एमालेको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान शुभारम्भ

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

शुक्रबार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल शुभारम्भ गर्दै अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

उहाँले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षड्यन्त्रबारे नागरिकलाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न राजनीतिक शक्तिहरू एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ उनीहरू अस्वस्थ प्रतिस्पर्धाका विधिहरू अपनाउन सक्छन् । हामीले निकट विगतमा भोगेको समस्या फेरि आउँदा दिनमा भोग्नुनपर्ला भन्न सकिन्न । किनभने राजनीतिक शक्तिहरू तिनै छन् । उनीहरूको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नुपर्दछ ।’

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उहाँको भनाइ थियो ।

ओलीले आउँदो चार वर्षपछि हुने चुनावमा ५० प्रतिशतभन्दा बढी ठाउँमा पार्टीलाई विजयी गराउने गरी पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरू नरहेको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?