राष्ट्रियसभा बैठक : अराजकता नियन्त्रण गर्न राष्ट्रियसभाका सांसदहरूको माग

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् । सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको विषयमा उहाँले सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद लुतप्रसाद विश्वकर्माले नारायणगढ बुटवल सडकखण्ड निर्माणमा तीव्रता दिन आग्रह गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले शहीद दशरथ चन्दको नाममा मेडिकल कलेज स्थापना हुन लागेकोमा खुसी व्यक्त गर्दै लघुवित्त र मिटरब्याजीको हैसियत उस्तैउस्तै देखिएको बताउनुभयो ।

सांसद नारायण दाहालले लघुवित्त र अन्य बैंक तथा वित्तीय संस्थाको ब्याजलाई देखाएर राज्य व्यवस्थामा पथ नै आक्रमण भएको विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो । नयाँ बसपार्कमा सोमबार भएको घटनाका बारेमा सत्यतथ्यको जानकारी गराउन उहाँले माग गर्नुभयो । भुवनबहादुर सुनार, लाक्पा सोनाम ग्याल्जेन शेर्पा लगायतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।

भनसुनका आधारमा योजना छनोट हुँदैन : अर्थमन्त्री
संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको हो । सो क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले भनसुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताउनुभयो । उहाँले नेपालमा अब भनसुनका आधारमा योजना छनोट नहुने दाबी गर्नुभयो । मन्त्री पौडेलले योजनाहरू आवश्यकताका हुन् वा होइनन् भन्ने कुराको अध्ययन गरेर मात्रै डिपिआर बनाउने, अरू युटिलिटीका कामहरू सकिसकेपछि आयोजनालाई कार्यान्वयनमा लैजाने विषयको प्राथमिकीकरण गरेर कार्यान्वयनमा जाने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अझै पनि प्रदेश र स्थानीय तहका योजनाहरू संघको सूचीमा रहेको भन्दै संघीयता अनुसारको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री पौडेलले वर्तमान सरकार भनसुनको आधारमा बजेट विनियोजन गर्ने अभ्यासलाई सम्पूर्ण रूपमा समाप्त गर्न औचित्य, आवश्यकता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोटको प्रक्रियालाई अघि बढाउन संकल्पबद्ध रहेको स्पष्ट पार्नुभयो ।

वार्षिक प्रतिवेदन पेस
राष्ट्रियसभा बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्नुभएको हो । त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभासमक्ष पेस गर्नुभयो । सो आदेश गत असोज २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको थियो ।

यस्तै, बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य कर्मा घलेको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरिएको थियो । पूर्वसांसद घलेको हालै निधन भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?