम दिवसका रूपमा मनाउन थालिएको हो । पहिले पहिले एक दिनमात्र मनाइने गरेको यो पर्व विगत केही वर्षदेखि रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र भ्यालेण्टाइन डे भनेर हरेक दिनको नाम दिँदै प्रेम सप्ताहको रूपमा मनाउने चलन चलिआएको छ ।

यस भ्यालेन्टाइन डेको प्रभाव अन्तर्राष्ट्रिय रूपमा पर्दै गर्दा नेपालमा पनि भित्रिएको धेरै वर्ष भइसक्यो । धेरैजसो युवायुवतीहरू कहिले प्रेम दिवस आउला र आफ्नो प्रेमको प्रस्ताव आफ्नो प्रेमीलाई राखूँला भन्दै यो दिनलाई कुरीराखेका हुन्छन् । विशेषतया युवायुवतीप्रति लक्षित यो दिवसको प्रयोग किशोर वयस्ककाले पनि सिको गरी आकृष्ट भएको पाइन्छ । प्रेम शब्दलाई राम्ररी नबुझेका कतिपय किशोर किशोरीहरूले वर्तमान समयमा आधुनिक हुने बहानामा यो पर्व मनाउन लालायित भएको पाइन्छ । कतिपयले त देखासिकी र इष्र्याकै कारणले पनि यत्तिकै बाध्य हुँदै जोडी खोज्ने र बनाउने गरेको कुरा पनि कताकति देख्न र सुन्न पाइन्छन् ।

नेपालमा पनि भ्यालेन्टाइन डेलाई प्रणय दिवस वा प्रेम दिवस भनेर मनाइने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले, विवाहित दम्पतीले, आआफ्नो जोडीलाई आफ्नो कला, सीप, ज्ञान, भाषा, शिक्षा एवं संस्कार अनुसारको आकस्मिक उपहार दिने गरेका छन् ।

यी त भए किशोर र युवाका कुरा । विवाहित नवदम्पती, छोराछोरी भएका भइसकेका दम्पती, नातिनातिना भइसकेका दम्पतीले पनि प्रणय दिवसका दिन प्रेमको प्रतीक गुलाफको फूल लिएर आ-आफ्ना जोडीलाई गुलाफको फूल (कसैले उपहारसहित) दिएको फोटो सामाजिक सञ्जालका फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक भिडियो आदिमा देख्न पाइन्छ । प्रेम विवाह नगरी मागी विवाह गरेकाले पनि आफ्नो बिहापछि परेको प्रेमको प्रदर्शन गर्न पनि प्रणय दिवस मनाउने गरेको पाइन्छ । यो दिन एकअर्कालाई भावना व्यक्त गरे मायामा प्रगाढता रहन्छ भन्ने आयातीत सामाजिक मान्यता पनि रहँदै आएको छ । नेपाल र भारतमा पनि भ्यालेन्टाइन डेलाई प्रणय दिवस वा प्रेम दिवस भनेर मनाइने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले, विवाहित दम्पतीले, आआफ्नो जोडीलाई आफ्नो कला, सीप, ज्ञान, भाषा, शिक्षा एवं संस्कार अनुसारको आकस्मिक उपहार दिने गरेका छन् ।

कसैकसैले आफ्नो जोडीलाई मन पर्ने उपहार दिएर, खानेकुरा दिएर, कतै घुम्न गएर, कुनै नयाँ गन्तव्यमा गएर, कुनै नयाँ काम गरेर यस दिनलाई स्मरणीय बनाउँछन् भने कसैले गीत-गजल-लेख-कविता लेखेर, चित्र कोरेर, गीत गाएर, संगीत बजाएर, नृत्य प्रदर्शन गरेर, विभिन्न साहित्यिक गतिविधिका कामले आआफ्ना साहित्य-सङ्गीत-कला र सीपको प्रदर्शन गर्दै आफ्नो सामथ्र्यअनुसार जसरी हुन्छ उसरी अरू दिन आफूले व्यक्तिन नसकेको मायाप्रीतिलाई प्रणय दिवसको दिन खुला रूपमा सबैका सामु व्यक्तिने गरेका छन् । भारतमा केही दक्षिणी प्रान्तका व्यक्तिहरूले यो पश्चिमा प्रवृत्तिलाई आफ्नो समाजमा हावी हुन नदिने मनसायले फेब्रुवरी १४ मा मनाइने यस प्रणय दिवसलाई आफूलाई जन्मदिने मातापिताको सम्मानमा मातृपितृ सम्मान दिवस मनाउने दिनको रूपमा यो दिवस मनाउन थालेका छन् । यति लेख्दै गर्दा, यस पंक्तिकारले, म आफैँले पनि यस दिवसको प्रभावमा परी विवाहपछि प्रणय दिवसमा कविता, गीत मुक्तक लेखेकी छु ।

