सुत्केरीलाई लोकल भाले, घ्यू र अण्डा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको ग्रामीण क्षेत्रमा अहिले घरमै सुत्केरी हुने महिलाको संख्या ठूलो छ । अशिक्षा र गरिबीका कारण उनीहरु सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्दैनन् । जिल्लाका गाउँपालिका तथा नगरपालिकाहरुले ‘शून्य होम डेलिभरी’, गर्भवती महिला तथा बालबालिकाका लागि पोषणका बारेमा चर्को नारा लगाउँदै आए पनि व्यवहारमा लागु गर्न सकेका छैनन् ।

तर, बडिगाड गाउँपालिकाले भने ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरि रहेको छ । यो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा महिला सुत्केरी भयो कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् ।

सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरि गाउँपालिकाले ‘सुत्केरी पोषणा’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाकी उपाध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा र बच्चा स्वस्थ नहुने र शारीरिक समस्याहरु आउने हुँदा चालु आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुवात गरेको अध्यक्ष अधिकारीको भनाई छ ।
गाउँपालिकाले हरेक सुत्केरी महिलालाई एउटा लोकल भाले, एक माना घ्यू र एक क्रेट अण्डा वितरण गर्दै आएको छ । अध्यक्ष अधिकारी भन्नुहुन्छ– “सुत्केरी महिलालाई दिइने भाले, घ्यू र अण्डा आयातित नभई गाउँमै महिलाहरुले उत्पादन गर्नुभएको हो, किनकी स्थानीय उत्पादन राम्रो र गुणस्तरीय हुन्छ, अर्को कुरा महिलाहरुलाई उत्पादन र आर्थिकसँग जोड्नका लागि मद्दत पुग्छ ।”

‘सुत्केरी पोषणा’ गाउँपालिका अन्तरगतका सबै सुत्केरी महिलाले प्राप्त गर्ने छन् । यस वर्ष ३९ जना सुत्केरी महिलालाई पोषण वितरण गरिने छ । १० महिना भित्रका महिलालाई यो सुविधा उपलब्ध गराइने गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत शेरबहादुर बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थपना गरि संचालनमा लाइएको छ ।
बुढाका अनुसार गाउँपालिको सात स्थानमा स्वास्थ्य चौकी, तीन स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा रहेका छन् । १० वडा रहेको बडिगाडमा नौँ वटा वर्थिङ सेन्टर रहेका छन् । पछिल्लो तीन वर्षमा यहाँ ५० प्रतिशतले ‘होम डेलिभरी’ घटेको बुढाको भनाई छ ।

उहाँ भन्नुहुन्छ– “गाउँपालिकाका दुर दराजमा अझै पनि घरमै सुत्केरी हुने चलन छ, हामीहरुले यस विषयमा विभिन्न कार्यक्रमहरु पनि ग¥र्यौँ, पहिलेको तुलनामा आधानै घटेको पाएका छौँ, अहिले वडा स्तरबाटै ‘होम डेलिभरी’ शून्य पार्ने अभियान चलाएका छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?