जडिबुटी संरक्षणमा स्थानीय सरकारको ध्यान पुग्न सकेन

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 7 mins

सिन्धुली । स्थानीयस्तरमा भएका बहुमुल्य जडिबुटी मासिदैँ गएका छन् । संरक्षण र प्रर्वद्धनमा स्थानीय सरकारलेसमेत ध्यान दिएको देखिदैन । वनजंगल तथा गाउँघरमा भएका जडिबुटी उचित संंकलन र प्रशोधनको अभावमा सदुपयोगविहिन छन् ।

सिन्धुलीमा जडिबुटी संकलन र प्रशोधनका लागि सिप र प्रविधिको मात्रै अभाव छैन, स्थानीयबासिन्दामा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका-५ सिलामेकी भिमकुमारी थापामगर बताउनुहुन्छ ।

सिन्धुलीमाडीमा ३० वर्षदेखि जडिबुटी बेच्दै आउनु भएको उहाँ भन्नुहुन्छ, “स्थानीयबासिन्दामा चेतनाको कमीका कारण यहाँका बहुमुल्य जडिबुटी गाई, भैँसीलाई घाँस र सेउलाको रुपमा प्रयोग भइरहेका छन् । महाभारत क्षेत्रमा सिस्नो, चिराईतो, ठुलो ओखती, पाखनभवेद, भुर्केस, हर्रो, बर्रो लगायत धेरै प्रकारका जडिबुटी खेर गइरहेका छन् ।”

जिल्लामा भएका जडिबुटीको संकलन र प्रशोधन नहुँदा महंगो मुल्यमा बाहिरीबाट किनेर बिक्री गर्नु परेको उहाँ सुनाउनुहुन्छ । स्थानीय जडिबुटीको महत्व बुझाउन नसक्दा र यस सम्बन्धि स्थानीयबासिन्दामा ज्ञानको अभाव हुँदा जडिबुटी संरक्षणविहिन भएका उहाँको भनाई छ ।

उहाँकाअनुसार महाभारत तथा चुरे जंगलमा प्रशस्त पाइने जडिबुटी विशेषगरी घाँसी तथा गोठालाले जथाभावी संकलन गर्नाले बीउ नै मासिन गई दुर्लभ बन्दै गएको छ । केही विपन्न वर्गका व्यक्तिले जथाभावी जडिबुटी संकलन गरी सदरमुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई/चार सय आम्दानी लिएका छन् । तर व्यवस्थित संकलन नभएकाले समस्या उत्पन्न भएको छ ।

‘स्थानीय सरकार र सम्बन्धित निकायले जडिबुटी संकलन, प्रशोधन र संरक्षणमा ध्यान दिई जडिबुटीको उचित सदुपयोग गर्न सके जिल्लाको आर्यस्तर बढाउनसमेत टेवा पुग्ने थियो,’ उहाँले भन्नुभयो ।

सिन्धुली प्राकृतिक जडिबुटी र वनस्पतिले धनी छ । उत्तरी महाभारत श्रृङ्खला, चुरे, भित्रीमधेश तथा वेंशी र खोंच क्षेत्रहरुमा भौगोलिक तथा वातावरणअनुसार फरक-फरक प्रजातीको जडिबुटीहरु पाईन्छ । तर, यसको अव्यवस्थित संकलन र चोरी तस्करीका कारण पनि कतिपय जडिबुटी लोप हुने अवस्थामा छन् ।

डिभिजन वन कार्यालय सिन्धुलीकाअनुसार जिल्लामा एक सय तीस भन्दाबढी प्रजातीका बहुमल्य जडिवुटिहरु पाईन्छन् । साल, खयर, वर्रो, जामुन, कर्मा, चाप, तेजपात, जस्ता महत्वपूर्ण रुख प्रजाती र चिराइतो, जिवन्ती, पाखनवेत, अमला, हर्रो, टिमुर, सिकाकाई, कुरीलो, लोक्ता तीतेपाती जस्ता जडिबुटीहरु महाभारत श्रृङ्खलाका २५ बढी ठाँउमा पाईन्छ । यसको निकासी तथा प्रशोधन गर्न राज्य र निजी क्षेत्र दुवैले चासो नदिदा बर्सेनी मुल्यवान जडिवुटीहरु खेर जाने गर्दछन् । सबैभन्दा नजिक रहेको स्थानीय सरकारसँग समेत जडिबुटी संरक्षण र व्यवस्थापनसम्बन्धि कुनै योजना तथा कार्यक्रम छैनन् ।

औषधिजन्य जडिबुटी, चिराईतो, सिनकौली, लोठसल्ला जस्ता विभिन्न प्रजातीका जडिबुटी तथा वनस्पतिहरु गोलञ्जोरमा प्रशस्त मात्रामा भएपनि यसको उचित संकलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शंकर राज बरालले स्विकार्नुभयो । आफ्नो पालिका क्षेत्रमा भएका जडिबुटीको संरक्षण, प्रर्वद्धन, संकलन र प्रसोधन गरि मानवीय आवश्यकतालाई परिपुर्ति गर्ने खालका योजना तथा कार्यक्रमहरु आगामी बर्षबाट लागु गरिने उहाँले बताउनुभयो ।

भन्नुभयो, “उच्च पहाडी भु-भाग भएको गोलञ्जोरको महाभारत क्षेत्रमा प्रचुरमात्रामा औषधिजन्य जडिबुटी छन् । आगामी वर्षबाट यिनिहरुको उचित पहिचान, संकलन, प्रसोधन, उत्पादन, विक्रीवितरण र संरक्षणमा हामी काम गर्ने छौँ ।”

जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडिबुटीसम्बन्धि चेतना स्थानीय तहसम्म पुर्‍याउन नसकिएको बताउनुभयो । ज्ञानको अभावमा आफ्नो घर, आँगनमा भएका औषधीजन्य जडिबुटीहरु खेर जाने गरेको उहाँको बुझाई छ ।

‘कतिपय बहुमुल्य जडिबुटीको संरक्षण नहुँदा लोप भइसकेका छन्, स्थानीयस्तरमा पाईने जडिबुटीको बारेमा अनुसन्धान गरी सबैभन्दाअघि यसको संरक्षणमा जुट्नु पर्ने आवश्यकता छ,’ उहाँले सुनाउनुभयो ।

त्यसपछि जडिबुटीको उचित संकलन, प्रशोधन गरेर आर्थिकसँग जोडनु पर्ने उहाँको धारणा छ । जडिबुटीको उचित व्यवस्थापन र संरक्षणका लागि आफूले पाएको अधिकार बमोजिम समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?