दुई वर्षअगाडि मैले पनि प्रणय दिवस र मातृपितृसम्मान दिवसको, दुवै दिवसको रूपमा आफ्ना कीर्तिशेष पितालाई समर्पण गर्दै युट्युबमार्फत ‘तिमी मेरो पूजा २०७७’ प्रणय दिवस विशेष गीत प्रदर्शन गरेर आफ्ना श्रीमान्लाई आकस्मिक उपहार दिएकी थिएँ । आफ्नो सभ्यता र संस्कृतिलाई दखल नपुग्ने गरी अन्तर्राष्ट्रिय दिवसका रूपमा मानिँदै आएको प्रेम दिवसलाई नेपालीपनमा पनि विवाहित दम्पतीले आफ्नो ढाँचामा दाम्पत्य जीवनमा मायाप्रीति व्यक्त गर्न सकिन्छ भन्ने हिसाबले बनेको त्यो भिडियोकोे छायांकन आदि सबै कार्य नेपालमै गरिएको हो ।

हुन त, माया प्रेम व्यक्त गर्न कुनै दिवसको जरुरी छैन । आफ्नो प्रेमी जोडीलाई जहिले जतिबेला पनि माया गर्छु भनेर भन्न सकिन्छ तर विशेष दिवसमा भनेको/गरिएको/व्यक्तिएको मायाप्रेमले मनमा विशेष छाप छोड्छ, रमाइलो स्मरण रहन्छ भन्ने हिसाबले नै यो दिवसलाई यसरी मनाउन थालिएको हुनुपर्छ भन्ने मलाई लाग्छ । यो आयातीत दिवसमा हामी आफैँ प्रभावित परेको कुरा, यी र यस्तै भएका र हुँदै गरेका गतिविधिहरूले स्वतः दर्शाएका छन् । नेपाली गीत-संगीत-चलचित्रका साथै साहित्यिक गतिविधिमा सामाजिक सञ्जालमा यसबारे देखिने चित्र/दृश्यसहितका विविध सामग्री र कुराले पनि यो कुरालाई प्रष्ट्याएकै छ ।

कसैलाई मन पर्नु, कसैबाट मन पराइनु, प्रेम गर्ने भावना मनमा आउनु, कसैप्रति आकृष्ट हुनु, आफैँमा नराम्रो कुरा होइन । हाम्रा पौराणिक, धार्मिक, आध्यात्मिक, ऐतिहासिक हुँदै अहिलेको वर्तमान समयसम्म आइपुग्दा, प्रेम र प्रेमसम्बन्धी विभिन्न कथा छन् । राधा-कृष्ण, दुष्यन्त-शकुन्तला, मुना-मदन, मुकुन्द-इन्दिरा, रोमियो-जुलियट, लैला-मजनु आदि विभिन्न प्रेमका गाथा पढिँदै आइएका छन् र अझैँ चिरकालसम्म पढिने छन् ।

प्रेमको पनि एउटा मर्यादा र सीमा हुन्छ, उमेर हुन्छ । पहिला पहिला पढ्ने र प्रेम/विवाह गर्ने उमेर छुट्ट्याइएको हुन्थ्यो २५ वर्षसम्म पढाइलेखाइ गरी ज्ञानप्राप्त गरी योग्य बन्ने त्यसपछि बल्ल प्रेम/विवाह गर्ने भनेर २५ वर्ष पछिको उमेर विशेष रूपले घरगृहस्थीका लागि सजिलो होस् भनेर मानक उमेर तोकिएको थियो । अहिले त्यस्तो अवस्था छैन । पहिले पहिलेका व्यक्ति जे कुरा पनि शास्त्रोचित ढंगले, मर्यादाक्रमले, नीति-नियम-सिद्धान्त अनुसार नीतिक शिक्षाको पालना गर्दै मान्यजनको सुझाव-सल्लाह लिएर काम गर्ने गर्दथे, त्यसैले खासै त्यस्तो नराम्रो सुनिँदैनथ्यो । चिरकालसम्म प्रेममय सुखी गृहस्थी जीवन बिताउँथे । हिजोआज समय आधुनिक बन्दै गएको छ । व्यक्ति पढाइ र रोजगारीको सिलसिलामा विदेशतिर जाँदा त्यतै रहँदा बस्दा त्यतैको संगत र सिकोमा हावी भएर सहजताका निमित्त आफ्नो पूर्वीय सभ्यताभन्दा बढी पश्चिमी सभ्यता, खानपान, रहनसहनमा केही प्रभावित हुँदै गएको पाइन्छ । केही कुरा त समय परिस्थितिले गर्दा प्रभावित हुनु स्वाभाविकै हो तर पूर्ण रूपले आफ्नो संस्कार र सभ्यतालाई बिर्सने कर्म भने गर्नुहुँदैन ।

