नेपालमा विदेशी कूटनीतिज्ञको तीव्र चासो

एकपछि अर्को उच्चस्तरीय भ्रमणको शृंखला जारी

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालमा विदेशी कूटनीतिक चासो तीव्र बनेको छ । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छिमेकी मुलुक भारत र चीनबीच बधाई दिन प्रतिस्पर्धा चल्यो । दुई छिमेकीको प्रतिस्पर्धामा मित्रराष्ट्र अमेरिका पनि अग्रस्थानमा देखियो । मंसिर ४ मा सम्पन्न आमनिर्वाचन र पुस १० गते परिवर्तित राजनीतिक सत्ता समीकरणमा आएको परिवर्तनसँगै विदेशी कूटनीतिज्ञको भ्रमण तीव्र भएको छ । नयाँ सरकार गठन भएको दुई महिनामा एकपछि अर्को उच्च कूटनीतिक नेतृत्वले नेपाल भ्रमण गरेका छन् । यसपटक कूटनीतिक भ्रमणमा अमेरिका अग्रस्थानमा देखिएको छ । संयुक्त राज्य अमेरिकाबाट नेपालमा तीन सातामा तीन महत्वपूर्ण भ्रमण भएका छन् ।

फेब्रुअरी १४ अर्थात् मंगलबार अमेरिकाकी डेपुटी असिष्टेन्ट सेक्रेटरी अफ स्टेट अफ्रिन अख्तर नेपाल भ्रमणमा आउनुभएको छ । दुईदिने नेपाल भ्रमणका क्रममा अख्तरले उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको साथै कूटनीति र सार्वजनिक क्षेत्र तथा विकास सहायता परियोजनाको प्रगति मुख्य एजेण्डा रहेको छ ।

यसअघि, माघ अन्तिमतिर अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले नेपालको दुईदिने भ्रमण सम्पन्न गर्नुभएको छ । भ्रमणको क्रममा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएकी पावरले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिँदै सम्बन्ध सुधारको सन्देश दिनुभएको छ । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारी मात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् । यसकारण पावरको भ्रमणलाई उच्च महत्व दिइएको छ । दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी सामन्था पावरले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको स्मरण गर्दै नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो । उहाँले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्नसमेत आग्रह गर्नुभयो । पावरले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेको जानकारी दिनुभयो ।

सामन्थाअघि केही दिन पहिले अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गर्नुभएको थियो । नेपाल भ्रमणको क्रममा नुल्याण्डले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो । अमेरिकाबाट भएको तीनवटै उच्च अधिकारीको भ्रमणको क्रममा नेपालको राजनीतिक नेतृत्वसँग अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमसिसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोग लगायतका विषयमा छलफल भएको थियो । पछिल्ला दिनहरूमा युरोपेली संघको तर्फबाट पनि नेपालमा उच्चस्तरको भ्रमण भएको छ । माघ अन्तिम साता युरोपेली संघका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले नेपाल भ्रमण गर्नुभएको छ ।

नेपाल भ्रमणको क्रममा भएको उच्च राजनीतिक नेतृत्वसँगको भेटवार्तामा अन्तर्राष्ट्रिय साझेदार कमिसनर उर्पिलाइनले द्विपक्षीय हितका विविध विषयमा विचार-विमर्श गर्नुभएको छ । भ्रमणका क्रममा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । यस्तै, नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजले पनि नेपालमा कूटनीतिक भेटवार्तालाई तीव्रता दिनुभएको छ । विदेश कूटनीतिज्ञहरूको एकपछि अर्को भ्रमणका सम्बन्धमा राजनीतिक तथा कूटनीतिक क्षेत्रमा विभिन्न टीका टिप्पणी भइरहेका छन् । तर, परराष्ट्र मन्त्रालयले भने अहिले चलिरहेका भ्रमणहरू नियमित प्रकृतिका भएको जिकिर गरेको छ ।

विदेशसचिव क्वात्राको दुईदिने म्याराथन भेटवार्ता
नेपालमा राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल भ्रमणमा आउनुभएको भारतीय विदेशसचिव विनयमोहन क्वात्राले शीर्ष राजनीतिक नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता गर्नुभएको छ । दुईदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आउनुभएका क्वात्रा काठमाडौं उत्रिएलगत्तै नेपाल–भारत विदेशसचिव स्तरीय बैठकमा सहभागी हुनुभयो । भारतीय विदेशसचिवले नेपाल भ्रमणको क्रममा गरेका भेटवार्ताका विषयवस्तु विस्तृत रूपमा सार्वजनिक भएका छैनन् । काठमाडौं उत्रिएकै दिन विदेशसचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । विदेशसचिव क्वात्राले सोमबार नै पशुपतिनाथको दर्शन पनि गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार शीर्ष राजनीतिक नेतृत्वसँगको भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ । राष्ट्रपतिसँगको भेटवार्तामा नेपाल-भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्धका विषयमा छलफल भएको र उक्त अवसरमा राष्ट्रपति भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा विदेशसचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका लागि प्रधानमन्त्री मोदीको निमन्त्रणा स्मरण गराउनुभएको थियो । भ्रमणको दोस्रो दिन क्वात्राले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र राजेन्द्र लिङ्देनसँग पनि भेटवार्ता गर्नुभएको छ । यस्तै, विदेशसचिव क्वात्राले तमलोपाका अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके लाउत लगायतका नेताहरूसँग पनि भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्रा सोमबार अपरान्ह स्वदेश फर्किनुभएको छ ।

यो अवधिमा उत्तरी छिमेकीबाट उच्चस्तरको राजनीतिक भ्रमण भएको छैन । तर, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले कूटनीतिक भेटवार्तालाई तीव्रता दिइरहनु भएको छ । पुस २४ गते नेपाल आइपुग्नु भएका राजदूत चेनले यसबीचमा राजनीतिक शीर्ष नेतृत्वसँग पटक–पटक भेटवार्ता गरिसक्नु भएको छ । पछिल्ला पाँच वर्षमा चीनबाट उच्चस्तरको राजनीतिक तथा कूटनीतिक भ्रमणको शृंखला तीव्र बने पनि नेपालको पछिल्लो राजनीतिक समीकरणमा भने चीनको देखिने गरी उच्चस्तरको भ्रमण भएको छैन । तर, नेपालका लागि चिनियाँ राजदूत चेनले भने अघिल्लो राजदूत होउ यान्छीको जस्तै शीर्ष राजनीतिक नेतृत्वसँगको भेटघाटलाई तीव्र बनाइरहनु भएको छ । यसअघि माघ २१ गते मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले नेपालको भ्रमण गर्नुभएको थियो । नेपाल भ्रमणको क्रममा गृहमन्त्री इस्मालीले पनि शीर्ष राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?