नेपोली र युभेन्ट्सको जित

Read Time = 4 mins

टुरिन । इटालियन सिरी ‘ए’ मा नेपोली र युभेन्ट्सले जित हात पारेका छन् । नेपोलीले क्रेमोनेसलाई ३-० ले पराजित गरेको हो भने युभेन्ट्सले फियोरेन्टिनामाथि १-० को जित हात पारेको छ ।

नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले गोल गर्नुभयो । खेलको २२औँ मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले अग्रता लिएको थियो । ६५औँ मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पार्नुभयो । ७९औँ मिनेटमा इल्जिफ इल्मासले तेस्रो गोल गर्नुभएको थियो ।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा रहँदै १६ अंकको फराकिलो अग्रता कायम गरेको छ । नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ । पराजित क्रेमोनेस आठ अंक जोडेर पुछारमा छ ।

सिरी ‘ए’ कै अर्को खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १-० को जित हात पार्‍यो । युभेन्ट्सको जितमा पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो ।

१५ अंक नघटाइएको भए युभेन्ट्स अहिले दोस्रो स्थानमा उक्लने थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औँ स्थानमा छ ।
यता, पेड्रीको निर्णायक गोलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि १-० को जित हात पारेको छ । खेलको १८औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा पेड्रीले गोल गर्नुभयो ।

ला लिगामा बार्सिलोनाको यो लगातार छैटौँ जित हो । ३१ डिसेम्बर २०२२ मा स्पान्योलसँग १-१ गोलको बराबरीपछि बार्सिलोनाले ला लिगामा सबै ६ खेलमा जित हात पारेको छ । यस्तै, बार्सिलोना १६ अक्टोबर २०२२ मा रियल म्याड्रिडसँग ३-१ ले पराजित भएयता ला लिगामा १२ खेलसम्म अपराजित छ । जसमा ११ जित र १ हारको नतिजा छ ।

यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ११ अंकले पछि पारेको छ । बार्सिलोनाको २१ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ४५ अंक छ । पराजित भिल्लारियल ३१ अंक जोडेर आठौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?