सर्वप्रथम त प्रेम भनेको के हो, कसरी हुन्छ, प्रेमविपरीत लिंगीप्रतिको आकर्षणले हुने हो कि भावनात्मक रूपले हुने हो, मैले प्रेम गर्दा के-के कुराको ख्याल गर्नुपर्छ ? मैले लहैलहैमा/जिस्केर, प्रेम प्रस्ताव राख्ने/प्रेम गर्ने गर्नु हुँदैन, भविष्यको सोच्नुपर्छ पहिले पढाइ र समयको महत्व बुझ्नुपर्छ । यदि प्रेम सत्य र अटल छ भने प्रेमले पर्खिनसक्छ । प्रेमले दुई परिवारको सम्बन्ध कसतो हुन्छ ! दुई घरको संस्कार मिल्छ कि मिल्दैन ! आफूले प्रेम गरिने व्यक्तिले आफ्नो रीति-स्थिति अनुसार चल्न सक्ने/नसक्ने आदि इत्यादि कुराको पनि हामीले अहिलेका किशोर एवं युवावस्थाका सन्ततिलाई ज्ञान र चेतना दिन सके तिनले पश्चिमी सभ्यता नबुझी आफ्नो सभ्यता र संस्कार बिर्सिँदै पश्चिमाको नक्कल नगर्नसक्छन् । मर्यादित हुँदै आफ्नो र परिवारको हित सोचेर काम गर्न सक्छन् । प्रवासमा भए पनि पछि स्वदेश फर्कनुपर्छ, आफ्नै रहनसहनमा भिज्न सक्नुपर्छ भन्ने कुराहरू बेलैमा सिकाउन सके हाम्रा सन्ततिले सुझबुझकासाथ, परिपक्व भएर आफूलाई त्यसै अनुरूप ढाल्न सक्लान् कि भनेर हामी अभिभावकरूले सोच्नुपर्ने बेला आएको हो कि जस्तो मलाई लागेको छ ।

नेपालमा पनि प्रणय दिवस फागुन महिनामा पर्ने गरेको र विवाहको साइत जुर्ने हुँदा, लगन जुरेको खण्डमा यसै दिन विवाहा गर्ने गर्दछन् । कसैकसैको प्रेमसम्बन्धले यसै दिन विवाहको मूर्त रूप लिएको पनि पाइन्छ । यसपालि पनि प्रणय दिवसको दिन विवाहको मुहूर्त रहेको छ ।

अहिले जनमानसमा धेरैजसो प्रेम स्वार्थमा, आर्थिक प्रलोभनमा, भावनागत रूपमा नभई नाफा/नोक्सानका रूपमा गरिएका पाइन्छन्, जसको परिणामस्वरूप प्रेम सम्बन्ध असफल, धोका, र धरापमा परेका उदाहरण देख्न र सुन्न पाइन्छन् । तसर्थ सर्वप्रथम प्रेम के हो र कस्तो प्रेम सार्थक हुन्छ भन्ने कुरा राम्ररी बुझी आफ्नो प्रेमिल जोडीको भावनालाई राम्ररी बुझेर र मनन् गरेरमात्र प्रेममा पर्नु राम्रो हुन्छ अन्यथा प्रेम नगरी मित्रवत् भावमै सीमित रहनु राम्रो हुन्छ । हतारमा-आवेश-देखासिकीमा गरिएको प्रेमले र स्थापित सम्बन्धले दुष्परिणाम निम्त्याउनसक्छ भनेर बेलैमा सचेत रहनु राम्रो हुन्छ ।

प्रेमलाई राम्ररी चिनौं र प्रेमको महत्व बुझौं । आफ्नो प्रेमको यथायोग्य सम्मान गरौं । एकार्काले एकार्काको प्रेम गर्न सिकौं । धेरैजसो जोडीरूको दिगो प्रेम रहोस् भन्ने मनसायले प्रणय दिवसकै दिन विवाह पनि हुन्छ । नेपालमा प्रणय दिवस फागुन महिनामा पर्ने गरेको र विवाहको साइत जुर्ने हुँदा, लगन जुरेको खण्डमा यसै दिन विवाहा गर्ने गर्दछन् । कसैकसैको प्रेमसम्बन्धले यसै दिन विवाहको मूर्त रूप लिएको पाइन्छ । यसपालि पनि प्रणय दिवसको दिन विवाहको मुहूर्त रहेको छ । यस दिन दाम्पत्य जीवनमा प्रवेश गर्दै गरेका जोडीलाई पनि सुखद् प्रेमिल दाम्पत्य जीवनको शुभकामना । सबै जोडी दम्पतीहरूको जीवन प्रेममय भई सुमधुर बनोस् । सबैको जीवन प्रेममय बनोस् । यति भन्दै यो पंक्तिकारले पनि मुक्तककासाथ अहिलेलाई यति नै भनेर लेखनीलाई यहीँ बिसाउने अनुमति चाहन्छु ।
मायामा लिनमात्र होइन है, दिन पनि जान्नुपर्छ
सुख-दुःख पीडा-हाँसोहरूमा, सहयात्री ठान्नुपर्छ
अनुकूल पर्दा मात्र साथ दिएर, हुँदैन है माया,
गाह्रो-साँघुरो परे, एकार्काले मिली घर धान्नुपर्छ ।

हाल कम्बोडिया ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?